किन पाएन मध्यपुर थिमि नगरपालिकाले नयाँ प्रशासकीय प्रमुख ?
भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिका कार्तिक ७ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतविहीनको अवस्थामा रहेको छ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको भने होइन। बहालवाला प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल अझै मध्यपुर थिमि नपाको प्रशासकीय प्रमुख हुन्।
उनी आफै मध्यपुर थिमि नपा छाडेर गएका पनि छैनन्। तर नपाका काम गर्न दिइएको छैन। नपाको सबै कामबाट उनलाई अलग्ग गरिएको छ। पहुँच दिइएको छैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिजाललाई फिर्ता लिएको पनि छैन। सामान्यले रिजाललाई तानेर नयाँ पठाएको पनि छैन।
कर्मचारी अभाव भएकाले मन्त्रालयले मध्यपुर थिमि नपामा रिजालले नै काम गरोस् भन्ने चाहिरहेको छ। मध्यपुर थिमि नपाको विकसित घटनाबारे सामान्यका अधिकांश कर्मचारीहरु जानकार भएकाले तत्काल यहाँ आउन कोही तयार पनि देखिएका छैनन्। मन्त्रालयले प्रस्ताव गरेका कर्मचारीले नै विवादको चरमोत्कर्षको अवस्थामा मध्यपुर थिमि गएर काम गर्न नसकिने बताउँदै आएका छन्।
त्यसैले पनि मन्त्रालयले रिजाललाई नै काममा फर्काउन चाहेको थियो। रिजाल आफैले पनि मेयर तथा नगर कार्यपालिकाले सहजीकरण गरे काम गर्न कुनै समस्या नभएको बताउँदै आएका छन्। तर मेयर मदनसुन्दर श्रेष्ठसहित नपाका बहुमत कार्यपालिका सदस्य रिजाललाई फेरि काम गराउने पक्षमा छैनन्। उनीहरुले प्रमुख प्रशासकीय अधिकृत रिजालकै कारण नपा डेडलकको अवस्थामा रहेको निष्कर्ष निकालेका छन्। त्यसैले डेडलक थप लम्बिए पनि रिजालमार्फत काम लिन आफूहरु तयार नभएको मध्यपुर थिमि नपा वडा नं. १ का अध्यक्ष सुरज खड्का बताउँछन्।
नपाकी उपमेयर अञ्जनादेवी मधिकर्मीसहित ८ जना कार्यपालिका सदस्य भने मन्त्रालयले तत्काल नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिने स्पष्ट गरिसकेकाले रिजालमार्फत नै नपाको डेडलक फुकाउनुपर्नेमा जोड दिँदै आएका छन्। उनीहरुले छिटोभन्दा छिटो डेडलक फुकाउन तत्काल नगर कार्यपालिकाको बैठक बोलाउन मेयरसँग मागसमेत गरिसकेका छन्।
तर मेयर श्रेष्ठको घमन्डी र दम्भी स्वभावको कारण सहज निकासको अवस्था हुँदा पनि नपाको डेडलक लम्बिएको उपमेयरसहितका कार्यपालिका सदस्यहरुले बताउँदै आएका छन्।
मेयर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत रिजालबीच भएको विवाद उत्कर्षमा पुगेपछि कार्तिक ७ गतेदेखि मध्यपुर थिमि नपा डेडलकको अवस्थामा रहँदै आएको छ। मेयर श्रेष्ठले रिजाललाई मन्त्रालय फिर्ता पठाएको भन्दै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थिए।
मेयर श्रेष्ठले एकलौटी ढंगले रिजाललाई फिर्ता पठाएकोलाई मन्त्रालयले नमानेपछि कार्तिक २३ गते कार्यपालिकाको बैठक बसेको थियो। उक्त बैठकको बहुमत १९ सदस्यमध्ये ११ जनाले प्रमुख प्रशासकीय अधिकृत रिजाललाई फिर्ता गरेर नयाँ ल्याउने निर्णय गरेको थियो।
