कोरोना कहरमा गर्भवती र ड्राइभिङ
गर्भावस्थामा यात्रा गर्नु उपयुक्त मानिँदैन। यात्राले गर्भका जोखिम बढाउने हुन्छ। विशेषगरी पाठेघरको मुखको लम्बाइ सानो वा अन्य समस्या रहेको, रक्तस्राव हुने गरेको, जम्ल्याहा गर्भ, मधुमेह उच्च रक्तचाप तथा अन्य समस्या भएको, सालनालमा समस्या रहेको, पहिलाको गर्भ खेर गएको वा गर्भवतीको उमेर २० वर्षभन्दा कम वा ३५ वर्ष बढी रहेको अवस्थामा यात्रा गर्नाले गर्भ खेर जाने सम्भावनासमेत रहने भएकाले यस अवस्थामा यात्रा नगर्न सुझाव दिने गरिन्छ। गृहिणीलाई यात्रा नगरी गर्भको नौ महिना बिताउन गाह्रो छ।
अझ कामकाजी तथा अध्ययनमा रहेका गर्भवतीलाई यात्रा नगरी बस्न सम्भव हुँदैन। गर्भवतीले सानो तथा छोटो दूरीको यात्रा गर्नु हुँदैन भन्ने छैन। लामो दूरी तथा चार घन्टाभन्दा लामो समय यात्रा गर्नु, खराब बाटोमा यात्रा गर्नुले गर्भलाई असर गर्न सक्ने हुन्छ। अहिले समुदायमा नै कोरोना फैलिसकेकाले यस अवस्थामा गर्भवतीले सार्वजनिक साधनमा यात्रा गर्नु पनि उपयुक्त नहोला। यस अवस्थामा निजी साधन राम्रो विकल्प हुने गरेको छ। आर्थिक हैसियत र बाटोको जामले गर्दा दुईपांग्रे (स्कुटर) अधिकांश महिलाको रोजाइमा पर्ने गरेको छ।
गर्भवतीले स्कुटर चलाउनुपर्दा आफूले प्रायः हिँडिरहने तथा राम्रो अवस्थामा रहेको सडकलाई रोज्नुपर्छ।
महिलालाई अफिस तथा बजार जान अनि बाबुनानीलाई स्कुल पु¥याउन साह्रै सजिलो बनाएको धेरैको अनुभव रहेको छ। स्कुटरले रिक्साको पैसा मात्र नबचाएर समय पनि बचाउने गरेको अधिंकाश कामकाजी महिला बताउँछन्। त्यसैले आजको समयमा स्कुटर एउटा साधन मात्र होइन, आवश्यकता भइसकेको धेरैको बुझाइ छ। कुदाउन सजिलो, आकर्षक रङ र डिजाइन भएको, समय जोगाउने अनि पार्किङ गर्न पनि सजिलो रहेकाले धेरै गृहणी, कामकाजी महिला, विद्यार्थी, नर्सहरूले स्कुटर रोज्ने गरेको पाइन्छ। तर गर्भवती भएको अवस्थामा के गर्ने ? धेरैलाई जिज्ञासा हुन सक्छ। कसैलाई गर्भवती भएको अवस्थामा डरले स्कुटर नचलाएको हुन सक्छ भने कतिले डराइडराई कुदाएको पनि हुन सक्छ। गर्भवतीबाहेक धेरैले यसप्रति ध्यान नदिएको पनि हुन सक्छ। स्कुटर चलाउने महिला गर्भवती भएपछि धेरैले यसप्रति सजग भएको र ‘कुदाउन मिल्छ कि मिल्दैन ?’ जिज्ञासा राखेको पनि पाएको छु।
दुईपांग्रे साधन (स्कुटर, मोटरसाइकल) चारपांग्रेजस्तो अडिने नहुने हुन्छ। त्यसैले असन्तुलन हुने र लड्ने सम्भनवना बढी हुन्छ। त्यस्तै यस्ता साधनमा आराम कम हुने, दुर्घटनाको सम्भावना बढी र सुरक्षाका साधन (एयरब्याग) नहुने भएकाले सामान्यतः गर्भवती भएपछि स्कुटर नकुदाउनु नै राम्रो हुन्छ। तर सधैं व्यावहारिक नहुन सक्छ। जागिरका लागि होस् या अध्ययनका लागि होस्, सवारी साधन रोज्नैपर्ने हुन्छ। सबै स्थानका लागि सार्वजनिक साधनको रुट नमिल्न सक्छ। ट्याक्सी महँगो हुन्छ। त्यसैले विद्यार्थी तथा कामकाजी गर्भवतीलाई स्कुटर राम्रो विकल्प हुन सक्छ। स्कुटर आफैंले कुदाउने हुँदा खाल्टाखुल्टी जोगाउँदै विस्तारै कुदाउँदा अन्य साधनभन्दा कम जोखिमपूर्ण पनि हुन सक्छ।
