के भएको थियो बीपी–माओ संवादमा ?
सर्वोच्च शिखर सगरमाथाको उचाइ कति हो भन्नेमा विवाद अन्त्य भएको छ। यही मंसिर २३ गते परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री याङ यी आआफ्ना देशका राष्ट्रपतिको सन्देश वाचन गर्दै सगरमाथाको उचाइ ८८४८.८६ मिटर रहेको घोषणा गरेका हुन्। सोही सहमतिअनुसार दुवै देशले संयुक्तरूपमा सगरमाथाको उचाइ घोषणा गरेका हुन्। खासगरी सन् १९९९ मा अमेरिकी सर्भेले सगरमाथाको उचाइ ८८५० मिटर देखाएपछि विवाद अगाडि आएको थियो। पछि चीनले सन् २००५ मा पनि सगरमाथाको उचाइ मापन गरी सगरमाथाको उचाइ ८८४४.४३ मिटर देखाएको थियो। नेपालले भने ८८४८ मिटरलाई नै सगरमाथाको उचाइ मान्दै आएको थियो। सगरमाथाको उचाइ सम्बन्धमा नेपालले हिउँको सतह र चीनले चट्टानलाई आधार मान्नुपर्ने अडान राख्दै आएका थिए।
सुरुवाती सर्भेक्षण
सगरमाथाको उचाइ सन् १८४९ देखि नाप्न थालिएको हो। सन् १८५२ मा सर जर्ज एभरेस्ट, भारतका राधानाथ सिक्दर र नेपालका तेजवीर बुढाथोकीको अगुवाइमा भएको सर्भेक्षणले सगरमाथाको उचाइ ८८४०.०७ मिटर देखाएको थियो। सन् १९०७ मा सर बुराडले गरेको सर्भेले सगरमाथाको उचाइ ८८८३.३६ मिटर, सन् १९२२ मा ग्राफ हन्टरको सर्भेले ८८६३.८५ मिटर देखाएको थियो। पछि सन् १९५४ मा सर्भे अफ इन्डियाका बीएल गुलाटीको नेतृत्वमा भएको सर्भेले भने सगरमाथाको उचाइ ८८४८ मिटर देखिन आएको थियो।
नामाकरण
सन् १८५२ मा विश्वको सर्वोच्च शिखरको घोषणासँगै सगरमाथाको चर्चामा आएको थियो। सन् १८६५ मा ब्रिटिसहरूले रोयल ज्योग्राफिकल सोसाइटीका पूर्वनिर्देशक जर्ज एभरेस्टको नामबाट सगरमाथाको नाम ‘माउन्ट एभरेस्ट’ राखेका थिए। त्यतिबेला यस चुलीको नेपाली नाम ‘सगरमाथा’ हो भन्ने धेरै कमलाई थाहा थियो। सगरमाथालाई तिब्बतमा ‘चोमोलुङमा’ र चिनियाँ भाषामा ‘झोमोलोङमा’ भनिन्थ्यो। पछि इतिहासशिरोमणि बाबुराम आचार्यले यस शिखरको नेपाली नाम ‘सगरमाथा’ भएको तथ्य पुष्टि गरेका थिए। सो तथ्य आचार्यले १९९५ सालको शारदा पत्रिकामा सार्वजनिक गरेका थिए। श्रीकृष्ण आचार्यका अनुसार बाबुराम आचार्यले सगरमाथाको नाम आफैंले नराखी प्रचलित नेपाली नामलाई प्रकाशमा ल्याएका थिए। मदनमणि दीक्षितका अनुसार पाँच सय वर्षअघि पाटनका विद्वान् श्रीमन्नीकण्ठको ‘नीलकण्ठ’ संस्करणमा सगरमाथाको नाम ‘नौबन्धन’ उल्लेख थियो।
सगरमाथा विवाद
