व्यावसायिक शिक्षामा रूपान्तरण
उत्पादन स्थलमै स्थानीय कच्चा उत्पादन सामग्रीको प्रयोगबाट गरिने शिक्षामा के हाम्रा परम्परागत शिक्षकहरू निपुण छन् ?
मानिसको शरीर पञ्चमहाभूत (माटो, हावा, पानी, आगो तथा आकाश) बाट बनेको हुन्छ, त्यसैगरी ब्रह्माण्ड अथवा पृथ्वी पनि यिनै पाँचवटा तत्वबाट बनेको हुन्छ। मानवीय संरचना तथा लौकिक संरचना एकै किसिमका भएकाले यिनीहरूमा निरन्तर चलिरहने शारीरिक तथा भौगर्भिक प्रक्रिया पनि मिल्दाजुल्दा नै हुन्छन्।
सांख्य दर्शनले व्याख्या गरेको प्रकृतिलाई शरीर अथवा पृथ्वी मान्ने हो भने दुवै जड शरीर तथा पृथ्वीको चैतन्य पुरुष नै उन्नत मोक्ष हुने भयो। प्रकृतिका स्वभावहरूको समुचित नियन्त्रणबाट मात्र सत्व, रजस तथा तमस गुणहरूबाट मुक्त पुरुष अथवा आत्मा अथवा मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने सांख्य दर्शनको शिक्षा रहेको छ। यही प्रक्रिया नै शिक्षा हो भनेर पूर्वीय दर्शनले भनेको छ। आफैंलाई अथवा आफ्नो अन्तरआत्मालाई चिन्ने प्रक्रिया नै पूर्वीय दर्शनको शिक्षा हो भने प्रकृतिको अध्ययन आधुनिक दर्शनले परिभाषित गर्ने विज्ञान। यही जीवन र जगत्को पहिचान नै पूर्वीय दर्शनको कौशल, दक्षता, सक्षमता तथा तीक्ष्णता हो भने यिनै तथ्यहरूका विभिन्न आयामिक सदुपयोग पाश्चात्य दर्शनको शिक्षा।
खुसीको स्तर वृद्घि गर्न हामीले शिक्षकलाई उत्पादनस्थलका लागि तयार गर्ने कि उत्पादनस्थलमा कार्यरत परम्परागत कालिगढलाई शिक्षणका लागिसमेत तयार गर्ने ?
माथि उल्लेख गरिएको शिक्षाको उपयोग एक्लै अथवा समुदायका लागिसमेत भन्नेमा भिन्नभिन्न मत हुन सक्छन्। तर पूर्वीय दर्शनले यसलाई समुदायका लागिसमेत उपयोग तथा उपभोग गर्नुपर्नेमा जोड दिन्छ। यसमा पाश्चात्य दर्शनको समेत विमति रहेको देखिँदैन। स्विस विद्वान् एलेन डी वटनका अनुसार जीवन तथा सफल जीवनलाई समुदायसँग जोड्दा प्राप्त हुने खुसीको परिमाण फरक देखिने हुन्छ। एक्लै तथा समुदायबीच समान रकम खर्च गरेर पाइने खुसीको अनुपात तुलना गर्नलायकसमेत नहुनेमा उनले जोड दिएका छन्। समुदायसँग बसेर गरिएको खर्चले एक्लै आफैंका लागि मात्र गरिएको खर्चले भन्दा कैयन् गुणा बढी खुसी प्रदान गर्छ भन्ने कुरालाई उनले रेखाचित्रका माध्यमबाट समेत प्रस्ट्याउन खोजेका छन्। उत्पादनका स्रोतहरूमाथिको स्वामित्वका आधारमा पुँजीवादी तथा साम्यवादी राजनीतिक दर्शन विभक्त भएको पाइन्छ।
बटनकै मान्यतालाई विश्वास गर्ने हो भने उत्पादनका स्रोतहरू भनेका वास्तवमा पैसा अथवा लगानी नै हुन्। यही लगानी अथवा खर्चमा समुदायको व्यापक सहभागिताले नै खुसीको स्तर तथा परिमाण मापन गर्न सकिन्छ। विश्वका करिब–करिब सम्पूर्ण विद्वत् वर्गको एकमत के छ भने शिक्षाको विकास तथा विस्तारमा गरिएको खर्च खर्च मात्र नभई लगानी पनि हो। यो लगानीबाट प्राप्त हुने खुसीको स्तरको मापन यसमा संलग्न समुदायको सहभागिताको आयतनमा समेत भर पर्छ। यो अभियानमा संलग्न समुदायका प्रत्यक्ष पात्रहरू को–को हुन् ? विद्यार्थी कि अभिभावक कि रोजगारदाता ?