हुन त गर्भवती सबैले दुईपांग्रे साधन कुदाउनै हुँदैन भन्ने छैन तर यसले गर्भलाई जोखिम थपिन सक्छ। विशेषगरी पहिलो तीन महिना र उच्च जोखिममा रहेको गर्भवतीका लागि स्कुटर चलाउनु धेरै जोखिमपूर्ण हुन सक्छ। विशेषगरी पटकपटक गर्भपतन भएका, सालनाल तल रहेको (लो लाइन प्लासेन्टा), उच्च रक्तचाप तथा जोखिमपूर्ण गर्भ रहेकोे अवस्थामा गर्भवतीले कुनै सवारी साधन कुदाउने मात्र होइन जोखिमपूर्ण वा लामो यात्रा नगरेको राम्रो हुन्छ। पहिलो तीन महिना खानामा रुचि नहुनु, बान्ता हुने समस्या रहेको हुन्छ। यस अवस्थामा गर्भको इन्पलान्टेसन भएको धेरै समय नभइसकेका कारणले गर्भ बढी जोखिममा हुन्छ। त्यसैले पहिलो तीन महिना धेरै ड्राइभिङ गर्नु वा लामो यात्रा गर्नुले गर्भ तुहिने खतरा रहन्छ। त्यस्तै अन्तिम तीन महिनामा चाँडै थाक्ने, पेट ठूलो हुने समस्या हुन्छ। यस अवस्थामा पनि धेरै ड्राइभिङ गर्नु वा लामो यात्रा गर्नुले गर्भको अवधि नपुग्दै व्यथा सुरु हुन सक्छ। गर्भावस्थामा यात्रा गर्नु राम्रो होइन तर गर्नैपरे १४ देखि २८ हप्ताको समय केही सुरक्षित मान्न सकिन्छ।
दुर्घटना आफ्नो कारण वा गल्तीले मात्र हुँदैनन्, आफूले राम्ररी र होसियार भएर स्कुटर वा अन्य सवारी चलाउँदाचलाउँदै पनि दुर्घटना हुन सक्छ। दुर्घटना हुँदा दुईपांग्रेमा भएकाहरू नै बढी जोखिममा हुने भएकाले गर्भवतीले अनावश्यक रूपमा यात्रा गर्नु वा ड्राइभिङ गर्नु पक्कै राम्रो होइन। तर गर्भकै कारण घरमै बसिरहने, पूरै गर्भ अवधिभर बिदा व्यावहारिक नहुन सक्छ। यस अवस्थामा स्कुटर चलाउनुपर्दा अझ बढी सजग हुनु र अनावश्यक रूपमा नकुदाउनु पक्कै राम्रो हुन्छ। यस अवस्थामा जहिले पनि हेल्मेट, ज्याकेट (विन्डचिटर), मास्क लगाएर मात्र स्कुटर चलाउनुपर्छ, जसले गर्दा चिसो र धुलोबाट पनि सुरक्षित हुन सकिन्छ। गर्भवतीले तनावमा अनि व्यस्त सडकमा तीव्रगतिमा कहिल्यै कुनै सवारीका साधन कुदाउनु हुँदैन। आनन्दित भएर, विस्तारै अनि खुला सडकमा हल्का तर होसियार भएर धैर्यका साथ गर्भवतीले स्कुटर कुदाउन सके राम्रो हुन्छ। धेरै थकान भएका बेला, धेरै चिसो अनि कुहिरो लागेका बेला, पानी परिरहेको अवस्थामा गर्भवतीले स्कुटर चलाउनु वा स्कुटरमा यात्रा गर्नु राम्रो होइन। हाम्रो देशमा बाटोको समस्या उस्तै छ। धेरै खाल्डाखुल्डी भएका सडक नरोज्नु राम्रो हुन्छ। गर्भवतीले स्कुटर चलाउनुपर्दा आफूले प्रायः हिँडिरहने तथा राम्रो अवस्थामा रहेको सडकलाई रोज्नुपर्छ र सडक व्यस्त हुने समयबाहेक अन्य समय रोज्नुपर्छ।
गर्भावस्थामा आफैंमा एउटा जोखिम अवस्था हो। यस अवस्थामा स्कुटरलाई आवश्यकताका रूपमा मात्र लिनुपर्छ। नियमित परीक्षणका लागि तथा सानो दूरीको र नियमित कामकाजका लागि स्कुटरको प्रयोग उपयुक्त हुन सक्छ। तर यस अवस्थामा लामो दूरीको यात्रा गर्नु, तीव्रगतिमा वा जोखिमपूर्ण तरिकाले स्कुटर कुदाउनुले गर्भ र गर्भवती दुवैका लागि घातक हुन सक्छ भन्ने मुख्य कुरा बिर्सनु हुँदैन।