‘प्रचण्डको प्रस्ताव खारेजयोग्य’
नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सम्बन्ध झन् तिक्त हुँदै गएको छ। कात्तिक २८ गते सचिवालय बैठकमा दाहालले ओलीविरुद्ध गम्भीर प्रकृतिका आरोप लगाउँदै ‘राजनीतिक प्रस्ताव’ ल्याए। त्यसलाई तल्ला तहसम्म पुर्याए। त्यसलाई फिर्ता लिन दबाब दिँदै आएका ओलीले हिजो शनिबार सचिवालय बैठकमै समानान्तर प्रस्ताव ल्याएका छन्। त्यसमा उनले दाहालमाथि कडा प्रहार गरेका छन्। ओलीको प्रस्तावका मुख्य–मुख्य अंश बुँदागत रूपमा यहाँ दिइएको छ–
- अध्यक्ष प्रचण्ड, तपाईंको ‘प्रस्ताव’ बैठकमा छलफल या परामर्श गर्न रीतसमेत नपुगेको, तपाईंको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै हो। यो प्रथम दृष्टिमै खारेजयोग्य छ।
- कम्युनिस्ट पार्टीहरू आफ्ना राष्ट्रिय या आन्तरिक विषयवस्तुका कारण होइन, अन्य कुनै विदेशी पार्टीभित्रका विवादका पक्षविपक्षमा उभिएर विभाजित भए।
- यो स्वस्थ नीतिगत बहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? तपाईंले आफ्ना एकतर्फी लिखतमार्फत पार्टीभित्रका असहमतिलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदल्नुभएको छ र कम्युनिस्ट आन्दोलनलाई गम्भीर संकटमा धकेल्नुभएको छ। समयले यसको उचित हिसाब गर्ने नै छ।
- तपाईंको झूटो आरोप–पत्र हात–हातमा बोकेर विपक्षीहरू हिँड्न थालेको देखिसक्नुभएको होला। उनीहरू दंग होलान्– नेकपालाई खुइल्याउन हामीले त केही गर्नै नपर्ने भयो !
- तपाईंलाई मेरो चुनौती छ– कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधानअनुसार मलाई कारबाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भंग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस्।
- संविधान निर्माण र यसप्रतिको तपाईंको ‘निष्ठा’ तपाईंले दाबी गरेजस्तो ‘निष्ठा’ होइन, परिवर्तित शक्ति सन्तुलनले निर्माण गरेको बाध्यात्मक परिस्थितिको उपज थियो।
- सहमतिका साथ अगाडि बढ्ने यावत् प्रयास र प्रस्ताव लत्याएर आफैंले प्रस्ताव गरेको, आफ्नै पार्टीसम्मिलित सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न आफ्ना मन्त्री साथीहरूलाई झन्डा हल्लाउँदै जान निर्देशन दिनुभयो। यसो गर्दा तपाईंलाई नैतिकताको प्रश्नले अलिकति पनि छोएन है भनेर मैले कहिल्यै सोधिनँ।
- निर्वाचन परिणाम, नयाँ सरकार गठन र एकीकरणले ल्याएको उत्साहमा चिसो पानी खन्याउने गरी तपाईंले आफ्नो भारत भ्रमणका क्रममा आलोपालो प्रधानमन्त्रीको सहमति भएको ‘खुलासा’ गर्नुभयो।
- एकलव्यजस्तै खालि सरकारमा मात्रै तपाईंको ध्यानदृष्टि र प्रधानमन्त्री र सरकारको स्थायित्वविरुद्ध निरन्तर रागका कारण राजनीतिक स्थिरताविरुद्ध कस्तो सन्देश गइरहेको छ, ख्याल गर्नुभएको छ नि ?
- जमानत नजोगिएको ठाउँमा समेत झन्डै बराबरीको हैसियतमा कमिटी गठन गरिएका छन्। कहाँनिर एकता भावना प्रतिविम्बित भएन ?
