इन्सपेक्टरकी श्रीमती न्यायको खोजीमा
बेनी : प्रहरी निरीक्षक रहेका श्रीमानबाट पीडित भएको भन्दै म्याग्दीकी एक युवती न्यायको खोजीमा भौतारिएकी छिन् । प्रहरी निरीक्षक ध्रुव शर्मासँग गत असारमा विवाह गरेकी बेनीकी स्मृति शर्माले श्रीमानबाट पीडित भएको भन्दै न्यायको अपिल गरेकी हुन् ।
स्मृतिले विवाहअघि रहेको गर्भलाई पतन गर्न बाध्य बनाएको, सम्बन्ध बिच्छेदका लागि मानसिक यातना दिएको र सरुवा भएपछि आफूलाई अलपत्र छाडेर सम्पर्क बिहिन भएको आरोप लगाएकी छिन् ।
'अफिस जान्छु भनेको मान्छे एक्कासी सरुवाको रमना लिएर गएको र फोन स्वीच अफ गरेपछि खोजतलासका लागि प्रहरी र प्रशासनमा उजुरी गरेको हो,' स्मृतिले भनिन्, 'मेरो जीवनलाई रोडमा ल्याउन खोज्दैछ । मलाई न्याय दिनुस् ।'
स्मृतिले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा न्याय दिलाइ दिनका लागि निवेदन दिएको आधारमा प्रहरी निरीक्षक शर्मालाई झिकाएर दुई पक्षबीच गत शुक्रबार छलफल गराए पनि उनीहरुबीच सम्बन्ध सुधार भएको छैन् ।
प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले विवाद निरुपणका लागि दुवै पक्षको चाहनाअनुसार छलफल गराएको बताए । छलफलबाट सम्बन्ध सुधार र विवाद समाधान नभए कानुनी प्रक्रियाबाट कारबाही अघि बढ्ने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत ध्रुबको केही दिनअघि पोखरा सरुवा भएको थियो । ध्रुबले स्मृतिलाई कानुनी र व्यवहारिक हिसाबले श्रीमती स्वीकार गरिसकेकको बताउँदै आफ्नो चरित्रहत्या गर्न खोजिएको गुनासो गरे ।
श्रीमती स्वीकार गरेर विवाह दर्ता र नागरिकता दिलाएको छु, 'उनले भने, 'सरुवा भएपछि उनलाई जानकारी गराएरै पोखरा गएको हो । नयाँ ठाउँमा काम सुरु गर्दा एक/दुई दिन सम्पर्क टुटेको हुनसक्छ । हाम्रो सम्बन्धमा आएको खटपट एकाएक सामाजिक सञ्जालमा आउँदा मलाई पनि आश्चार्य लागेको छ ।'
स्मृति जिल्ला निर्वाचन कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा काम गर्थिन् । प्रशासनमा बसेर मतदाता नामावली दर्ता गर्ने स्मृति र प्रशासनमा आउजाउ गरिरहने ध्रुबबीच आठ महिनाअघि भएको चिनजान प्रेम, शारीरिक सम्पर्क हुँदै विवाहसम्म पुगेको स्मृतिको दावी छ ।
गत चैत महिनामा ध्रुवको पोखरामा एक युवतीसँगै विवाहका लागि टिकाटालो भइसकेको थियो । टिकाटालोको तस्बीर सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो । टिकाटालेको तस्बीर सार्वजनिक भएपछि स्मृतिले जिल्ला प्रहरी प्रमुख र आफन्तहरुलाई ध्रुबसँगको सम्बन्धको बारेमा जानकारी गराएकी थिएन् । टिकाटालो भइसकेको विवाह रद्द भयो । स्मृति र ध्रुबले गत असारमा बेनीकै मन्दिरमा विवाह गरेको तस्बीर समेत सार्वजनिक गरेका थिए ।
विवाह गरेपछि शर्मा दम्पत्ती बेनीमै कोठा भाडा लिएर बस्दै आएका थिए । विवाह बन्धनमा बाँधिए पनि उनीहरुको सम्बन्ध सुमधुर हुन सकेन् । बेलाबेलामा खटपट भइरहन्थ्यो । सँगै बसेपनि, सामाजिक सञ्जालमा विभिन्न ठाउँ घुम्न गएको तस्बिर राख्ने गरेका थिए । उनीहरुबीच हार्दिकता र आत्मीयताको वातावरण बन्न नसक्नु तथा अविश्वासकै कारण पारिवारिक विषय सामाजिक सञ्जालमा छताछुल्ल भएको हो ।
पछिल्लो पटक ध्रुबले सम्बधबिच्छेद गर्नका लागि बागलुङ अदालतबाट प्रक्रिया सुरु गरेका छन् । आफूपनि स्मृतिबाट पीडित भएको बताउने शर्माले अदालतमा पुगिसकेको विषयमा सार्वजनिक रुपमा प्रतिक्रिया नदिने बताए ।