कांग्रेसबाट नागरिक अपेक्षा
अब राजनीतिक चिन्तन, सिद्धान्त र आदर्शबाट विचलित कांग्रेसलाई बचाउने जिम्मेवारी युवा र महिलाको काँधमा आएको छ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशनको व्यवस्थापन पक्षका बारेमा भन्दा पनि अबको नेतृत्वमा स्थापित हुने प्रतिस्पर्धामा उपल्लो तहले क्रियाशीलता देखाउन थालेको छ। अहिलेसम्म करिब दर्जनभन्दा अधिक संख्यामा यस दलका नेताहरू नेतृत्वमा पुग्न आफ्नो संगठन विस्तारमा लागिपरेका छन्। हालसम्म विगतका कमीकमजोरीको मूल्यांकन गर्दै आत्मसमीक्षाका साथै कार्यकर्तासामुन्ने प्रायश्चित गरेर भावी कार्यक्रमसहित प्रस्तुत हुने प्रयास अपवादका रूपमा पनि कसैबाट प्रतिबद्धता आउन सकेको छैन। यस अवस्थामा कांग्रेसको अहिलेको कमजोर अवस्थामा सुधार ल्याउन यस दलका नेताहरूको कार्यशैलीमा मौलिक परिवर्तन गरेर प्रजातन्त्रको पक्षपाती राजनीतिक दलको स्थितिलाई जनताले आत्मादेखि सम्मान गर्ने र कांग्रेसको कार्यकर्ता हुनुमा गर्व गर्ने अवस्था सृजना गर्नुपर्ने अनिवार्य आवश्यकता खट्किएको छ।
नेपाली राजनीतिको मियोका रूपमा २००७ सालदेखि गणतन्त्र कालसम्म कायम रहेको यस दलको प्रतिष्ठालाई पुनस्र्थापित गर्नुपर्ने अवस्था छ, तर सतहमा देखिएका नेतृत्वमा पुग्न उत्साहित भएका व्यक्तित्वहरूको प्राथमिकता आत्मकेन्द्रित मात्र बनेको अवस्था छ। कांग्रेसको हालको अवस्थाबारेमा कांग्रेसका कार्यकर्ताको कित्तामा समावेश हुन पाउँदा गौरव मान्दै आएका एक बुद्धिजीवीले आफ्ना धारणा राख्ने क्रममा कांग्रेसको इतिहास स्मरण गरेर वर्तमान नेतृत्वको कडा आलोचना गरेका थिए।
२०१५ सालको आम निर्वाचनमा चार स्थानमा मात्र विजयी भएको कम्युनिस्ट दल कांग्रेसलाई प्रायः राप्रपाको स्थानमा पुर्याउन सफल भएको छ, यही शैलीले निरन्तरता प्राप्त गर्दै जाने हो भने अब यस दलको अवस्था २०१५ सालको कम्युनिस्टकै सरह हुने सन्त्रास देखिएको छ। कांग्रेसका कार्यकर्ता र यस दलको सिद्धान्तका समर्थक बुद्धिजीवी अब कांग्रेस होइन आफूलाई लोकतन्त्रवादीका हिसाबले प्रस्तुत गर्न थालेका छन्। कांग्रेस हुनुमा हिजोको जस्तो गर्व गर्न सक्ने अवस्था अब रहेन, हालको नेतृत्व तहमा रहनेबाट यस दललाई पुनस्र्थापित गराउन सक्ने अवस्थासमेत देखिएन, यो एक इमानदार कांग्रेसजनको चिन्तायुक्त अभिव्यक्ति थियो। यसरी कांग्रेसबाट लोकतन्त्रवादीमा केन्द्रित हुन पुग्नेको संख्या कांग्रेसका कार्यकर्ता र शुभचिन्तकमा वृद्धि हुँदै गएको छ।
कांग्रेसले आफ्नो लामो त्याग र बलिदान दिई प्रजातन्त्र र देशका लागि जीवन समर्पण गरेका दिवंगत आदरणीय नेतागणबाट धेरै कुरा सिक्नुपर्ने स्थिति छ। २०४६ सालदेखि हालका दिनसम्म आइपुग्दा यो दल धेरैपटक चुक्दै गएको छ। राजनीतिमा सबैभन्दा ठूलो आधार भनेको यसले अवलम्बन गरेको सिद्धान्त र आदर्श हो, यसलाई विस्मरण गर्दै अघि बढेको राजनीति दिशाविहीन बन्दछ। कांग्रेसको सिद्धान्त र आदर्श प्रजातन्त्र, राष्ट्रियता र समाजवाद हो। यी सिद्धान्तबाट विचलित यस दलले सिद्धान्तअनुकूल एजेन्डा तय गर्न र आम कार्यकर्ताको मनोबल उच्च राख्न सकेन। राजनीतिमा त्याग, सच्चरित्रता, इमानदारी, कुशल संगठन, सिद्धान्त, व्यवहारवादी र चमत्कारिक प्रतिभाले नेतृत्व गरेको हुनुपर्छ। सबै विशेषता एउटा व्यक्तिमा प्राप्त नहुन सक्छ तर यस्ता प्रतिभा र सीपयुक्त भएका नेता तथा कार्यकर्ता जस्तै गणेशमानजीको त्याग, गिरिजाबाबुको जस्तो संगठन, बीपीको जस्तो स्पष्ट दूरगामी सोचको सम्मान गर्दै दललाई सोहीअनुसार परिचालित गर्नुपर्छ।
