होटेल रेस्टुराँमा बढ्यो अकुपेन्सी
काठमाडौं : कोभिड—१९ का कारण ध्वस्त बनेको आन्तरिक पर्यटन क्षेत्र बिस्तारै ठडिन लागेको छ। कोभिडको संक्रमणलाई नियन्त्रण गर्न सरकारले लगाएको लामो लकडाउन र त्यसपछिको विभिन्न परिवेशका कारण सुषुप्त अवस्थामा पुगेको यो क्षेत्र बिस्तारै चलायमान बन्न लागेको हो।
शून्यमा झरेको होटेल तथा रेस्टुराँको अकुपेन्सी दर बिस्तारै उक्लिन थालेको छ। व्यवसायीका अनुसार प्रमुख पर्यटकीयस्थल उपत्यकासहित पोखरा, चितवन र सौराहाका होटेल तथा रेस्टुराँको कारोबार क्रमिक रूपमा सुधारोन्मुख छ। कोभिड—१९ का कारण आठ महिनादेखि निरस भएर घरमै बसेका नेपाली सुरक्षाका उपाय अपनाएर बिस्तारै घुमघाममा निस्कन लागेका छन्। यसले गर्दा होटेल तथा रेस्टुराँको कारोबारले लय लिएको हो।
होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहका अनुसार अहिले होटेल तथा रेस्टुराँको अकुपेन्सी दर करिब १५ प्रतिशतमा पुगेको छ। ‘केही दिनसम्म अकुपेन्सी दर शून्य प्रतिशत रहेकोमा अहिले बढ्दै गएर १५ प्रतिशतमा पुगेको छ’, शाहले भने, ‘हामी होटेल व्यवसायीले पनि सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएका छौं। बुझ्ने आन्तरिक पर्यटक र केही बाहिरका पर्यटक पनि आफैं पनि सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी आइरहनु भएका छन्।’
उनका अनुसार अहिलेको अवस्थामा १५ प्रतिशत अकुपेन्सी होटेल तथा रेस्टुराँ व्यवसायका क्षेत्रमा केही होइन। तर, लामो समयदेखि पूर्ण रूपमा बन्द भएर पुनः सञ्चालनमा आएको यो क्षेत्रका लागि अहिलेको अवस्थामा १५ प्रतिशत अकुपेन्सी दर पनि सुखद मानिएको छ।
शाहले भने, ‘अवस्था सुधारोन्मुख छ। आशा गरौं अहिलेको अवस्थामा यो दर वृद्धि भएर कम्तीमा ३० प्रतिशतको हाराहारीमा पुग्न सक्छ।’ उनका अनुसार मुलुकभित्र आन्तरिक पर्यटकको घुमफिर विस्तारै बाक्लिँदै गएको छ। खासगरी युवा वर्ग मोटरसाइकल र निजी चारपांग्रे सवारीमा घुमफिरका लागि निस्किन थालेका छन्। गत वर्ष यही समयमा आन्तरिक र बाह्य पर्यटकका कारण होटेल तथा रेस्टुराँ ९० प्रतिशतभन्दा बढीले भरिभराउ थिए।
कोरोनाका कारण गत चैतबाट बन्द भएको आन्तरिक उडान असोज १ गतेबाट पुनः सञ्चालनमा आएको हो। आन्तरिक र बाह्य उडान सेवा अवरुद्ध हुनुका साथै मुलुक लकडाउनको अवस्थामा गएपछि आन्तरिक र बाह्य पर्यटकको अवागमन पूर्णरूपमा रोकिएको थियो। तारे होटल भने अझै पनि पूर्णरूपमा सञ्चालनमा आएका छैनन्। विदेशी पर्यटकको भरमा नै सञ्चालन हुने तारे होटल विदेशी पर्यटक नआउन्जेलसम्मका लागि खोलेर अपरेसन खर्च बढाउने पक्षमा नरहेको शाहको भनाइ छ। केही तारे होटलले भने सस्तो प्याकेज ल्याएर स्थानीय पर्यटकलाई आकर्षित गर्न थालेका छन्।
दसैंतिहारको बिदापछि चितवन तथा सौराहामा पनि नयाँ अनुहार देखिन थालेको होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले बताए। कोरोनापछिको शून्य अवस्थामा करिब १० प्रतिशत अकुपेन्सी रहेको घिमिरे बताउँछन्। सुधारोन्मुख अवस्थामा होटल व्यवसाय अघि बढेको उनको भनाइ छ।
नाफा कमाउनभन्दा पनि व्यवसायलाई टिकाउनकै लागि आन्तरिक पर्यटकको आगमन अहिलेको आवश्यकता रहेको उनले बताए। विश्व पर्यटन संगठनको सन् २०१८ को तथ्यांकअनुसार अन्तर्राष्ट्रिय यात्रु (इन्टरनेसनल ट्राभलर) १.४ बिलियन रहेकोमा त्यसको ६ गुणा अर्थात् ९ बिलियनको संख्यामा आन्तरिक यात्रुको चहलपहल भएको देखाउँछ।
कोरोनाका कारण बाह्य पर्यटक आउन सक्ने वातावरण नहुँदा पर्यटन उद्योग र यसमा भएको लगानीलाई जोगाइराख्न आन्तरिक पर्यटनको विकल्प नभएको सरकारले स्विकार गरिसकेको छ। आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न सरकारले बजेटमार्फत देशदर्शन अभियान सुरु गर्ने घोषणासमेत गरेको छ। कर्मचारीलाई आफ्नै देश घुम्न प्रोत्साहन गरिने भनेर बजेटमा उल्लेख छ।