- महाधिवेशनबाट विचार, संगठन संरचना र नेतृत्व खुला प्रतिस्पर्धाका आधारमा चयन गर्न तपाईं तयार हो ? म त तयारै छु।
- तपाईं यो ठाउँमा आउनुभएको पनि तत्कालीन नेकपा (माओवादी–केन्द्र) को अध्यक्षकै हैसियतले हो भन्ने नबिर्सनुस्।
- एकीकरणको दुई वर्षपछि आएर, कसैको ‘हामी पनि त महाधिवेशनबाट निर्वाचित थियौं नि, हाम्रो मूल्य खोइ ?’ भन्ने असन्तुष्टिलाई आफ्नो प्रस्तावमा घुसाउँदा यसको के अर्थ लाग्छ ?
- समस्या त त्यहाँबाट सिर्जना भएको हो, जब कार्यकारी अध्यक्ष स्वयंले खुमलटारलाई पार्टीभित्रका निश्चित कमरेडहरू मात्रै बस्ने थलोका रूपमा विकास गर्नुभयो।
- प्रधानमन्त्री बनाउने, तर उसले विश्वास गरेको टिम छनोट गर्न नपाउने, उपयुक्त ठाउँमा नियुक्ति गर्न पनि नपाउने, मन्त्रीहरूलाई उसले होइन अरू कसैले चलाउने, उसका हातखुट्टा चारैतिर बाँधिने, तर परिणाम भने उसैले दिनुपर्ने, जवाफदेही पनि उही हुनुपर्ने ?
- दुईतिहाइ बहुमतप्राप्त प्रधानमन्त्री भनिए पनि मैले संयुक्त सरकारको प्रधानमन्त्रीभन्दा पनि बढी असहजताका बीच काम गर्नु परिरहेको छ।
- कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मा पाउनुभएको अध्यक्ष कमरेडले आफ्नो भागमा परेको काममा प्रगति कति
गर्नुभयो ? मेरा कारणले हुन नसकेको भए, तपाईंले गर्नु भएको ‘गृहकार्य’ मा केकेमा र कहाँ मेरो अवरोध रह्यो ?
- जनताबाट निर्वाचित प्रतिनिधिलाई पार्टी जिम्मेवारीबाट अलग गरेर जनतासँग प्रत्यक्ष सम्बन्ध नहुने संरचनाबाट अहिलेको आन्दोलनको नेतृत्व सम्भव हुने म देख्दिनँ।
- पार्टी एकता भएको साढे दुई वर्षपछि पनि तपाईंले बोकेर हिँडेको यो कस्तो ‘पूर्व’ मान्यता हो ? नेकपा एक पार्टी हो कि संयुक्त मोर्चा ? अब पनि यही ‘पूर्व’ मान्यता बोकेर हामी कहाँ पुग्छौं ? अनि, यो कस्तो दोहोरो मापदण्ड हो, जहाँ तपाईंले रातदिन पूर्वएमालेका नेताहरूसँग बैठक बस्नुहुन्छ र समीकरण बनाउनु हुन्छ, तर त्यो ‘पार्टी एकता’ र ‘सहमति’ का लागि हुने !
- तपाईंले बारम्बार मबाट त्यागको माग गर्नुभएको छ। मैले
स्थायी कमिटीको बैठकमा औपचारिक रूपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचनपश्चात् प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु। योभन्दा बढी मैले के त्याग गर्नुपर्ने हो ?
- कहिलेकाहीं आफैं छक्क पर्छु– कम्युनिस्ट आन्दोलनमा यो कस्तो संक्रामक रोग हो, जसले सामान्य असहमतिलाई पनि जबर्जस्ती कटु, विद्वेषपूर्ण र विग्रहकारी बनाउँछ ? यी यति अराजनीतिक आरोप हुन्, जसलाई यहाँ उल्लेख गर्न पनि मलाई सिकसिक लागिरहेको छ।
- यति धेरै आरोप र अभियोग लगाइसकेपछि तपाईंले आफ्नो कथित प्रस्तावको अन्त्यमा मबाट फेरि ‘गम्भीर आत्मसमीक्षा’ र ‘आत्मालोचना’ को माग गर्नुभएको छ। यी आरोप सत्य हुन् भने, यति ‘गम्भीर अपराध’ गरेपछि पनि, ‘आत्मालोचना’ गरेर उम्किन पाइन्छ ?
