अग्लियो नेपालको शिर
काठमाडौं : विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। जसअनुसार सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर कायम भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबार भर्चुअल माध्यमबाट संयुक्त रूपमा नयाँ उचाइ घोषणा गरेका हुन्।
परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नै जनशक्ति, स्रोतसाधनबाट सगरमाथा मापन गर्दा नेपालको पहिचान र गौरवमा नयाँ उचाइ थपिएको बताए। यसमा कतैबाट प्रश्न नउठोस् भनेर संयुक्त घोषणा गर्ने समझदारीपत्रमा नेपाल र चीन दुवै देशले हस्ताक्षर गरेको मन्त्री ज्ञवालीको भनाइ थियो।
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा दुवै देशका राष्ट्रप्रमुखको संयुक्त वक्तव्यमा सगरमाथाको उचाइ घोषणा संयुक्त रूपमा गर्ने उल्लेख थियो। राष्ट्रपति विद्यादेवी भण्डारी र सीको संयुक्त वक्तव्य सन् २०१९ अक्टोबर १३ मा आएको थियो। वक्तव्यको बुँदा नम्बर ८ मा लेखिएको थियो, ‘सगरमाथा÷चोमोलङमा नेपाल र चीनको मित्रताको प्रतीक हो भन्ने मान्यतालाई स्वीकार गर्दै दुवै पक्षले जलवायु परिवर्तनलाई सम्बोधन गर्ने र वातावरण संरक्षणलगायत क्षेत्रमा सहयोग बढावा दिनेछन्। संयुक्त रूपमा सगरमाथा÷चोमोलङमाको उचाइ घोषणा गर्नेछ र वैज्ञानिक अनुसन्धान गर्नेछ।’ मन्त्री ज्ञवालीले जलवायु परिवर्तनका कारण हिमालको पर्यावरणीय रक्षा ठूलो चुनौती भएको उल्लेख गरेका थिए।
घोषणा कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्«पति भण्डारी र चिनियाँ विदेशमन्त्री यीले राष्ट्रपति सीको सन्देश पढेर सुनाएका थिए।
मन्त्रिपरिषद्को यही मंसिर १० गते बसेको बैठकले सगरमाथाको उचाइ घोषणा गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको थियो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिइन्।
मन्त्री अर्यालले १ सय ७० वर्षको इतिहासमा आफ्नै स्रोतसाधन र जनशक्ति प्रयोग गरी पहिलो पटक सगरमाथाको उचाइ मापन गरिएको जानकारी दिइन्। उनले सगरमाथाको उचाइसँगै विश्वमा नेपाल र नेपालीको उचाइ कीर्तिमान बढेको बताइन्। अरूले प्रत्येक पटक फरक उचाइ निकालेका कारण नेपाल आफैंले मापन गरेको उनको भनाइ थियो।
‘विभिन्न देशले प्रत्येक पटक फरकफरक उचाइ निकालेका छन्। यी सबै आशंका र दुविधाहरूको निवारण गर्न पनि जरुरी थियो। जुन हामीले सफलतापूर्वक सम्पन्न गरेका छौं। आज हामी गर्वका साथ घोषणा गर्न सक्षम भएका छौं, सगरमाथाको उचाइ ८८४८.८६ मिटर हो भनेर’, उनले भनिन्, ‘हाम्रो स्रोत, हाम्रो सम्पत्ति, हाम्रो गौरव, हाम्रो धरोहर अरूले हामीलाई चिनाइदिनुपर्ने लघुताभास र परनिर्भरताबाट मुक्त भएका छौं।’ नापी विभागले २०७२ सालमा भूकम्पपछि नगरकोट, चन्द्रकोट, फुल्चोकीलगायत काठमाडौं वरिपरिका डाँडालाई आधार मानेर सर्भे गर्दा ०.९१ मिटर करिब १.०० मिटर उचाइ बढेको पाएको थियो।
