ओलम्पिकको तयारीमा व्यस्त कराते खेलाडी
काठमाडौं : कोरोना महामारीका कारण नेपाली खेलकुद क्षेत्र शून्य अवस्थामा छ। तर पनि करातेका दुई खेलाडीले आफ्नो खेल अभ्यास र तयारी जारी राखेका छन्। कोरोनाका कारण एक वर्ष पछि सरेको टोकियो ओलम्पिक २०२१ का लागि कराते खेलाडीले प्रशिक्षण सुरु गरेका हुन्।
‘कोरोना छ भनेर बसियो भने खेलाडीको फर्म गुम्ने निश्चित छ। कुनै न कुनै रूपले पहल गर्नुपर्छ भन्ने हिसाबले हामीले खेलाडी र प्रशिक्षक मिलेर आफैं तयारी सुरु गरेका हौं,’ कराते प्रशिक्षक दीपक श्रेष्ठले भने।
टोकियो ओलम्पिकलाई लक्षित गरी दीपकले नै दुई खेलाडी अनु अधिकारी र नवीन रसाइलीलाई प्रशिक्षण र तयारी गराएका छन्। खेलाडीले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) सकिएपछि तयारी सुरु गरेका थिए। पछि कोरोना सङ्क्रमण बढेपछि तयारी रोकिएको थियो। व्यक्तिगत स्वास्थ्य र सुरक्षाका सबै प्रक्रिया अपनाएर असोज पहिलो सातादेखि नै तयारी सुरु गरिएको दीपकले बताए।
‘खासगरी ओलम्पिकका लागि तयारी ढिला भइसकेको छ। सम्बन्धित संघले पहल गर्नुपर्ने हो तर संघहरू कोरोनाको बहानामा कानमा तेल हालेर बसेका छन्। खेलाडीको लय कायम राख्न प्रशिक्षण जारी राख्नुको विकल्प थिएन। तयारी सुरु गरेपछि खेलाडीको स्टामिनामा धेरै परिवर्तन आएको छ’, दीपक भन्छन्।
ओलम्पिक तयारीका लागि अहिले अनु र नवीनले ललितपुरको सातदोबाटोस्थित कराते एकेडेमीको हलमा दैनिक दुई घण्टा तयारी गरिरहेका छन्। यी दुई खेलाडीसँग भिड्ने साथीका रूपमा स्वीकार राई र विपिन सिंहलाई राखिएको छ। अनु र नवीन दुवै १३औं सागका स्वर्ण विजेता हुन्। दसैं र तिहारमा केही दिन रोकेर तयारी पुनः सुचारु गरिएको पनि प्रशिक्षक दीपकले बताए।
एक वर्ष पछि सरेको टोकियो ओलम्पिक सन् २०२१ को जुजाई २३ देखि अगस्ट ८ सम्म हुनेछ। नेपालले ओलम्पिकमा यसअघि नै तय गरेका खेलाडी सहभागी गराउने भएको छ। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले टोकियो ओलम्पिकमा यसअघि २०२० का लागि सर्ट लिस्टमा परेका र वाइल्ड कार्डका लागि सिफारिस गरिएका खेलाडीलाई नै पठाउने निर्णय गरिसकेको छ।
एनओसीले वाइल्ड कार्डका लागि सात खेलका १२ जना खेलाडीको नाम सिफारिस गरेको थियो। नेपालबाट पौडीमा महिलातर्फ गौरिका सिंह र पुरुषमा एलेक्स साह, एथलेटिक्समा गोपीचन्द्र पार्कीको ओलम्पिक यात्रा पक्का भइसकेको छ। वाइल्ड कार्डका लागि सिफारिस गरिएका अन्य खेलाडीमा करातेका अनु अधिकारी र नवीन रसाइलीसँगै आर्चरीमा ज्ञानु अवाले र तिलक पुनमगर, तेक्वान्दोमा वीरबहादुर महरा, सुटिङबाट सुस्मिता नेपाल र कल्पना परियार, भारोत्तोलनमा कमला श्रेष्ठ र सञ्जु चौधरी, जुडोमा इन्द्रबहादुर श्रेष्ठ र सोनिया भट्ट तथा बक्सिङमा मीनु गुरुङ छन्।