२०१५ सालदेखि २०४८ सालसम्मको निर्वाचनका समयसम्म आइपुग्दा कांग्रेसका कार्यकर्ताको मनोबल उच्च थियो, तत्पश्चात् सिद्धान्तबाट विचलित बन्दै गएको कांग्रेसले कम्युनिस्टसँग सत्ता साझदारी गर्नेदेखि महापञ्चलाई आफ्नो नेता मान्दै उनीहरूकै नेतृत्वमा सरकारमा सहभागी हुँदै गयो। व्यक्तिकेन्द्रित र सत्ताप्रतिको मोहनै राजनीतिको आधार बन्दै गयो। द्वन्द्वका समयमा मारिएका, सम्पत्ति लुटिएका, अपांग बनाइएका, बस्तीबाट खेदिएका, बेपत्ता बनाइएका आफ्ना इमानदार र सिद्धान्तनिष्ठ कार्यकर्तालाई संरक्षण र न्याय प्रदान गर्न सकेन, चुनावी गठबन्धनका नाममा आफ्ना जनहरूको हत्या गर्नेलाई मत दिन र उनीहरूकै कार्यकर्ता बन्न बाध्य बनाइयो। यसबाट कार्यकर्ताको मनोबल हदैसम्म गिर्न पुग्यो र तिनै कार्यकर्ताका आधारमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था विद्यमान छ। यस परिस्थितिको जिम्मेवारी र जवाफदेहिता २०५२ सालदेखि हालसम्मका नेतृत्व तहमा रहनेले लिनुपर्छ।
संघीयताले देशलाई खण्डीकरण गर्ने, गणतन्त्रले राजाहरूको संख्या बढाउने, धर्म निरपेक्षताले विश्वमा बनिराखेको नेपालको पहिचान समाप्त पार्ने आलोचना भइरहेकाले परिवर्तनको उपादेयताबारेमा स्पष्ट पार्न सक्नुपर्छ।
अब राजनीतिक चिन्तन, सिद्धान्त र आदर्शबाट विचलित कांग्रेसलाई बचाउने जिम्मेवारी युवा पुस्ता र महिला कार्यकर्तामा देखिँदै छ। ५० प्रतिशतभन्दा बढी महिला भएको यस दलमा संख्यात्मक हिसाबले ३३ प्रतिशत अर्थात् ५६ जना महिला केन्द्रीय कार्यसमितिमा रहने छन्। यसमा अरू युवा पनि आफ्नो पुस्ता र भावी पुस्ताका साथै लोकतन्त्र बचाउन लाग्नुपर्छ। रचनात्मक सुझाव र सम्मानित तवरले दबाब दिन तत्पर रहनुपर्छ। यो महिला र युवाहरूको समूहले यतिखेर नेतृत्व हडप्न प्रतिस्पर्धा गरिराखेका वृद्ध नेताहरूलाई केही कार्यक्रम र एजेन्डामा साथ प्रस्तुत गराउन सक्नुपर्छ। देशका जल्दाबल्दा समस्या समाधानका लागि अबको कांग्रेसको ठोस नीति र सोच कस्तो हुने हो ? प्रस्ट गराउनुपर्छ।
दण्डहीनता र भ्रष्टाचार व्याप्त हुँदै गएकाले यसको समाधानका लागि नियन्त्रक निकायलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? भ्रष्टाचारको कसुरमा जोकोही सार्वजनिक पदाधिकारीलाई अनुसन्धान गर्न पाउने, भ्रष्टाचारमा समावेश भएका दुवै पक्षमाथि कारबाही हुने र प्रगतिशील कारबाहीको व्यवस्था गर्ने, दलभित्रको गुटबन्दी अन्त्य गर्ने, देशका लागि कृषि, उद्योग, पर्यटन, रोजगार सिर्जनालगायतका विषयमा दलको धारणा कस्तो हुने हो ? गलत कार्य गर्नेलाई संरक्षण नगर्ने र त्यसको प्रारम्भ आफ्नैबाट गर्ने, समाजवादको सिद्धान्तलाई आत्मसात गरी गरिब जनताको सहयोगी दलका रूपमा कांग्रेसलाई प्रस्तुत गर्न दृढ संकल्पित हुने, कम्युनिस्ट पार्टीले पनि आफैंलाई समाजवादीका हिसाबले प्रस्तुत गर्न खोजेको सन्दर्भमा व्यवहारमा समाजवादका आधारमा दललाई सञ्चालन गर्दा जनताको समर्थन प्राप्त हुनेछ।