- कमरेड, सबै कुरा बजारको जिम्मा छाडिदिने, ठूला पुँजीपतिको संरक्षण गर्दै जनताप्रतिको जिम्मेवारी र सामाजिक उत्तरदायित्वबाट राज्य पन्छिने एवं चरम व्यक्तिवादलाई प्रोत्साहन गर्ने नवउदारवाद र हामीले लिइरहेका यो बाटो कहाँनिर भेट हुन्छ ?
- ‘परम्परागत संसदीय गणतन्त्र’ भनेर के भन्न खोज्नुभएको हो ? म यस्ता धेरै ‘जार्गन’ बुझ्दिनँ।
- वाइडबडी भनिने ‘एयरबस ३३०’ खरिद गर्दा सरकारमा को थियो ? ३८ क्विन्टलभन्दा बढी सुनको तस्करी हुँदा को सत्तामा थियो ? ललितानिवास प्रकरण कहिलेबाट र कोको हुँदै अगाडि बढेको थियो ? सबै स्पष्ट छैन र ?
- नियमित र वैध आम्दानीको स्रोत नभए पनि कतिपय नेताहरूको जीवनशैली एकदमै विलासी भएको, कतिपय नेताहरूको वर्ग उत्थान भएको, बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको टिप्पणी छ। म त यस विषयमा केही नबोलौंला, व्यक्तिगत विषय पनि नबनाउँला। यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु। तपाईं यसमा तयार हुनुहुन्छ ?
- २०७७ भदौ २६ गते सम्पन्न स्थायी कमिटीको पाँचौं बैठकले गरेको निर्णयको बुँदा १०.५ मा यस सम्बन्धमा भनिएको छ, ‘यो बैठक नेपालको नयाँ नक्सा प्रकाशन र यस प्रयोजनका लागि संविधान संशोधनसहितको ऐतिहासिक निर्णयका लागि सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ।’ यस निर्णयमा हस्ताक्षर गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दुई महिनापछि २०७७ कात्तिक २८ गते यस विषयमा मेरो निष्ठामाथि प्रश्न उठाउने, ‘राष्ट्रियतासँग सम्बन्धित विभिन्न विषयमा अनेकपटक फितलो देखिएको’, ‘विदेश मामला र कूटनीतिमा नेपालको स्वतन्त्र परराष्ट्र नीतिसँग मेल नखाने व्यवहार देखाउँदै... देशलाई क्षति पुर्याएको’ जस्ता आरोप लगाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्ये कुनचाहिँ सक्कली र कुन नक्कली हो, म साँच्चै कन्फ्युज्ड भएको छु।
- मेरो एउटा सानो जिज्ञासाको जवाफ दिनुहुन्थ्यो कि कामरेड ‘प्रचण्ड’ ? कालापानी, लिपुलेक र लिम्पियाधुरा त झन्डै साठी वर्षदेखि भारतको प्रशासनिक र कार्टोग्राफिक नियन्त्रणमै थिए। यस अवधिमा तपाईं दुई–दुई चोटि प्रधानमन्त्री बन्नुभयो। लिपुलेक र लिम्पियाधुराको नाम उच्चारण गर्न तपाईंलाई के कुराले छेकेको थियो ?