२०१६ सालमा प्रधानमन्त्री बीपी कोइरालाको चीन भ्रमणका बेला नेपाल–चीनबीच सीमा सम्झौता हुँदा सगरमाथासम्बन्धी विवाद सतहमा आएको थियो। सीमांकनमा चीनले नेपालको परम्परागत सीमारेखालाई मान्यता दिने भनेको थियो। परम्परागत सीमारेखामा आधारमा सगरमाथा नेपालको सरहदभित्र पथ्र्याे। त्यसैले प्रधानमन्त्री कोइरालाले चीन जानुअघि इतिहासशिरोमणि बाबुराम आचार्यसँग रहेको पुरानो हाते नक्सा सँगै लिएर गएका थिए, जुन नक्सामा सगरमाथा नेपालभित्र रहेको थियो। वार्तामा प्रधानमन्त्री कोइरालाले सोही नक्सा पेस गरेका थिए। तर प्रधानमन्त्री कोइरालाको चीन भ्रमणका बेला सगरमाथा विवाद टुंगोमा पुग्न सकेन।
भावी दिनमा नेपाल र चीनबीच सगरमाथाको फोहोर व्यवस्थापन र आरोहणलाई व्यवस्थापनमा सहकार्य आवश्यक छ। जलवायु परिवर्तनलगायतका जोखिम न्यूनीकरणका लागि सगरमाथा संरक्षणका लागि साझा कार्यक्रम अघि सारिनुपर्छ।
स्वदेश फर्केपछि प्रधानमन्त्री कोइरालाले ०१६ चैत २२ गते सगरमाथामाथि चीनले दाबी गरेको कुरा सार्वजनिक गरेका थिए। त्यसपछि सगरमाथामाथि चिनियाँ दाबीलाई लिएर नेपालमा विरोध भएको थियो। पूर्वप्रधानमन्त्री टंकप्रसाद आर्चायले सगरमाथामा चीनको दाबीलाई नेपालले मान्यता नदिने भनेका थिए। प्रधानमन्त्री कोइरालाले ०१७ वैशाख १७ गते सगरमाथा नेपालकै हो भनेर बोलेका थिए। अमेरिका भ्रमणमा रहेका राजा महेन्द्रले ०१७ वैशाख १५ गते होनुलुलुमा पत्रकार सम्मेलन गरी ‘परम्परागत सीमा रेखाअनुसार सगरमाथा नेपालमा रहेको’ बताएका थिए। ०१७ वैशाख १८ गते प्रधानमन्त्री कोइरालाले चीनले सद्भावनास्वरूप आफ्नो नक्सा त्याग्दै नेपालद्वारा पेस गरिएको नक्सा स्वीकारेको जानकारी दिएका थिए।
बीपी–माओ संवाद
प्रधानमन्त्री बीपी कोइरालाको चीन भ्रमणका बेला अध्यक्ष माओ–त्से तुङसँग वार्ता भएको थियो। वार्ताका क्रममा माओले भारतसँग असजिलो अवस्था रहेको भन्दै आफूहरूले के नेपालमाथि आक्रमण गरेका छौं र ? भनेर कुराकानी सुरु गरेका थिए। आफूहरूलाई नेपालको एक इन्च जमिन नचाहेको बताउँदै अध्यक्ष माओले सीमा सम्झौता गरेर के हामी सीमास्तम्भ खडा गर्न सक्छौं भनी प्रधानमन्त्री कोइरालालाई प्रश्न गरेका थिए। प्रतिउत्तरमा प्रधानमन्त्री कोइरालाले सक्छौं, यस विषयमा प्रधानमन्त्री चाउ एन–लाईसँग पनि छलफल भएको छ भनेर जवाफ दिएका थिए। त्यसपछि प्रधानमन्त्री कोइरालाले अर्को भावनात्मक या भावुकताको विषय छ, हामी त्यसलाई ‘सगरमाथा’ भन्छौं, पश्चिमाले ‘एभरेस्ट’ भन्छन, तपाईंहरू ‘चोमोलुङमा’ भन्नुहुन्छ र त्यो ठाउँ सधैं नै हाम्रो सीमाभित्र रहिआएकोमा प्रधानमन्त्री चाउ, तपाईंहरूको सीमाभित्र थियो भन्नुहुन्छ भन्दै सगरमाथाको प्रसंग उप्काएका थिए। प्रतिउत्तरमा