कोरोनाले शिथिल खेलकुद
काठमाडौं : कोरोना भाइरसको महामारी पछि नेपाली खेलकुद ठप्प छ। कोरोनाको संक्रमण सुरु भएसँगै नौ महिनादेखि सबै खाले खेलकुद गतिविधि स्थगित भएका छन्।
२०७२ सालको भूकम्पपछि सुस्ताएको नेपाली खेलकुद एक वर्षअघि मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) ले गर्दा केही जुर्मुराएको थियो। तर कोरोनाकाकारण अहिले नेपाली खेलकुद पनि शिथिल बनेको छ। खेलकुदका सबै खाले राष्ट्रिय र अन्तर्राष्ट्रि«य प्रतियोगिता ठप्प भएका छन्। अधिकांश खेलहरू विश्व खेलकुदसँग जोडिएकोले पनि त्यसको असर नेपाली खेलकुदमा परेको छ। तर नेपाली खेलकुद व्यावसायिक भइनसकेका कारण त्यति असर नपर्ने पदाधिकारीहरू बताउँछन्।
नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल कोरोनाका कारण सबै क्षेत्रलाई असर पर्ने स्वाभाविक ठान्छन्। यद्यपि नेपाली खेलकुद युरोप र अमेरिकाको जस्तो व्यावसायिक नभइसकेकोले त्यति असर नपर्ने उनको बुझाइ छ। ‘कोरोनाका कारण नेपालको खेलकुदमा ठूला देशको जस्तो आर्थिक नोक्सानी हुने अवस्था छैन। हाम्रोमा नोक्सानी भइहाल्ने खालका खेलकुद तालिका थिएनन्। प्रमुख खेलहरू फुटबल, क्रिकेट, भलिबललगायत प्रतियोगिता रोकिँदा केही असर त पर्ने नै भयो,’ सिलवाल भन्छन्। तर घरमै बसेर भए पनि खेलाडीले आफूलाई फिट राख्न मेहनत र अभ्यास गर्नुपर्ने उनले सुझाए।
कोरोनाकै कारण विदेशमा जस्तो नेपालमा खेलाडी र प्रशिक्षकको तलब कटौती गर्नुपर्ने अवस्था नेपालमा नरहेको उनले बताए। सिलवालले विस्तारै खेलकुद लयमा आउने पनि बताए। कोरोनाको महामारीकै बीच लोकप्रिय खेल फुटबलले बंगलादेशमा हालै मैत्रीपूर्ण खेल खेल्यो। राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण भर्खर सुरु भएको छ। गत सातामात्र नेपालगन्ज म्याराथन सफल रूपमा सम्पन्न भएको छ।
कोरोनाले नेपाली खेलकुदलाई ठूलो आर्थिक संकट नपारे पनि अन्तर्राष्ट्रिय सहभागिता र तयारीमा भने धेरै असर पारेको छ। कोरोनाले गर्दा नेपालले खेल्ने विश्वकप फुटबलका छनोट खेल पटकपटक स्थगित भएको छ। एन्फाले गर्ने भनेको राष्ट्रिय लिग, महिला लिग, ‘बी’ र ‘सी’ डिभिजन लिग फुटबल, भलिबल, क्रिकेट, मार्सटल आर्ट्स, ब्याडमिन्टन, एथलेटिक्सलगायत खेलकुद प्रतियोगितालाई ठूलो असर परेको देखिन्छ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं कराँते प्रशिक्षक दीपक श्रेष्ठले नेपालमा ठूला देशमा जस्तो असर नदेखिए पनि कतिपय खेलाडीको आर्थिक अवस्था नाजुक भएको बताउँछन्। ‘हाम्रोमा फुटबल, क्रिकेटजस्ता खेलमा खेलाडीको पारिश्रमिक, क्लबको अनुबन्धजस्ता कुरा सुरु भएका छन्। कतिपय खेलाडीले स्टारडम जस्तो गरेर तलबको कुरा बाहिर ल्याउँदैनन्। तर, क्लबले तलब नदिएको यथार्थ हुन्छ। केही समयअघि नेपालमा फुटबल लिग खेल्न आएका विदेशी खेलाडीले पैसा नपाएको भन्ने सुनेका थियौं,’ श्रेष्ठले भने।
उनले उमेरसमूहका खेलाडीको खेल जीवनमा पनि कोरोनाको असर दीर्घकालीन रूपमा पर्ने बताए। ‘अहिले ओलम्पिकको तयारीबाहेक कुनै ठूला खेलको तालिका छैन। तरपनि खेलकुद ठप्प हुँदा खेलाडी हराउने सम्भावना हुन्छ। उमेरसमूहको खेलाडीले उमेरका कारण खेल गुमाउँछ। खेलकुद नहुँदा खेलाडीले अभ्यास र तयारीमा अल्छी गर्छन्। जसको असर दीर्घकालीन पर्छ,’ श्रेष्ठ भन्छन्। ओेलम्पिक एक वर्षपछि सरेकोले ओलल्पिक खेल्ने नेपाली खेलाडीलाई केही राहत त भयो। तरपनि हाम्रो तयारी नपुग्ने अवस्था छ,’ श्रेष्ठले भने।
ओलम्पिकमा नेपालले सीधै छनोट भएर खेल्ने सम्भावना छैन। त्यसैले अनिवार्य कोटामार्फत नेपालबाट पौडीमा गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्समा गोपीचन्द पार्की गरी तीन खेलाडीको ओलम्पिक सहभागिता सुनिश्चित भइसकेको छ। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विभिन्न खेलका थप १२ जना खेलाडीको नाम वाइल्ड कार्डको लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) मा सिफारिस गरेको छ। तीमध्ये कति जना खेलाडीले ओलम्पिक खेल्न पाउँछन्, त्यो भने भाग्यको कुरा हो।