- एमसीसी सम्झौतामा तपाईंले नेतृत्व गरेको तत्कालीन नेकपा (माओवादी–केन्द्र) र कांग्रेसको संयुक्त सरकार हुँदा हस्ताक्षर गरिएको हो। अनि, हस्ताक्षरकर्ता ‘राष्ट्रवादी’ र जसले हस्ताक्षर गरेको भए पनि, नेपालको तर्फबाट गरिएको हुनाले यसलाई कार्यान्वयन गरौं भनेर अगाडि बढाउन कोसिस गर्ने मचाहिँ कसरी ‘राष्ट्रिय हितविरोधी’ ?
- कहिले सार्वजनिक मञ्चमा गएर ‘एमसीसी पारित गरिन्छ’ भन्ने, कहिले सभामुखलाई अन्यौलमा राखेर, कहिले आफूनिकट साथीहरूलाई अतिरञ्जित र भ्रामक प्रचार गर्न लगाएर, मित्रराष्ट्रहरूसँग सम्बन्धमा जटिलता आउने गरी दोहोरो भूमिका खेल्न छाड्नुहोस्। विकासका महŒवपूर्ण प्रश्न र देशको विश्वसनीयता जोडिएका विषयमा सस्तो राजनीति धेरै महँगो पर्न सक्छ।
- तपाईंले मलाई शान्ति प्रक्रियाका काम अल्झिनुमा समेत दोषी देखाउने दुस्साहस गर्नुभएको रहेछ। म ‘धर्म’ र ‘पाप’ मा विश्वास गर्दिनँ। तर यस्ता आरोप सुन्दासुन्दा कहिलेकाहीं दिक्क लागेर सोच्ने गर्छु, साथीहरूले यति घटिया ‘पाप’ पनि कसरी चिताउन सक्दा हुन् ?
छातीमा हात राखेर भन्नुस् त, यो विषय यतिका वर्षसम्म कसले अल्झाइरहेको छ ?
- मेरा कुनै नातासम्बन्धीहरूले कुनै नियुक्ति पाएका छैनन्। नाता सम्बन्ध भएकै कारणले मात्रै भोलि पनि पाउने छैनन्। मलाई परिवार र व्यक्तिगत लाभमा अल्झिनु छैन। मलाई नातावादको निराधार आरोप लगाउनुपूर्व तपाईंले एकचोटि आफैंलाई नियालेर हेर्नुभएको भए हुन्थ्यो।
- तपाईंले गर्नुभएको सिफारिसमा आन्दोलनमा योगदान र त्याग गरेका मान्छे परेका छन् कि अन्य ? हिजो कष्टपूर्ण यात्रामा साथ दिएका साथीहरूमाथि साँच्चै न्याय भइरहेको छ ? सरकार र पार्टी नेतृत्व दुवैबाट मलाई हटाउने म्याराथनमा कुदिरहँदा कहिल्यै तपाईंको दिमागमा युद्धमा घाइते भएका, अझै पनि शरीरमा गोली र छर्रा बोकेर हिँडिरहेका साथीहरूको दुखान्त तस्बिर आउँछ ? कहिल्यै यी साथीहरूलाई राहत र पुनस्र्थापनाको विषय एजेन्डा बनाउनुभएको छ ?