२०७२ सालमा भूकम्पले सगरमाथाको उचाइमा असर परेको भन्दै सर्भे अफ इन्डियाले नयाँ उचाइ नाप्ने घोषणा गरेको थियो। तब सरकारले सगरमाथाको उचाइ आफैं मापन गर्ने घोषणा गरेको थियो। त्यसका लागि विभिन्न राष्ट्रका नापनक्सासम्बन्धी वैज्ञानिकको अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गरिएको थियो। विभागका पूर्वउपमहानिर्देशक नीरज मानन्धर नेतृत्वको टोलीले सगरमाथा उचाइ मापन विधि प्रस्तुत गरेको थियो। कार्यशालाको सुझावअनुसार सगरमाथाको उचाइ जीएनएसएस प्रविधिमा नाप्ने निर्णय गरिएको थियो। विभागका तत्कालीन प्रमुख नापी अधिकृत सुशील डंगोलको संयोजकत्वमा सगरमाथा उचाइ मापन सचिवालय गठन गरिएको थियो।
सन् २०१८ फेब्रुअरीमा फिल्ड वर्क सुरु गरी उक्त काम डिसेम्बरमा सकिएको थियो। प्रमुख नापी अधिकृत खेमलाल गौतम र नापी अधिकृत रविन कार्कीले २०१९ मे २२ मा सगरमाथा शिखरमा पुगी १ घण्टा १६ मिनेट बसेर जीएनएसएस सर्वेक्षण गरेका थिए। त्यसपछि तथ्यांक प्रशोधनलगायत काम गत साउनअघि सकिसकेको थियो।
संसारकै अग्लो शिखरको उचाइ १ सय ७० वर्षअघि पहिलो पटक मापन गरिएको थियो। ब्रिटिस सर्भे अफ इन्डियाले सन् १८४९ मा ८,८४०.५० मिटर उचाइ निर्धारण गरेको थियो। तर, त्यतिबेला पुरानो प्रविधि प्रयोग गरिएको थियो। संसारको सबैभन्दा अग्लो चुली पिक फिफ्टिन (पिक १५)वा पन्ध्रौं चुली (हाल सगरमाथा) रहेको तथ्य बाहिर आएको थियो। सन् १९०४ मा ब्रिटिसहरूले नै सगरमाथाको उचाइ मापन गरेका थिए। इतिहासकार बाबुराम आचार्यले संसारको अग्लो शिखरको नाम सगरमाथा राखेका हुन्।
इस्ट इन्डिया कम्पनीका डाइरेक्टर जनरल इन्जिनियर जर्ज एभरेस्टले सन् १८४९ देखि १८५२ सम्म लगाएर सगरमाथाको उचाइ मापन गरे। उनले सगरमाथाको उचाइ ८,८४० मिटर भएको तथ्य पेस गरे। उनै जर्ज एभरेस्टका नाममा विश्वभर सगरमाथाको नाम माउन्ट एभरेस्ट रहन गएको हो। सर्भे अफ इन्डियाले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको थियो। पीएल गुलाटीले करिब दुई वर्ष लगाएर गरेको उक्त मापनमा उचाइ ८,८४८ मिटर आयो। अहिलेसम्म त्यसलाई आधिकारिक मानिँदै आएको थियो। यसलाई गुलाटी सर्भे पनि भनिन्छ।
चीनले सन् १९७५ मा मापन गर्दा ८,८४८.१३ मिटर उचाइ आएको थियो। यद्यपि, चीनले ८,८४८ मिटरलाई स्वीकार गर्दै आएको थियो। इटालीले सन् १९९२ मा मापन गर्दा ८,८४८.६५ मिटर उचाइ कायम भएको थियो। इटालीले सन् १९८७ र सन् २००४ मा मापन गरेको थियो। इटालीले दोस्रो सर्वोच्च शिखर केटूको पनि मापन गरेको थियो। अमेरिकाले सन् २००० मा ८,८५० मिटर उचाइ रहेको उल्लेख गरेको थियो। चीनको नेसनल ब्युरो अफ सर्भेइङ एन्ड म्यापिङले सन् २००५ मा ८,८४४.४३ मिटर उचाइ मापन गरेको थियो। सन् २०१० मा डेनमार्कले नापेको थियो।