तैपनि मध्यपुर थिमिले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छैन। नपामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन मेयर श्रेष्ठले सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठमार्फत समेत मन्त्रालयमा दबाब दिइसकेका छन्।
सत्तारुढ नेकपा (नेकपा) बाट निर्वाचित मेयर श्रेष्ठले प्रदेश र संघ सबैतिर आफ्नै पार्टी सरकारमा रहेकाले सामान्य प्रशासन मन्त्रालयले तत्काल नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने विश्वास गरेका थिए तर डेढ महिना बित्दा पनि मेयर श्रेष्ठ नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याउन सफल भएका छैनन्।
सहरी विकासमन्त्री श्रेष्ठको दबाबले काम नगरेपछि मेयर श्रेष्ठले उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमार्फत समेत मन्त्रालयमा दबाब दिए। शाक्यले आफ्नोमात्रै बल नपुग्नेदेखि मन्त्रिपरिषद्का कार्यालयमार्फत समेत मध्यपुर थिमि नपामा प्रमुख प्रशासकीय अधिकृत पठाइदिन मन्त्रालयमा दबाब दिन लगाए।
मन्त्रिपरिषद्को कार्यालयमार्फत दबाब दिँदा पनि मध्यपुर थिमि नपाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको छैन। मेयर श्रेष्ठ भने प्रधानमन्त्री केपी शर्मा ओली मातहतको मन्त्रिपरिषद् कार्यालको दबाब गएपछि मन्त्रालयले नपामा तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाउनेमा ढुक्क थिए। त्यसैले मेयर श्रेष्ठले डेढ महिनादेखि डेडलक भए पनि नपामा आकाश खस्दैन, जमिन भाँसिँदैन भन्दै हिँडेका थिए।
उनले प्रमुख प्रशासकीय अधिकृत आउनेबित्तिकै नपाको डेडलक अन्त्य हुने दावी गर्दै आएका थिए। तर उनको दावी गएको महिनादिनदेखि झूटो सावित हुँदै आएको छ। मेयर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृतले मन्त्रालयबाट रमाना लिएर आइसकेको भन्दै आएका थिए। उनको उक्त भनाइ सार्वजनिक भएको हप्तादिनपछि नै मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले कर्मचारी अभावको कारण मध्यपुर थिमिमा प्रशासकीय अधिकृत पठाउन दुई हप्ता लाग्ने स्पष्ट पारेका थिए।
‘भित्री कारण बाहिर देखिएजस्तो छैन’
मन्त्रालयमा कर्मचारी अभावको कारण मध्यपुर थिमि नपाले नयाँ प्रमुख प्रशासकीय अधिकृत नपाएको जस्तो बाहिर देखिए पनि भित्री कारण भने अर्कै रहेको छ।
सहरी विकासमन्त्री श्रेष्ठ, उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरका मेयर शाक्य र मन्त्रिपरिषद्को कार्यालयबाट दबाब दिँदा पनि मध्यपुर थिमि नपाले ‘जाबो’ एकजना प्रशासकीय प्रमुख नपाउनु सामान्य कुरा नभएको सामान्य प्रशासन मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरु बताउँछन्।
उनीहरुका अनुसार मध्यपुर थिमि नपामा प्रशासकीय प्रमुख पठाउन जति दबाब छ, त्यत्ति नै दबाब नपठाउन छ। पठाउनुपर्ने र नपठाउनुपर्ने शक्तिको दबाब ठेग्न सामान्यका सचिव एकनारायण अर्याललाई हम्मेहम्मे भइरहेको छ।
दुईतिरको दबाब झेल्दै आएका सचिव अर्याललाई पनि ३ वर्षमा ४ जना प्रमुख प्रशासकीय अधिकृतलाई अपमानित गरेर फर्काउने मेयर श्रेष्ठ र जनप्रतिनिधिहरुलाई ‘सबक’ सिकाउने मेसो पनि मिलेको मन्त्रालय स्रोत बताउँछ।