- मैले ‘प्रदेशहरू राज्यका अंग हुन्’ भनेर व्यक्त गरेको कुरालाई ‘प्रदेशहरू केन्द्र सरकारको प्रशासनिक एकाइ हुन् भन्यो’ भनेर रिपोर्टिङ गर्ने साथीहरूलाई राज्य र सरकारको अन्तरसम्बन्ध र भेदबारे प्रशिक्षण दिनुहोला।
- तपाईंले मलाई ‘व्यक्तिवादी’, ‘गुटवादी’ र ‘एकाधिकारवादी’ आरोप लगाइरहँदा एकपटक आफूले नेतृत्व गरेको अवधिको आत्मसमीक्षा गर्नु भए हुन्थ्यो। जुन व्यक्तिको ३० बर्से नेतृत्वकालमा सहयोद्धा साथीहरू अत्यन्त पीडाका साथ पार्टी छाड्न विवश भएका छन्, जसमध्ये कतिको दुःखद मृत्युसमेत भएको छ, जसको नेतृत्वकालमा पार्टी पटक–पटक विभाजित भएर चिराचिरा भएको छ, जहाँ तजबिजका भरमा कुनै बेला कमिटी दुई अंकमा झर्छ अनि तुरुन्तै ४ हजार सदस्यीय बन्छ, कमरेडले मलाई यस्तो आरोप लगाउन अलिकति अप्ठ्यारो मान्नुपर्ने हो। म त जम्माजम्मी एउटा महाधिवेशनबाट, त्यो पनि प्रतिस्पर्धामार्फत अध्यक्ष पदमा निर्वाचित भएर काम गरिरहेको छु।
- आरोप लगाउँदै जाँदा तपाईंले ममाथि ‘संकटकाल लगाउन खोजेको’, ‘संसद् भंग गर्न खोजेको’, ‘द्वन्द्वकालीन मुद्दाहरू ब्युँताउन खोजेको’, ‘अख्तियार लगाउन खोजेको’, नेताहरू ‘लडाउन खोजेको’ आदि फरेब तेस्र्याउनु भएछ। लोकतन्त्र मेरो निष्ठा हो, बाध्यता होइन। विधिको शासन मेरो छनोट हो, ओठेभक्ति होइन। सीधा र खुला बहस अनि आवश्यक परे सीधा लडाईं लड्ने मेरो विशेषता हो। छलकपट र दाउपेच मेरो स्वभाव होइन। म पार्टीभित्रका समस्या समाधानका लागि यस्ता हतियारको सहारा लिनुपर्ने कमजोर धरातलमा उभिएको छैन। मैले लडाएर लड्ने त्यति कमजोर हुुनुहुन्छ र हाम्रो पार्टीका नेताहरू ? आफ्नै छायासँग पनि तर्सिनुपर्ने अवस्थाबाट मुक्त हुनुहोस् !
- मेरो विरोध गर्ने नाममा तपाईंले न्यायपालिकाजस्तो सम्मानित र संवेदनशील संस्थालाई समेत विवादमा मुछ्ने गैरजिम्मेवार काम गर्नुभएको छ। त्यसलाई लिएर म कुनै टिप्पणीसम्म गर्न चाहन्नँ।
- विप्लवले अगाडि बढाइरहेको हिंसा निन्दनीय हो कि रातो झन्डाको आवरणमा भएकाले त्यसप्रति नरम हुन मिल्छ ? मिल्दैन भने किन स्पष्ट भाषामा खण्डन र भत्र्सना गर्नुहुन्न ?
- नेपालको बाह्य सम्बन्ध सञ्चालनको आधार के हो– राष्ट्रिय हित, संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलताका सिद्धान्त कि अन्य केही ?
- सारमा, पार्टीलाई अब विकास र समृद्धिको संवाहक र अगुवा बनाउँछौं कि गुटहरूको संयुक्त मोर्चा ?
- नेपालको कम्युनिस्ट आन्दोलनलाई यस उचाइमा ल्याइपुर्याउन जनताको बहुदलीय जनवादले खेलेको भूमिकाको सकारात्मक चर्चा गर्दा तपाईंलाई हुने छटपटी र व्यग्रता देखेर म अचम्मित हुन्छु।
- कुनै बेला स्वयं प्रधानमन्त्री हुँदा ‘म प्रधानमन्त्री हुँ कि विद्रोही नेता हुँ, अलमलमा छु’ भनेर अभिव्यक्ति दिनुहुन्थ्यो। त्यो अलमलले तपाईंलाई र खुद नेपालको कम्युनिस्ट आन्दोलनलाई कति क्षति पुर्यायो, समीक्षा गर्नुभएकै होला।
- आज फेरि तपाईं दुईवटा डुंगामा खुट्टा राखेर उभिनुभएको छ– सरकारको नेतृत्व गरिरहेको पार्टीको अध्यक्ष हुनुहुन्छ, तर यसको स्वामित्व लिनुहुन्न। विरोधीभन्दा चर्को गरी सरकारको विरोधमा उभिनुहुन्छ, सरकार ढाल्न भित्रभित्रै खेल खेल्नुहुन्छ।
- यसो सम्झिनुहोस् त, हिजो हामी दुई अलग–अलग पार्टीका रूपमा चुनावी मैदानमा थियौं, तर दुवैका सकारात्मक पक्षको चर्चा गर्ने गरिएकाले हामी भावनात्मक रूपमा एउटै पार्टीजस्तो भएका थियौं। आज हामी एउटै पार्टीका रूपमा छौं, तर खालि नकारात्मक कुरा मात्रै गर्छौं। परिणाम ? आज कानुनी हिसाबले पार्टी एक भए पनि भावनात्मक रूपमा विभाजित भएका छौं। यसलाई अन्त्य गर्ने बेला भएन ?
