शिक्षक हत्या प्रकरण : प्रहरीले अझै भेटेन ‘हत्यारा’
विराटनगर : मोरङको मिक्लाजुङमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले सुराकीको आरोपमा हत्या गरेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन्।
मङलबार बिहान श्रेष्ठलाई अपहरण गर्दै आधा घण्टा परको जंगलमा पुर्याएर घाँटी रेटी हत्या गरेको अवस्थामा शव भेटिएको थियो ।
हत्या भएपछि प्रहरीले सक्रियताका साथ हत्यामा संलग्नको खोजी गरे पनि कोही पक्राउ गर्न नसकेको हो।
कुनै युद्ध घोषणा नगरे पनि सरकारले प्रतिबन्ध लगाएदेखि भूमिगत बनेर आफ्नो संगठन निर्माणमा लागेको विप्लव समूहले शिक्षकको हत्या गरेपछि प्रहरीले सो समूहविरुद्ध सर्च अप्रेशन नै सुरु गरेको जनाएको छ।
मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले भने, ‘शिक्षकको हत्या गरेपछि प्रहरीले खोजी तिव्र बनाउदै कारवाहीको तयारी गरेको छ।’
यस अघि राजनीतिक चरित्र देखाउदै आएकाले राजनीतिक शक्ति सरह नै मुद्दा चलाउदै आएको उनको भनाइ छ।
नीतिगत निर्णय अनुसार विप्लव समूहले शिक्षकको हत्या गरेको प्रहरीको ठहर छ। शिक्षकको विभस हत्या भएपछि प्रहरीले विप्लव समूहमाथि निगरानी बढाएको छ।
विप्लव समूहले आफ्नाविरुद्ध सुराकी गरेको, नेता तथा कार्यकर्ता पक्राउ गराउनतर्फ लागेको र पार्टीका सबै गतिविधि सुरक्षा निकायलाई जानकारी गराउन थालेको पाइएपछि यो अवस्था आएको दाबी गरेको छ।
वडा अध्यक्ष नरबहादुर राईका अनुसार घटनापछि स्थानीय घर बाहिर निस्कन पनि डराइरहेका छन्। यो घटनाले कसैको घरमा चुह्लो बल्न छोडेको उनको भनाइ छ।
अप्रत्यासित र अपत्यारिलो घटनाले आतंकित पारेपछि सबैले असुरक्षित महसुस गरिरहेको राईको भनाइ बताए ।
मोरङको विकट र दुर्गम गाउँ रहेको त्यहा विप्लव समूहको सैन्य गितिविधि तिव्र भएको र संगठन एवं संरचना विस्तार सहज रुपमा गरिरहेको सूचना आएपछि प्रहरीले विशेष सर्च अभियान चलाएर गत कात्तिक १२ गते दुईजना कार्यकर्तालाई पक्राउ गरेको थियो।
प्रहरीले चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतीक भनिने काशीनाथ घिमिरेलाई पक्राउ गरेको थियो । दुई जना पक्राउ गरिएको घटनामा श्रेष्ठले प्रहरीलाई सुकारी दिएको आरोप विप्लव समूहको छ।
विप्लव समूहले अपराधीक गतिविधि अपनाएकाले मोरङ प्रहरी सबै नाकामा निगरानी बढाएर कारवाहीको तयारी गरेको छ। ज्यान मुद्दामा केन्द्रित भएर प्रहरी अनुसन्धान जारी गरी विप्लव समूहको खोजी तिव्र बताएको मोरङ प्रहरीले जनाएको छ।
गाउँपालिका अध्यक्ष देवीप्रसाद अचार्यले गाउँमा हुने विभिन्न अपराधिक घटनाले सर्वसाधारण असुरक्षित बनिरहेका बताए। आचार्यका अनुसार सुरक्षाकर्मीको पहुँच पुग्न नसक्दा अपराधिक गिरोह चलाउने समूहलाई चलखेल गर्न सजिलो भएको र निहत्था शिक्षकको हत्यासम्मको घटना हुन पुगेको बताए ।
स्थानीय बासिन्दाका अनुसार विप्लव समूहका नाममा गत असारमा शिक्षक श्रेष्ठसँग १० हजार रुपैयाँ चन्दा माग गरिएको थियो। आफूसँग पैसा नभएको र पाचँ हजार रुपैयाँ मात्रै दिनसक्ने बताएपछि चन्दा माग गर्ने समूह पैसा लिन नआएको बुझिएको छ।
त्यसपछि केही नयाँ र शंकास्पद मान्छेले शिक्षक श्रेष्ठको निगरानी बढाउन थालेको अधारमा घटनाको अनुसन्धान प्रहरीले अघि बढाएको छ।
शिक्षक श्रेष्ठको हत्या भएपछि मोरङको मिक्लाजुङ र आसपासको क्षेत्रमा नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले सर्च अभियान जारी राखेर घटनामा संलग्नको खोजी तिब्र पारेको छ।
घटनामा संलग्नका बारेमा प्रहरीले केही सुराक भने फेला पारेको बताइएको छ। प्रमाण र धेरै कुरा खुलिसकेका कारण ढिलोचाँडो जघन्य अपराधमा संलग्नलाई पक्राउ गर्न सकिने प्रहरी प्रमुख खड्काले दाबी गरे।
घटनाले थप हिंसा बढाएर लैजानसक्ने विश्लेषण गर्दै सुरक्षा उपस्थिति बढाइएको छ। विप्लव समूहबाट बरामद भएका दस्तावेज र विभिन्न कागजपत्रको पनि सुरक्षा निकायले अध्ययन थालेका छन्। हत्यामा संलग्नलाई पक्राउ गरेपछि कर्तव्य ज्यान मुद्दा चलाइनेमा प्रहरी केन्द्रित भएको छ।
मिक्लाजुङ गाउँपालिका–१ बर्खे घर भएका स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय श्रेष्ठको अध्यापन गराउदै आएका थिए ।