कोरोनाको मारमा लक्षित वर्ग

कोरोनाको मारमा लक्षित वर्ग

दाङ : तुलसीपुर उपमहानगरपालिकामा अर्थिक वर्ष २०७६/७७ मा ८० लाख रुपैयाँ लक्षित वर्गको बजेट रकमान्तर भयो। नगरस्तरीय ४० लाख र वडास्तरको ४० लाख रुपैयाँ रकमान्तर गरेर अन्य क्षेत्रमा खर्च गरिएको छ। नगरस्तरीय कार्यक्रमअन्तर्गत दलित तथा लक्षित वर्गका लागि अर्थिक वर्ष २०७६/७७ मा विनियोजन गरिएको १५ लाख रुपैयाँ रकमान्तर गरेर पूर्वाधार निर्माण खर्च गरियो। नगरकार्यपालिकाअन्तर्गतको उक्त रकमबाट दलित, जनजाति, अल्पसंख्यकको सामाजिक तथा आर्थिक विकासमा खर्च गर्ने योजना थियो। त्यसै गरेर दंगीशरण जनजाति सग्रहालय तथा क्रान्ति संग्रहालय निर्माणका लागि नगरले विनियोजन गरेको २५ लाख रुपैयाँ पनि लक्षित वर्गको शीर्षकबाट रकमान्तर गरेर अर्कै शीर्षकमा खर्च गरिएको छ।

घोराही उपमहानगरपालिकाले विभिन्न शीर्षकमा लक्षित वर्गका नाममा आर्थिक वर्ष २०७६/७७ मा विनियोजन गरिएको २५ लाख रुपैयाँ रकम कोरोना सचेतनाको नाममा रकमान्तर गरेर खर्च गरिएको छ। उपमहानगरले अपांगता भएका व्यक्तिको क्षमता विकास तथा सीपमूलक तालिम सञ्चालनका लागि विनियोजन भएको ३ लाख रुपैयाँ रकमान्तर गरेर कोरोना कोषमा खर्च गरिएको छ। उपमहानगरले ७५ वर्ष माथिका ज्येष्ठ नागरिकको सम्मानका लागि छुट्ट्याइएको ५० हजार रुपैयाँ उनीहरूका लागि खर्च भएन। घोराहीले नै महिला सशक्तीकरण गर्न तथा विभिन्न सीपमूलक तालिम सञ्चालनका लागि विनियोजन गरिएको २ लाख रुपैयाँ त्यसमा खर्च नगरेर रकमान्तर गरी कोरोना कोषमा खर्च गरेको छ ।  बबई गाउँपालिकाले लक्षित वर्गको लागि विनियोजन गरेको १३ लाख रुपैयाँ रकमान्तर गरेर अर्को शीर्षकमा खर्च गरिएको छ। युवाका लागि छुट्ट्याएको २ लाख रुपैयाँले स्थानीयस्तरमा खेलकुद आयोजनाको तयारी थियो। रकम रकमान्तर भएपछि प्रतियोगिता रद्द गर्नुपरेको बबईका युवा झक्कु केसीले बताए। सल्यानको शारदा नगरपालिकाले ज्येष्ठ नागरिकका लागि चाडपर्व खर्च भनेर प्रतिव्यक्ति ३ हजार रुपैयाँ दिने निर्णय गरेर ११ लाख रुपैयाँ विनियोजन भएको थियो। त्यो रकम ज्येष्ठ नागरिकले पाएनन्, रकम कोरोना कोषमा गएर खर्च गरियो। शारदा नगरले लक्षित वर्गको १७ लाख रुपैयाँ रकमान्तर गरेको छ। स्थानीय तहमा कोरोनाको नाममा रकमान्तर गर्दै लक्षित वर्गलाई प्रत्यक्ष रूपमा प्रभाव पारिएको छ। 

कोरोनाको कारण देखाउँदै दाङका स्थानीय सरकारले लक्षित वर्गको बजेट रकमान्तर गरेर खर्च गर्दा त्यसको प्रत्यक्ष मार र प्रभाव लक्षित वर्गमा परेको छ। लक्षित वर्गको लागि भनेर गत आर्थिक वर्षमा विनियोजन गरेको बजेट स्थानीय सरकारले कोरोनाको कारण देखाउँदै लक्षित वर्गलाई खर्च गर्न नदिई अर्को क्षेत्रमा खर्च गरेका छन्। 

विपन्न र निम्न वर्गको आर्थिक, सामाजिक विकास गराउने उद्देश्यले स्थानीय सरकारले लक्षित वर्गअन्तर्गत बजेट विनियोजन गर्दै आएका छन्। त्यस्ता बजेट सम्बन्धित क्षेत्रमा खर्च नगरेर गत वर्ष अन्य शीर्षकमा खर्च गरेको देखिएको छ। लक्षित वर्गको रकम स्थानान्तरण गरेर सवारीसाधन खरिद, बाटो, कल्भर्ट, कुवा, भवन निर्माणका साथै कोरोना कोषका नाममा खर्च गरिएको छ।

