‘निजी क्षेत्र एक हुनुपर्छ’

‘निजी क्षेत्र एक हुनुपर्छ’

भक्तपुर : नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छाले सबै निजी क्षेत्र एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन्। निजी क्षेत्र विभाजित हुँदा सरकारले समेत खेल्ने ठाउँ पाइराखेको भन्दै उनले सबै निजी क्षेत्रलाई एक ढिक्का हुन आग्रह गरेका हुन्। 

महासंघको ५४औं साधारणसभाबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यका लागि भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष गोल्छाले उक्त कुरा बताएका हुन्। ‘सबै निजी क्षेत्रको एउटै ध्येय र आवाज हुनुपर्छ’, उनले भने, ‘केन्द्रदेखि जिल्ला नगर संघसम्मले एउटै आवाज बोल्न सक्नुपर्छ। नत्र राज्यले फुटाएर र राज गरिरहन्छ।’ विज्ञहरूसँग बसेर महासंघको भिजन पेपर (ध्येयपत्र) बनाइरहेको उनले जानकारी दिए। अबको सय दिनमा उक्त भिजन पेपर तयार गरी सार्वजनिक गर्ने उनले सुनाए।

उक्त भिजन पेपरलाई सबै निजी क्षेत्रको सामूहिक र साझा बनाउन चेम्बर र निर्माण व्यवसायी महासंघसँग आफूले कुरा गरिरहेको अध्यक्ष गोल्छाले स्पष्ट पारे।

‘सबैको साझा भिजन पेपर बनाउन सक्यौं भने हाम्रो आवाज अझ सशक्त हुन्छ’, उनले थपे, ‘जसले गर्दा सरकारलाई हाम्रो आवाज सुन्न गम्भीर बनाउँछ।’ अध्यक्ष गोल्छाले महासंघ निर्वाचनको क्रममा छुट्टाछुट्टै प्यानल बनाएर अघि बढे पनि निर्वाचित कार्यसमिति निजी क्षेत्रको समस्या सम्बोधन गर्न एकमत रहेको स्पष्ट पारे।

विश्वव्यापी महामारीबाट सिर्जित समस्या समाधान गर्न सबै उद्योगी व्यवसायी एकजुट हुनुपर्नेमा उनले जोड दिए। कोभिड—१९ पीडित उद्योगी व्यवसायीलाई सरकारले मौद्रिक नीतिमार्फत सम्बोधन गर्न खोजे पनि ठूला उद्योगी व्यवसायीमात्रै लाभान्वित हुने देखिएको उनको भनाइ थियो।

‘तर, मौद्रिक नीतिले साना तथा मझौला उद्योगी व्यवसायीलाई राहत पुग्न सकेको छैन’, अध्यक्ष गोल्छाले भने, ‘महासंघको प्राथमिकता पनि साना तथा मझौला व्यवसायीलाई राहत उपलब्ध गराउनेतर्फ रहेको छ।’ कृषिलाई व्यावसायिक बनाउँदै साना तथा मझौला उद्योग व्यवसायमा लगानी बढाउन सकिए नेपालको आर्थिक वृद्धिदर दुई अंकमा पुर्‍याउन सकिने उनले जिकिर गरे। यसले नेपालमा तत्काल ३ देखि ४ लाख नयाँ रोजगारीसमेत सिर्जना हुने अध्यक्ष गोल्छाको दाबी थियो।

कार्यक्रममा वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै उद्योग व्यवसाय प्रवद्र्धन र रोजगारी अभिवृद्धि हुने स्पष्ट पारे। जिल्ला नगर उद्योग वाणिज्य संघतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले राज्यको द्वैध नीतिले उद्योग व्यवसाय गर्ने अवस्था जटिल रहेको सुनाए। उनले उपभोक्ता ऐन पुनर्लेखन गर्नसमेत माग गरे। वस्तुगत संघतर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठले लगानी सुरक्षित गर्न र उद्योग व्यवसाय प्रवद्र्धन गर्न महासंघको वर्तमान नेतृत्व प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघको तर्फबाट नवनिर्वाचित महासंघका पदाधिकारीलाई नेवारी परम्पराअनुसार टाउकोमा बेताली (सेतो कपडा) बेरेर अयला (रक्सी) र अन्डाको सगुन दिएर बधाईज्ञापन गरिएको थियो। भक्तपुरको बाराहीस्थित होटल हेरिटेजको वत्स मण्डला हलमा भएको कार्यक्रममा भक्तपुरमा हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई पनि नेवारी परम्पराअनुसार नै सगुन दिएर स्वागत गरिएको थियो।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ, पूर्वअध्यक्ष कृष्णप्रसाद ताम्राकार र वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले नवनिर्वाचित महासंघ पदाधिकारीलाई बधाई ज्ञापन गरेका थिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.