अहिले धनिमानीको दलको हिसाबले समग्र दललाई र अभिजातीय वर्ग एवं कुलिन परिवारका रूपमा नेतृत्वपंक्तिले आफ्नो प्रभाव जनतामा पारिराखेको सन्दर्भमा यसबाट सम्पूर्ण जनता र विशेष गरी असहायहरूको दलका रूपमा कांग्रेसलाई स्थापित गराउन जरुरी छ। यसो भएमा कम्युनिस्ट सिद्धान्तमा राजनीति गर्नेका समर्थकहरू कांग्रेसतर्फ आकर्षित हुनेछन्। नेपाली जनताको ठूलो अंशले संघीयताले देशलाई खण्डीकरण गर्ने, गणतन्त्रले राजाहरूको संख्या बढाउने, धर्म निरपेक्षताले विश्वमा बनिराखेको नेपालको पहिचान समाप्त पार्ने आलोचना गरिराखेको वर्तमान सन्दर्भमा यी परिवर्तनको उपादेयताबारेमा स्पष्ट गराउन सक्नुपर्छ। ८९ प्रतिशत हिन्दु भएकोमा नेपाली जनताको स्वीकृति नलिई तिलस्मी प्रकारले लागू गरिएको धर्मनिरपेक्षताको स्थानमा धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रका पक्षमा दल उभिँदा जनताको विश्वास जित्न सफल हुनुका साथै यस व्यवस्थालाई जनमत संग्रहमार्फत जनताको अभिमत बुझी निर्णय लिँदा यथार्थमा यस लोकतान्त्रिक दलले आफ्नो भूमिका निर्वाह गरेको देखिनेछ।
सबै वर्गलाई प्रतिनिधित्व गराउने समावेशी सिद्धान्तलाई आत्मसात गर्नु जरुरी छ। दलभित्र फस्टाएको गलत प्रवृत्तिका कारण पार्टी अनुशासन प्रायः समाप्त भइराखेको अवस्थामा शुद्ध चरित्र भएका दलका लागि ठूलो योगदान दिएकाहरूलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ। यसका लागि निर्वाचनमा टिकट दिँदा जनताका बीचमा राम्रो प्रभाव पार्न सकेकालाई प्राथमिकतामा राख्ने, भ्रष्टाचारका आरोपितलाई दल र संसद् दुवैको जिम्मेवारी प्रदान नगर्ने, जिम्मेवारी प्रदान गर्दा यथाशक्य आफ्ना नजिकका नाताहरूलाई प्राथमिकतामा नराख्ने, निर्वाचनमा पराजित भएकालाई मनोनयन नगर्ने, बीपीले सोचेको भूमिसुधार कार्यक्रमका बारेमा स्पष्ट धारणा ल्याउने, थुप्रै उत्पादक जमिन गैरकृषकका हातमा रहेको र वास्तविक कृषकले जमिनको अभाव भोगिरहेको र कृषिउपजबाट दलालहरूले फाइदा लिई वास्तविक कृषक मर्कामा पारिराखेको अवस्थामा सुधार आउन जरुरी छ।
लामो समय लोकतन्त्रको गला अवरुद्ध गराउन खलनायकको भूमिकामा रहनेलाई र ठूला–ठूला व्यापारिक घरानाहरूलाई सहजै दलले महत्वपूर्ण भूमिकामा स्थापित गर्ने कार्यका साथै आजीवन दलमा समर्पित रहेकाहरूलाई आधारको अभावमा समाजमा खराब प्रभाव परिराखेका कुनै कालखण्डमा भ्रष्टाचारमा लिप्त भएकाहरूको सिफारिसमा कारबाही गर्ने संस्कार व्यक्तिगत पूर्वाग्रहका आधारमा गर्दै जानु लोकतान्त्रिक दललाई सुहाउने विषय होइनन्। यसमा सुधार गर्ने प्रतिबद्धता आउन जरुरी छ।
