इन्जिनियरसहित चार जनाविरुद्ध मुद्दा
काठमाडौं : तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर विकास कुमार श्रेष्ठसहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा नेपाल सरकारलाई हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायरमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले जिल्ला खेलकुद विकास समिति, सप्तरीका तत्कालीन उपाध्यक्ष धिरेन्द्र वर्मा र प्रशासकीय अधिकृत महेन्द्र प्रसाद यादव,फुटबल खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष बुद्धिलाल यादवलाई प्रतिवादी बनाएको छ।
शम्भुनाथ नगरपालिका वडा नम्बर १ अन्तर्गत पर्ने खाँडो खोलामा खेलकुद मन्त्रालयबाट खेलकुद फिल्ड मर्मतसम्भारका लागि आएको बजेट कुनै काम नगरी उपभोक्ता समिति र प्राविधिक कर्मचारीले फर्जी बिल भरपाई पेश गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो।
इन्जिनियर श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति, सप्तरीका तत्कालीन उपाध्यक्ष वर्मा, तत्कालीन प्रशासकीय अधिकृत यादव र फुटबल खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष यादवसमेतको मिलोमतो र संलग्नतामा २ लाख ७५ हजार बराबरको रकम बढी भुक्तानी लिनेरदिने गरी नेपाल सरकारलाई हानी र आफूलाई लाभ हुने कार्य गरेको हुँदा उनीविरुद्ध सजाय हुन मागदाबी लिइएको छ।