गैंडा मरेपछि संसदीय समितिको छानबिन
![गैंडा मरेपछि संसदीय समितिको छानबिन](https://annapurnapost.prixacdn.net/media/albums/baithak_20201130050945_zvVVASbKAh.jpg)
चितवन : साढे तीन वर्षपछि चितवन राष्ट्रिय निकुञ्जमा चारवटा गैंडा चोरी सिकारीबाट मारिएका छन्। गत साउनयता निकुञ्जमा १६ मध्ये चारवटा गैंडा मारिएका हुन्। प्राकृतिक कारणले मर्नेको संख्या बढी भए पनि पछिल्लो पटक तस्करबाट गैंडा मर्ने क्रम बढेपछि संरक्षणमा चुतौती थपिएको छ।
भदौ तेस्रो सातादेखि दुई महिनामा चारवटा गैंडा चोरी सिकारीबाट मरेका छन्। भदौ १६ गते गोली चलेको आवाज सुनेपछि निकुञ्जमा व्यापक खोजतलास गरियो। त्यसपछि भदौ १९ मा पनि गोली चलेको आशंका गरिएको छ। कंकाल फेला परेको गैंडा गत वर्ष मारिएको हुनसक्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। ‘एउटा गैंडालाई गोली हानेर मारेपछि खाग लान नसक्दा फेरि अर्कोलाई गोली हानेको हाम्रो अनुमान हो’, उनले भने, ‘एउटा गैंडा मार्न खोज्दा अरू तीन गैंडा क्षति भएको हाम्रो अनुमान छ। यसको खोजीकार्य र अनुसन्धान तीव्र पारेका छौं।’
चितवनमा अस्वाभाविक रूपमा गैंडा मर्न थालेपछि प्रतिनिधिसभाको संसदीय समितिले अध्ययन थालेको छ। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले अध्ययन सुरु गरेको छ। समितिले आइतबार निकुञ्ज मुख्यालय कसरामा छलफल गरेको हो। निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गणसँग समिति पदाधिकारीले जानकारी लिए।
निकुञ्जको सुरक्षार्थ ठूलो संख्यामा जनशक्ति खटिँदा पनि गैंडा मरेको विषयमा सांसदहरूले असन्तुष्टि पोखे। समिति सभापति पूर्णाकुमारी सुवेदीले दुर्लभ गैंडा मारिने क्रम बढेपछि यसको विषयमा बुझ्न छानबिन थालेको बताइन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)