- भनिन्छ– इतिहास दुईचोटि दोहोरिन्छ– पहिलोचोटि दुखान्तका रूपमा, अर्कोपटक प्रहसनका रूपमा। दुखान्तका रूपमा त इतिहास दोहोरिइनै सकेको छ, के तपाईं अर्को प्रहसनको पर्खाइमा हो ?
- म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु– पार्टीमा विग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौं र पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काऔं।
- नयाँ पुस्तालाई एकीकृत, सग्लो, जीवन्त, वैचारिक रूपले स्पष्ट र देश तथा जनतालाई नेतृत्व गर्ने सामथ्र्यसहितको पार्टी हस्तान्तरण गरेर अवकाश लिने मेरो इच्छा छ।
- हाम्रा बैठक र भेटघाटका अधिकांश समय व्यक्तिगत गुनासो, मान–अपमान र कुर्ची व्यवस्थापनमा जान्छ। कुन दिन हामीले एजेन्डा बनाएर अबको दस, बीस या तीस वर्षपछि नेपाललाई कहाँ पुर्याउने भन्नेबारेमा छलफल गरेका छौं ?
- कुनै पनि महाधिवेशन÷अधिवेशनहरूबाट निर्वाचित नभएका, महाधिवेशनसम्मको संक्रमणकालीन व्यवस्थाका लागि भनेर बनाइएका र सहजतापूर्वक महाधिवेशन आयोजना गरी नेतृत्व हस्तान्तरण गर्ने मुख्य अभिभारा भएका अन्तरिम कमिटीहरूलाई अल्पमत र बहुमतको खेल खेल्ने थलो नबनाऔं।
- दोस्रो संविधानसभामा कमजोर बनेको जातीय–क्षेत्रीय अतिवाद स्थानीय चुनावसम्म आइपुग्दा लगभग निस्तेज भयो। अवस्था यस्तो भयो कि, आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्ने लज्जास्पद उपायको सहारा लिनुपर्ने ठाउँमा तपाईंलाई पुर्यायो। तपाईंका अगाडि एउटा गम्भीर प्रश्न उभियो, नेपाली कांग्रेससँगको गठबन्धनमा गाँसिदै अन्ततः विलयनको बाटोमा जाने कि नयाँ राजनीतिक सम्भावनाको खोजी गर्ने। ठीक यही बिन्दुमा हो, दुई पार्टीबीच चुनावी गठबन्धन गर्ने निष्कर्षमा हामी पुगेको।
- तपाईंले हामीभित्रका असहमतिलाई जबर्जस्ती सैद्धान्तिक रङ दिने कोसिस गर्नुभएको छ। ठीक छ, यी विषयमा बहस गर्न म तयार छु।
- कमरेड ‘प्रचण्ड’, सुरुमै तपाईंलाई मेरो प्रश्न छ– पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत बहस हो कि ‘वार कि पार’ को लडाईं ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ?
