कम्युनिस्ट सरकार कोरोनाभन्दा पनि खतरनाक : विमलेन्द्र

कम्युनिस्ट सरकार कोरोनाभन्दा पनि खतरनाक : विमलेन्द्र

भक्तपुर : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकार सबै दृष्टिले असफल भइसकेको दावी गरेका छन् ।

नेपाली कांग्रेसको घोषित कार्यक्रमअनुसार सोमबार भक्तपुरमा भएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली सरकारले कुनै पनि क्षेत्रमा देश र जनताको हितमा काम गर्न नसकेको स्पष्ट पारे ।उनले सरकार कोरोनाभन्दा पनि खतरनाक भएको बताए। 

नेता निधिले कांग्रेसले आधिकारिक रुपमै सरकार असफल भएको निष्कर्ष निकालेको र प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा समेत पार्टीको उक्त निष्कर्ष सुनाएको जानकारी दिए ।

ओली सरकार असफल भएको पुष्टि गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको १९ पन्ने प्रस्ताव नै पर्याप्त रहेको उनको भनाइ थियो ।

‘नेपालीमा एउटा उखान छ, तस्बिर आफै बोल्छ’, नेता निधिले भने, ‘ओली नेतृत्वको कम्युनिष्ट सरकार असफल भइसकेको पुष्टि गर्न उनकै समकक्षी अध्यक्ष प्रचण्डले पेस गरेको १९ पन्ने प्रस्ताव नै पर्याप्त छ । त्यसले पुष्टि गर्दैन ?’ उनले ओली सरकारले बद्नामीको शिखर नै चढेको समेत ठोकुवा गरे । जसले गर्दा उनलाई भेट्ने अरु नेताहरुको समेत बद्नाम हुने गरेको उनको भनाइ थियो ।

‘ओली सरकारको बद्नाम यति बढिसक्यो कि उनलाई भेट्ने अरु नेताहरुको पनि बद्नाम हुन थालिसक्यो’, नेता निधिले भने, ‘उनलाई भेट्दा हाम्रा सभापति शेरबहादुर देउवाको समेत बद्नाम हुने गरेको छ ।’

उनले सरकार असफल भए पनि सरकारविरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव नल्याउने स्पष्ट पारे । पाँच वर्ष चलाउँछु भन्ने ओली सरकार चलाएको तीन वर्षमै असफल हुँदा पनि सबै आफू हुँ भन्ने अधिनायकवादी सोचले अघि बढेको नेता निधिको भनाइ थियो ।

उनले ओली सरकारलाई संघीयताविरोधी, गणतन्त्रविरोधी, संसदीय व्यवस्थाविरोधी र समावेशिताको विरोधी भएको आरोप लगाए । ओली सरकारले देशभरका स्थानीय तहलाई संविधानले निर्दिष्ट गरेका अधिकारसमेत नदिएको उनको भनाइ थियो ।

‘ओली सरकारले स्थानीय तहलाई संविधानले निर्दिष्ट गरेका अधिकारसमेत दिएन’, पूर्वगृहमन्त्रीसमेत रहेका निधिले भने, ‘हुँदाहुँदा मन्त्रालयमा भएका अधिकारसमेत आफूमा केन्द्रित गरियो ।’

ओलीको कम्युनिष्ट सरकारको पालामा भ्रष्टाचारमात्रै बढेको उनको जिकिर थियो । कसैले देखिने गरी भ्रष्टाचार गर्दा पनि प्रधानमन्त्री ओली आफै अघि सरेर बचाउँदै आएको भन्दै कांग्रेस नेता निधिले प्रश्न गरे, ‘के प्रधानमन्त्री  आफै सर्वोचच अदालत हो ? अख्तियार हो ? सीआईबी हो ? सर्तकर्ता केन्द्र हो ? नभए आरोप पुष्टि नभई आफै बचाउँदै र निर्णय सुनाउँदै किन हिँड्छन् ?’
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय सीता गुरुङ र रमा पौडेलले ओली सरकार के हो र कस्तो छ भन्ने कुरा सत्तारुढ नेकपाकै अध्यक्षद्वयको पत्रयुद्धले छर्लंग हुने बताए ।

त्यस्तै नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, सचिव उद्धव सिलवाल, प्रदेश सांसद कृष्णलाल भँडेल, भक्तपुर क्षेत्र नं. १ र २ का सभापति क्रमशः जीवन खत्री र नारायणभक्त खायमली, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थलगायतले ओली सरकरको पालामा बेथितिको घैंटो भरिसकेको दावी गर्दै सरकारविरुद्ध जनता सडकमा आउनुको विकल्प नभएको धारणा राखे ।

भक्तपुरको सूर्यविनायक चोकमा विरोधसभा हुनुअघि सल्लाघारीबाट विरोध जुलुस प्रदर्शन गरिएको थियो । उक्त जुलुस भक्तपुर–काठमाडौं ६ लेन सडक हुँदै सूर्यविनायक चोकमा समापन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.