‘सबैजसो प्रमुख प्रशासकीय अधिकृत मेयर श्रेष्ठसँगको विवादले सरुवा हुनुपर्ने बाध्यता देखियो’, उक्त स्रोतले भन्यो, ‘हिजो मेयर श्रेष्ठले भन्नेबित्तिकै पुरानोलाई फिर्ता गरेर नयाँ पठाउँदा एउटै गल्ती बारम्बार दोहोरियो। अहिले पनि तत्काल नयाँ पठाउँदा उनी पनि फेरि त्यसैगरी फिर्ता नहोला भन्न सकिन्न।’
त्यसैले देशभरका ७ सय ५३ वटा स्थानीय तह हेर्नुपर्ने मन्त्रालयले मध्यपुर थिमि नपा एउटालाई मात्रै प्राथमिकता दिएर हेर्न नसकिने भनेर प्रवक्ता अधिकारीले स्पष्ट पारेका थिए।
मेयर श्रेष्ठले मन्त्रालयले समायोजन गरेर मध्यपुर थिमि पठाएका २२ जना सरकारी कर्मचारीलाई हाजिर नगराएर फिर्ता पठाएको घटनाले समेत यसपटक नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन ढिलाइ गर्न सघाउ पुर्याएको मन्त्रालय स्रोत बताउँछ। त्यसमाथि मध्यपुर थिमिमा आउने नयाँ प्रशासकीय अधिकृत बहालवाला प्रमुख प्रशासकीय अधिकृत रिजाल, पूर्वप्रमुख प्रशासकीय अधिकृतद्वय कमल ज्ञवाली र महेश बरालका साथीसम्बन्धी वा ब्याजी पर्ने गरेका छन्।
मेयर श्रेष्ठले लगाए सांसद बस्नेत र ३ जना अधिकृतलाई दोष
हरप्रयास गर्दा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउन नसकिएपछि मेयर श्रेष्ठले नै मध्यपुर थिमिमा प्रशासकीय प्रमुख नपठाउन भूमिका खेल्नेहरुको नामै लिएर आरोप लगाउन थालेका छन्। उनले भक्तपुर निर्वाचन क्षेत्र नं. २ संघीय सांसद महेश बस्नेत, बहालवाला प्रमुख प्रशासकीय अधिकृत रिजाल र पूर्वअधिकृतद्वय ज्ञवाली र बराललाई दोष दिएका छन्।
संघीय सांसद बस्नेत नेकपा (नेकपा) का केन्द्रीय सदस्यसमेत हुन्। उनी प्रधानमन्त्री ओलीका विश्वास पात्रसमेत हुन्। नेकपा (नेकपा) भक्तपुरका नेताहरुका अनुसार प्रम ओलीले बस्नेतसँग सल्लाह नगरी वा उनको सहमतिविना भक्तपुरमा कुनै काम वा कदम चालिँदैन। तर मेयर श्रेष्ठको सांसद बस्नेतसँग कुरा मिल्दैन। मध्यपुर थिमि नपा सांसद बस्नेतकै निर्वाचन क्षेत्रभित्र पर्छ तर मेयर श्रेष्ठले सांसद बस्नेतलाई टेरपुच्छर नै लाउँदैन। जसले गर्दा सांसद बस्नेतलाई पनि मेयर श्रेष्ठलाई ‘ठेगान’ लगाउने मौका मिलेको नेकपाका भक्तपुर नेताहरु बताउँछन्।
पूर्वप्रमुख प्रशासकीय अधिकृत ज्ञवाली भक्तपुरकै सूर्यविनायक नपामा कार्यरत छन्। त्यसैले उनले मध्यपुर थिमि नपामा पछिल्लोपटक विकास भइरहेको सबै घटनामा चासो दिइरहेको मेयर श्रेष्ठले मुखै फोरेर बताउँदै आएका छन्।
अर्का पूर्वप्रमुख प्रशासकीय अधिकृत बराल भने उपत्यका बाहिर छन्। तैपनि उनले मध्यपुर थिमि नपाको सन्दर्भमा ‘चलखेल’ गरिरहेको मेयर श्रेष्ठको बुझाइ रहेको छ।
मध्यपुर सञ्चार समाजको मंसिर १३ गते सम्पन्न नवौ साधारणसभामा नपामा काम गरिसकेका ३ प्रमुख प्रशासकीय अधिकृतहरुप्रति व्यंग्य गर्दै मेयर श्रेष्ठले भनेका थिए, ‘मध्यपुर थिमि नगरपालिकाका कामलाई कसरी अवरोध गर्न सकिन्छ भनी लाग्ने ३ जना प्रमुख प्रशासकीय अधिकृतमध्ये एक जना मनोहरापारि, अर्को एकजना हनुमन्तेपारि र थप एकजना भ्यालीपारि रहेका छन्।’