- वर्तमान सरकारमाथि तपाईंको ‘नवउदारवादी’ आरोप सुन्दा मैले भन्नैपर्छ– या त तपाईंले नवउदारवाद के हो, बुझ्नुभएको छैन। या त तपाईं देशभित्र भइरहेका यी काम देख्न चाहनुभएको छैन।
- तपाईंले मलाई ‘व्यक्तिवादी’, ‘गुटवादी’ र ‘एकाधिकारवादी’ आरोप लगाइरहँदा एकपटक आफूले नेतृत्व गरेको अवधिको आत्मसमीक्षा गर्नुभए हुन्थ्यो।
- निर्वाचन सफलताको उन्मादमा तपाईंले पहिले गिरिजाप्रसाद कोइरालालाई र पछि माधवकुमार नेपाललाई अन्तिम अवस्थामा धोखा दिनुभयो। उम्मेदवारी दाखिला गर्नुभन्दा केही मिनटअगाडि मात्र संसदीय दलको कार्यालयमा तत्कालीन नेकपा (एमाले) महासचिव झलनाथ खनाललाई बोलाएर माधवकुमार नेपाललाई राष्ट्रपतिमा समर्थन गर्न सकिँदैन भन्ने जनाउ दिएको सायद बिर्सनुभएको छैन होला। कसको इशारा र योजनामा भएका थिए यी सबै दाउपेच ?
- कामरेड ‘प्रचण्ड’, किन यस्तो अपारदर्शिता ? किन यस्तो छलछाम ? राजनीतिमा सहमत हुन पाइन्छ, असहमत हुन पनि पाइन्छ। भएको पार्टी विघटन गर्न र नयाँ पार्टी बनाउन पनि पाइन्छ। भएकै कुनै पार्टीमा जोडिन पाइन्छ। तपाईं आफैं यस्ता कुरालाई स्वाभाविक र आफ्नो नियमित अभ्यास भन्ने गर्नुहुन्छ। ‘भत्काउने– बनाउने– फेरि भत्काउने‘ यस्तो विषयलाई गर्वको विषय बताउनुहुन्छ। अझ थप, दिक्क लाग्यो भने, राजनीति छाड्न पनि पाइन्छ। विश्राम लिन पनि पाइन्छ।
- २०७४ फागुन ७ गते राति ‘दुई अध्यक्ष र आलोपालो प्रधानमन्त्री’ को लिखतमा सही नहुञ्जेल सरकारले पूर्णता पाउने वातावरण बनेन। एउटै चुनावी घोषणापत्रसहित, वाम गठबन्धन बनाएर चुनाव लडेको पार्टीका नेताको हैसियतमा तपाईंले अर्को पार्टीको समर्थनमा प्रधानमन्त्री बन्ने प्रयास गर्नु नैतिकताको कसीमा कहाँनिर उभिन पुग्थ्यो ?
- चुनावबाट तेस्रो पार्टीका रूपमा आएको पार्टीका अध्यक्षले ‘मैले प्रधानमन्त्री बन्न प्राप्त अवसर लत्याएँ’ भन्नु त्याग थियो कि तपाईंभित्र सुषुप्त रूपमा लुकेको सत्तालिप्सा ?
- विदेशी भूमिमा गएर राजनीतिक अस्थिरताको सन्देश दिनुपर्ने खण्डखातिर किन पर्यो, मैले आजसम्म पनि तपाईंलाई सोधेको छैन। तर के त्यसको कुनै गम्भीर अर्थ थिएन र ?
- तपाईंले कतिचोटि मन्त्रिपरिषद् पुनर्गठनको घोषणा गर्नुभएको छ, कतिचोटि सरकार परिवर्तनको खुला अभिव्यक्ति दिनुभएको छ र कतिचोटि छिटै आफू सरकारको नेतृत्वमा आउने भएकाले कतिपय विषय पछि सल्टाउँला भन्दै मित्रराष्ट्रसँगका कतिपय विषय अल्झाउनुभएको छ, सम्झना गर्नुभएको छ नि ?