महामारी पनि नेकपालाई भ्रष्टाचार गर्ने अवसर : डा. महत
झापा : प्रधानमन्त्रीको गृह जिल्ला झापामा नेपाली कांग्रेसले विशाल विरोध प्रदर्शन गरेको छ । मोटरसाईकल र्यालीसहित सुरु भएको विरोध प्रदर्शनमा हजारौंको संख्यामा कांग्रेस कार्यकर्ता र शुभेच्छुकको सहभागिता थियो ।
विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस सहमहामन्त्री डा प्रकास शरण महतले कांग्रेसलाई बाघको संज्ञा दिँदै सरकारले सुतेको बाघलाई जिस्क्याउने काम गरेको टिप्पणी गरे । उनले भने, ‘कांग्रेस बाघ हो, सुतेको बाघलाई कम्युनिस्ट सरकारले उठाउने काम गरेको छ । बाघ ब्युँतिएपछि के गर्छ त्यो सरकारले थाहा पाइराखोस् ।’
अहिलेको सरकारले काम भन्दा गफ धेरै दिएर जनतालाई भ्रममा पारिरहेको पनि उनले आरोप लगाए । साथै उनले नेकपा नेतृत्वको सरकारलाई इतिहासकै भ्रष्ट सरकार भएको आरोप लगाए । ‘भ्रष्टाचार र अहिलेको सरकार पर्यायवाची हुन्’ उनले भने, ‘यतिसम्म कि अहिलेको सरकारले कोरोना महामारीलाई पनि भ्रष्टाचार गर्ने अवसरका रुपमा लिएको छ ।’
कांग्रेस नेतृ तथा पूर्वमन्त्री सरिता प्रसाईले नेकपालाई भ्रष्ट्राचार गर्न जनताले मत दिएका हुन् भन्दै प्रश्न गरिन् । उनले तनहुँ प्रसंग निकाल्दै ‘कांग्रेसको पालामा बनेको झापाको मेची पुल प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दा आफूहरु चुप लागेको उल्लेख गर्दै तनहुँमा नेता रामचन्द्र पौडेलमाथि सरकारले अधिनायकवादी चरित्र देखाएको दावी गरिन् ।
कांग्रेस केन्द्रीय सदस्य केशव बुढाथोकीले सरकारले संविधानलाई कागजको खोस्टा बनाउन खोजेको आरोप लगाए । कांग्रेस नेताहरु राम कट्टेल, भारतेन्द्रकुमार मल्लिक र जिल्ला पार्टी सभापति उद्घव थापा लगायतले सरकारको विरोध गरेका थिए ।
विरोधसभामा झापाका १५ वटै स्थानीय तहबाट कांग्रेसका कार्यकर्ताहरु सहभागी भएका थिए । झापाको सुरुङ्गाबाट सुरु भएको मोटरसाइकल र्याली विर्तामोडमा कोण सभामा परिणत भएको थियो ।