जिल्लामा लक्षित वर्गको झन्डै १ करोड १७ लाख रुपैयाँ रकमान्तर गरेर लक्षित वर्गको पैसा स्थानीय तहले आफूखुसी खर्च गरेका छन्। लक्षित वर्गअन्तर्गतको उक्त बजेट रकमान्तर गरेर अर्कै शीर्षकमा खर्च गरिएको देखिएको छ। यो बजेटबाट बाटो, कल्भर्ट, शौचालय निर्माण गरिएको छ। तुलसीपुर उपमहानगरपालिकाले लक्षित वर्गको ८० लाख रुपैयाँ फरक रूपमा खर्च गरेको छ। यसमा ४० लाख पूर्वाधार विकास र ४० लाख कोरोना विशेष कोषको नाममा लक्षित वर्गको रकम खर्च गरिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं १२ का स्थानीय काशीराम नेपालीले लक्षित वर्गको पैसाले सीपमूलक तालिम सञ्चालन गर्ने र स्वरोजगार बनाउन सीप सिकाउने उद्देश्य रहेको भए पनि रकम प्रयोग गर्न नपाउँदा सबैलाई दुःखी बनाएको बताए। युवा तथा महिलालाई आर्थिक रूपमा सक्षम बनाउन तालिम गरेर स्वरोजगार बनाउने योजना थियो। तर, कोरोनाको कारण देखाउँदै विनियोजित बजेट बाटोमा खर्च गरिएको छ। 

तुलसीपुर उपमहानगरपालिका–११ ले लक्षित वर्ग महिला, आदिवासी जनजाति, दलित बालबालिका, अपांगता भएका व्यक्तिको क्षेत्रमा विनियोजन गरेको ४ लाख ५० हजार रुपैयाँ रकमान्तर गर्दै फरक शीर्षकमा खर्च गरेको छ। तुलसीपुर उपमहानगरपालिकाका नगरउपप्रमुख माया शर्मा आचार्यले लक्षित वर्गको लागि बजेट छुट्ट्याए पनि गत वर्ष रकमान्तर गरेर अरू क्षेत्रमा खर्च गरिएको स्वीकार गरिन्। ‘कोरोनाका कारण लक्षित वर्गको गतिविधि गर्न सकेनौं, त्यसैले अरू शीर्षकमा रकमान्तर गरिएको हो,’ उनले भनिन्, ‘रकमान्तर गरिएको पैसा पूर्वाधार र कोरोनामा खर्च गरिएको छ।’ उनले पूर्वाधारमा लगाइएको लक्षित वर्गको पैसाले लक्षित वर्गलाई पनि फाइदा गर्ने तर्क गरिन्। उनले अब यस्तो अवस्था नआउनेसमेत बताइन्। उनले लक्षित वर्गको रकम भेला, गोष्ठी, तालिममा खर्च गर्ने गरिरहेको र त्यो कोरोनाका कारण गर्न नपाइने भएकाले रकमान्तर गर्नुपरेकोे बताइन्।  कोरोना कारण देखाएर प्रत्यक्ष रूपमा लक्षित वर्गलाई स्थानीय सरकारले प्रभावित बनाइरहेको अपांगतासमेत भएका स्थानीय विवेक खड्काले बताए। बबई गाउँपालिका दाङले लक्षित वर्गअन्तर्गतको १३ लाख रुपैयाँ रकमान्तर गरेर कोरोनामा खर्च गरेको छ। 

लक्षित वर्गको सीपमूलक तालिम र सामाजिक क्षमता विकासका लागि भनेर विनियोजन गरिएको ७ लाख २० हजार, अपांगता भएका नागरिकको क्षमता विकास लागि विनियोजन गरिएको ३ लाख रुपैयाँ, युवाको खेलकुदका लागि विनियोजन गरिएको २ लाख ८० हजार रकमान्तर गरेर विपद्मा खर्च गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माले लक्षित वर्गअन्तर्गत सशक्तीकरण, सीपमूलक र क्षमता विकासका लागि विनियोजन गरेको बजेट कोरोनामा रकमान्तर भएको बताइन्। ‘पहिले काम गर्न सकिएन, पछि निर्देशन नै त्यस्तै भएपछि रकमान्तर गरिएको हो’, उनले भनिन्, ‘सबै पैसा कोरोनामा खर्च गरेका छौ।’ लक्षित वर्गको रकम कोरोनामा खर्च हँुदा त्यो समुदाय पूर्णरूपमा प्रभावित भएको छ। प्राय लक्षित वर्गको सबै रकम विपद्मा खर्च भएको छ।  युवा समिति दाङका अध्यक्ष सुरेश रावतले स्थानीय तहहरूलाई युवामैत्री बनाउने नीति हुँदा हुँदै युवाको बजेट अर्को शीर्षकमा खर्च गरिनु गलत भएको बताए। दाङका स्थानीय पालिकाले विभिन्न कारण देखाउँदै लक्षित वर्गका लागि विनियोजन गरेको बजेट फरक शीर्षकमा रकमान्तर गरी खर्च गरिएको छ। ज्येष्ठ नागरिक समितिका अध्यक्ष खुमानन्द अधिकारीले तोकेको शीर्षकमा रकम लगाउन पाउनुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.