मुस्ताङको थासाङमा कोभिड अस्पताल
जोमसोम : दुर्गम हिमाली जिल्ला मुस्ताङको थासाङ गापा-३ लेतेमा सोमबार ५ बेडको अस्थायी कोभिड अस्पताल उद्द्घाटन भएको छ ।कोभिड अस्पतालको मुस्ताङका संघीय सासद प्रेमप्रसाद तुलाचनबाट उद्द्घाटन भएको हो।
सरकारले कोरोना सक्रमित व्यक्तिको उपचारमा सहज रुपमा सहयोग पुर्याउन देशभरका सरकारी अस्पताल नभएका स्थानीय तहमा ५ बेडको कोभिड अस्पताल बनाउने निर्णयसँगै १० लाख बजेट पठाएको छ। सो बजेटको आधारमा थासाङमा अस्थायी कोभिड अस्पताल स्थापना भएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष केशीले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकासा गरेको बजेटबाट कोभिड अस्पतालका लागि चाहिने आवश्यक बेड,स्वास्थ सामग्री, औषधि खरिद र स्वास्थ्य जनशक्तिमा खर्च गरिने भएको छ ।
स्वास्थ मन्त्रालयको निर्देशिका बमोजिम स्थानीय तहमा संचालनमा आउने अस्थायी कोभिड अस्पतालमा एकजना मेडिकल अफिसर, २ जना स्टाप नर्स र १ जना कार्यालय सहयोगी गरी ४ जनाको जनशक्ति तोकेको प्रमुख प्रशासकीय अधिकृत केशीले उल्लेख गरे।
कोभिड अस्पताल उद्दघाटनका क्रममा सासद तुलाचनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित व्यक्तिको प्राथमिक उपचार र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अस्थायी कोभिड अस्पतालले सहयोग पुर्याउने दाबी गरे। उनले मुकाम केन्द्रित स्वास्थ्य सेवाको पहुँच फराकिलो बनाउँदै सरकारले स्थानीय तहला अधिकार र अवसर प्रदान गरेको बताए ।
सो अवसरमा थासाङ गापाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले कोरोना रोकथाम तथा उपचार व्यवस्थापनमा सरकारले महत्वपूर्ण भूमिका खेलेको बताए ।स्थानीय तहभित्रै स्वास्थ्य सेवाको अवसर प्राप्त हुनु नागरिकका लागि गर्वको विषय भएको र यसबाट नन कोभिडका बिमारीलाई पनि सेवा दिन सकिने जनाए ।
यस्तै मुस्ताङको लोमान्थाङ ,वारागुङ मुत्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गापाले पनि अस्थायी कोभिड अस्पतालको तैयारी गरेको जनाइएको छ । मुस्ताङमा हालसम्म २६ कोरोना सक्रमित व्यक्तिमध्ये २१ जना निको भएको छ्न् । यसमा अझै ५ जना सक्रिय कोरोना संक्रमित व्यक्ति रहेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।