माओले त्यस विषयमा तपाईंहरूले असजिलो मान्नु पर्दैन भनेर जवाफ दिएका थिए। त्यसपछि प्रधानमन्त्री कोइरालाले तर यो हाम्रा लागि भावनात्मक विषय छ भनेका थिए। माओले त्यो समाधान हुनसक्छ, दुई पक्षबीच आधा–आधा गर्न सकिन्छ, दक्षिणपट्टिको मोहडा तपाईंहरूको र उत्तरपट्टिको हाम्रो भनी जवाफ दिएका थिए। त्यसपछि बीपीले चुचुरोचाहिँ कसको भनी सोध्दा माओले ‘त्यो पनि दुवै पक्षको आधाआधा गर्दा हुन्न ? भनेर प्रतिप्रश्न गरेका थिए।
माओले अहिले समाधान हुन नसकेपछि पछि समाधान गर्ने गरी थाँती राख्न पनि सक्छौं, भावुकताका कारणले सबै तपाईंहरूलाई दिँदा हामीलाई दु:ख लाग्छ। भावुकताको कारणले सबै हामीलाई दिँदा तपाईंहरूलाई दु:ख लाग्नेछ। हामी पर्वतको चुचुरामा सीमा चिह्न राख्न सक्छौं। पर्वतको नयाँ नाम राख्न पनि सकिन्छ। हामी त्यसलाई एभरेस्ट नभनौं। त्यो त पश्चिमाले दिएको नाम हो, त्यसलाई ‘सगरमाथा’ र ‘चोमोलुङमा’ पनि नभनौं, बरु ‘चीन–नेपाल मैत्री पर्वत’ भनौं’ भनी जवाफ दिएका थिए। प्रधानमन्त्री बीपीले माओको भनाइमा सहमति जनाएका थिए (माओ त्से तुङ अन डिप्लोमेसी, १९९८)।
चाउको विशाल हृदय !
०१७ वैशाख १४ गते चिनियाँ प्रधानमन्त्री चाउ एन–लाई नेपाल भ्रमणमा आएका थिए। प्रधानमन्त्री चाउको नेपालमा भव्य स्वागत भएको थियो। प्रधानमन्त्री चाउकै भ्रमणका बेला सगरमाथा विवाद टुंगिएको थियो। ०१७ वैशाख १६ गते सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री चाउले सगरमाथा नेपालकै रहेको बताउँदै विशाल हृदय प्रदर्शन गरेका थिए। सगरमाथा विवादबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री चाउले भनेका थिए, ‘प्रधानमन्त्री कोइराला चीन आउँदा हामीले जुन नक्सा आदान–प्रदान गर्यौं, त्यसमा एउटै शिखर चिनियाँ नक्सामा चीन क्षेत्रभित्र ‘चोमोलुङमा’ को नामले र नेपालको नक्सामा नेपालभित्र ‘सगरमाथा’ को नामले विद्यमान पायौं।
प्रधानमन्त्री कोइरालाले त्यही ‘सगरमाथा’ नेपालको हो भनी भन्नुभयो, जुन कुराको छलफल उहाँले अध्यक्ष माओसँग पनि गर्नुभयो। हामीले त्यही नेपालद्वारा प्रस्तुत नक्सालाई मान्यता दिँदै आफ्नो नक्सालाई बदर गर्यौं। यसरी नेपालद्वारा प्रस्तुत नक्साअनुसार पनि ‘सगरमाथा’ को दक्षिण भाग नेपालको हो र उत्तरी भाग चीनको हो। हामीले ‘सगरमाथा’ माथि कहिल्यै दाबा गरेनौं। यसपालिका वार्तामा पनि हामीले मञ्जुर गर्यौं कि ‘सगरमाथा’ नेपालकै हो (देवकोटा, ०३६ : ४०८–४०९)।’ यसैगरी ०७७ मंसिर २३ गते ‘सगरमाथाको उचाइ घोषणा समारोह’ मा परराष्ट्रमन्त्री ज्ञवालीले सगरमाथा नेपालको कि चीनको भन्ने प्रश्नको जवाफमा सगरमाथा नेपाल र चीनको सीमामा पर्छ, सगरमाथाको टुप्पो भने नेपालमा पर्छ। सगरमाथाको दक्षिणमा नेपाल छ भने उत्तरमा चीन भनेर प्रस्ट पारेका थिए।