राजनीतिमा एजेन्डा, सिद्धान्त, आदर्श र सच्चरित्रता हुन जरुरी छ। संक्रमणकालीन न्याय प्रदान गर्न सक्दा आफ्ना कार्यकर्ता एवं नेताहरू सबैको मनोबल उच्च हुनेछ। लामो समयदेखि कांग्रेसको आधार इलाकाका रूपमा मधेस रहिआएकोमा वर्तमान समयमा यो क्षेत्रबाट हात धुनुपर्ने अवस्था सिर्जना भइराखेको छ। यसमा सुधार गर्ने कार्यक्रमसहित दल प्रस्तुत हुनुपर्छ। निजामती कर्मचारीलगायत सबै सार्वजनिक संयन्त्रमा अस्वाभाविक र अस्वीकार्य तवरले भइराखेको राजनीतीकरण अन्त्य गर्ने नीति तथा कार्यक्रम ल्याउन जरुरी छ।
यी हुन् दलभित्र शुद्धीकरण र समग्र देशको समृद्धिका लागि ल्याइने नीति, कार्यक्रम तथा आधारहरूका सूची, तर संस्कार र सस्कृति लामो समयदेखि विकृतिमय बन्दै गएको स्थितिमा एकैपटक आमूल परिवर्तनका लागि सिंगो दल तयार हुने सन्दर्भमा सन्देह रहन्छ। किनकि अपराधी, स्वार्थलोलुप झुन्डहरूको बाहुल्य कांग्रेसभित्र पनि अन्य दलसरह भइसकेको छ। यसलाई चरणबद्ध रूपमा सुधार गर्दै जानुपर्छ। बीपीले कल्पना गरेको प्रजातन्त्र, समाजवाद र राष्ट्रियतालाई आजको एक्काईसौं शताब्दीमा लागू गर्दा केही समयसापेक्ष सुधार आत्मसात गर्नुपर्छ। किनकि देशको भूराजनीति, उदारवाद, भूमण्डलीकरणसमेतलाई स्वीकार गर्दै नीतिहरू तैनाथ गर्नु जरुरी हुन्छ।
यी यस्ता विषय हुन् अबको नेतृत्वमा दाबी गरी कार्यकर्ताका बीच जानेले आफूलाई प्रस्ट पारी उभिन सक्नुपर्छ। प्रतिबद्धताअनुरूप दललाई परिचालन गरी समग्र कार्यकर्ता पंक्तिमा कांग्रेस हुनुको इज्जत र गौरवको अवस्था सृजना गर्न सफल हुन नसकेमा शीघ्र नेतृत्व परित्याग गरी महाधिवेशनसमक्ष सबै एजेन्डा राख्ने साहस गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो, तर आजका दिनसम्म यसरी प्रतिबद्धता व्यक्त गर्न सक्ने कांग्रेसी नेतृत्व तहमा देखिएका छैनन्। अब पनि आफ्ना कमजोरी आत्मसात गरी सुधारका कार्यक्रममा नलागी साबिकअनुसार नै दललाई परिचालन गर्ने हो भने नेपाली जनताको धरोहर, लोकतन्त्रको संरक्षक कांग्रेसको योभन्दा पनि दुरवस्था आउने छ। त्यस समय पुनः कम्युनिस्टहरू मिलेकाले हामीले पराजय भोग्नुपरेको भन्नेजस्ता लज्जास्पद अभिव्यक्ति दिएर बस्नुको विकल्प रहने छैन। किनकि संसारबाट प्रायः पलायन भएको साम्यवाद लोकतन्त्रवादीकै कमजोरीका कारण सत्तामा पुगेको यथार्थ सबैलाई प्रस्ट छ। के यो पार्टीले अन्य दलहरू जस्तै गैरजिम्मेवार बन्न मिल्छ ? प्रजातन्त्रको सुदृढीकरणको अहं दायित्व कांग्रेसको काँधमा छ। सबै प्रकारका आन्दोलनमा यसै दलको निर्णायक भूमिका रहेको छ।
देशका प्रजातन्त्रवादीहरू कांग्रेस नेतृत्व पंक्तिसँग असन्तुष्टि जनाउँदै रूख चिह्नमा मतदान गरिराखेका छन्। कांग्रेसप्रतिको यो स्नेह र सम्मान व्यक्त गर्ने मतदाता समेट्ने हिसाबले क्रियाकलाप अघि बढ्नुपर्ने हो, तर सो हुन सकेको छैन। तसर्थ कांग्रेसका युवाहरूले यही आधारमा आफूलाई प्रस्तुत गर्न सक्ने, जनताका अगाडि पेस हुँदा तुलनात्मक रूपमा स्वीकार्य हुने व्यक्तिलाई सोहीअनुरूपको विश्वास गर्नलायक नेतृत्व पंक्ति नै खडा गरी यथासम्भव सर्वसम्मत उम्मेदवार तय गर्न सकारात्मक पहलकदमी र दबाब दिन जरुरी छ, अन्यथा लोकतन्त्र अब समाप्त हुनेछ र देश पनि असफल राष्ट्रमा परिणत हुने प्रायः निश्चित छ।