अमेरिकी सर्भे
विगतमा विभिन्न देशले सगरमाथाको उचाइ नापेका थिए। सन् १९७५ चाइनिज सर्भे टिमले गरेको सर्भेअनुसार सगरमाथाको उचाइ ८८४८.१३ मिटर थियो। त्यसैगरी पछिल्लोपटक अमेरिका, इटली र डेनमार्कले पनि सगरमाथाको सर्भे गरेका थिए। अमेरिकी सर्भे सन् १९९५ देखि बोस्टन म्युजियम अफ साइन्सका डाइरेक्टर ब्राडफोर्ड वासवर्नको अगुवाइमा भएको थियो। उक्त अमेरिकी प्रोजेक्टमा सीमाविद् बुद्धिनारायण श्रेष्ठले काम गरेका थिए। श्रेष्ठका अनुसार वासवर्नले १९९५ मेमा पठाएका चार सेट जीपीएस रिसिभरसहित श्रेष्ठ र पउल डेभिड साङबोचे, थाङबोचेमा गएर डाटा क्याप्चर गरेका थिए। सन् १९९६ मा श्रेष्ठको टोलीले खुम्बु, फेरिचे, लुक्ला, राउजे, अपर लाउजे गएर ती यन्त्रद्वारा तथ्यांक संकलन गरेको थियो। संकलित क्रुड डाटा श्रेष्ठले अमेरिका पठाएपछि बासवर्नले सगरमाथाको टुप्पोमा जीपीएस यन्त्र राख्न सुझाएका थिए। पछि सगरमाथा आरोहणका लागि अमेरिकी आरोही पेटे यथान्सलाई बुद्धिनारायण श्रेष्ठले दुई सेट यन्त्र दिएपछि पेटेले ती यन्त्र १९९९ मे ५ का दिन सगरमाथाको चुचुरो र साउथ कोलमा राखेका थिए। यसरी संकलन गरिएको तथ्यांकका आधारमा अमेरिकाले सन् १९९९ नोभेम्बर १२ मा सगरमाथाको उचाइ ८८५० मिटर रहेको घोषणा गरेको थियो (जंगे–बुद्धे, २०७३:१८१–१८३)।
नेपाली सर्भे
०७२ सालको भूकम्पपछि नेपाल सरकारले आफ्नै खर्च र जनशक्ति प्रयोग गरी सगरमाथाको उचाइ मापन गरेको थियो। नापी विभागद्वारा गठित १२ सदस्यीय टोलीले स्याटेलाइटको सहयोगमा जीएनएस सर्भे विधिबाट सगरमाथाको उचाइ मापन गरेको हो। टोलीले सिरहामा डाटा स्टेसन खडा गरी सगरमाथाको चुचुरो देखिने १२ स्थानबाट त्रिकोणमितीय आधारमा मापन गरेको थियो। सोही समयमा चीनले पनि सगरमाथाको सर्भे गरेको थियो। दुवै पक्षीय मापनमा एउटै परिणाम आएको थियो।
अन्त्यमा,
संयुक्तरूपमा सगरमाथाको उचाइ घोषणा गर्दै नेपाल र चीनको आपसी मैत्री सगरमाथा झैं अग्लिएको छ। दुवै छिमेकीले आपसी भाइचाराको असल उदाहरणका रूपमा आफूलाई प्रस्तुत गरेका छन्। भावी दिनमा नेपाल र चीनबीच सगरमाथाको फोहोर व्यवस्थापन र आरोहणलाई व्यवस्थापनमा सहकार्य आवश्यक छ। जलवायु परिवर्तनलगायतका जोखिम न्यूनीकरणका लागि सगरमाथा संरक्षणका लागि साझा कार्यक्रम अघि सारिनुपर्छ।