प्रकृतिलाई प्रभाव पार्ने त्रिगुणहरूको नियन्त्रणका माध्यमबाट पुरुष अथवा आत्माको अनुभूति गर्ने खुसी नितान्त व्यक्तिगत हुने हुँदा यसबाट प्राप्त हुने खुसीको स्तर सोही अनुपातमा हुने भयो। यो प्रक्रिया विद्यार्थीका हकमा एकदमै प्रभावकारी हुन्छ। यस अर्थमा विद्यार्थी तथा तिनका अभिभावक उपभोक्तासमेत हुने भए। यिनीहरूले आफ्नो उपभोगका लागि शिक्षा ग्रहण गर्ने भए। समग्र प्रकृति अथवा पृथ्वीको खुसीका लागि उत्पादनका स्रोतहरूको स्वामित्वमा उपभोक्ताहरूभन्दा पर गएर रोजगारदाता अथवा व्यवसायीहरू समावेश भएमा यसबाट प्राप्त हुने खुसीको स्तर निश्चय पनि व्यक्तिगतभन्दा गुरुत्वका हिसाबले माथिल्लो हुने नै भयो गुणस्तर तथा परिमाणका हिसाबले पनि। सर्वजन हितका लागि आवश्यक पर्ने शिक्षाका लागि लगानीको साक्षी रोजगारदाता अर्थात् व्यवसायीहरू हुन् भन्ने कुरा माथिकै तर्कका आधारमा पनि भन्न सकिन्छ। यही शिक्षालाई हामी कार्यस्थलको शिक्षा भन्छौं। यो शिक्षा प्रणाली व्यावसायिक शिक्षा हो।
माथिको विवेचनाबाट प्रभावकारी पठनपाठन स्थलका बारेमा यकिन गर्न सकिन्छ। त्यो स्थलमा के पढाउने त ? व्यक्तिले आफ्नो अन्तरआत्मालाई चिन्नु नै ज्ञान भनिन्छ भन्ने कुरा त सनातन दर्शनकै मान्यता भयो। यही सनातन दर्शनले मानव शरीर र पृथ्वी समान मानेपछि प्रकृतिको अध्ययन नै शिक्षा हुने भयो। यही प्रकृतिको अध्ययनलाई नै विज्ञान भन्ने गरिएको छ।
विज्ञान भनेको तर्क तथा अनुभवमा पनि आधारित हुने हुँदा भौतिकशास्त्र तथा जीवशास्त्र मात्र नभई अन्य मानविकी तथा समाजशास्त्रलाई समेत विज्ञान भन्ने गरिएको छ। दीक्षान्त समारोहका माध्यमबाट प्रदान गरिने शिक्षाको प्रमाण मानिने हरेक तहका प्रमाणपत्रको तहका अगाडि ब्याचलर अफ साइन्स तथा मास्टर अफ साइन्स थप्नुको औचित्य पनि यही हो। त्यसैले तर्क प्रयोग तथा अनुभवका आधारमा तयार भएका प्रकृतिमा विद्यमान सबै विधा विज्ञान हुन् भने यी विषयको अध्ययन प्रकृतिको अध्ययनसमेत हो।
दुई सयदेखि २५० किलोमिटर उत्तर–दक्षिण तथा एक हजार किलोमिटरभन्दा माथि पूर्व–पश्चिममा फैलिएको नेपालको भूभागमा उष्ण, समशितोष्ण, शितोष्ण तथा हिउँ नै हिउँले ढाकिएको उच्च हिमाली भाग पर्छन्। यति सानो देशमा यति धेरै जलवायु विविधता आफैंमा अनुपम रहेको छ। त्यसैले यहाँ वर्षमा ६ वटा ऋतु पाइन्छन्। यी सबै ऋतुका विशेषताका बारेमा यस आलेखमा वर्णन गरिएन। अभियान्त्रिकी, यान्त्रिक प्रविधि तथा कृषि यान्त्रिकीजस्ता विषयलाई पेसागत विधामा विभक्त गरी अध्ययन–अध्यापन गराएर जलवायुलाई जनसाधारणसँग जोड्न सकिन्छ।
समथर उप्जाउ तराई, चुरे तथा भावर प्रदेश संलग्न भित्री मधेस, न्यून उचाइ रहेको मनोरम पहाडी क्षेत्र र उच्च हिमशृंखलासमेत रहेको हिमाली क्षेत्र मनोरम हरियाली, कलकल बग्ने जीवनको आधार नदीनाला तथा मनमोहक दृश्यावलीका लागि संसारमै विख्यात रहेको छ। पूरै संसारको एक दशांश प्रतिशत भूभाग रहेको नेपालमा विश्वको ३.२ वनस्पति तथा १.१ प्राणी पाइनुले यसको बृहत् जैविक विविधतालाई झल्काउँछ। यो विविधता सामाजिक, भौतिक तथा जैविक पर्यावरणको उत्कृष्ट संयोग मात्र नभई प्राणी जगत्कै अनुपम सम्मिलनसमेत रहेको छ। कृषि जडिबुटी तथा पशुपालनजस्ता विषयलाई पेसागत विधामा विभक्त गरी अध्ययन–अध्यापन गराएर प्राकृतिक सुन्दरताको उपयोग गर्दै बृहत् जैविक विविधतालाई जनसाधारणसँग जोड्न सकिन्छ। सनातन वैदिक परम्परामा आधारित मठमन्दिर तथा सांस्कृतिक कलाकृति र प्राकृतिक सम्पदा देशका गर्वका निसानी रहेका छन्। यसमा पनि युनेस्कोको विश्व सम्पदा सूचीमै नेपालबाट सातवटा धरोहर सूचीकृत हुनु आफैंमा अनुपम विषय रहेको छ। विभिन्न जातजाति, तिनका भाषाभाषी तथा चालचलन देशको सांस्कृतिक धरोहरका साथै विश्व पर्यटनका लागिसमेत आकर्षणको विषय भएको छ। हिन्दु तथा बौद्ध संस्कृति तथा अन्य संस्कृतिसँग तिनीहरूको सामन्जस्यको अनुपम उदाहरण यहाँबाहेक अन्य मुलुकमा बिरलै पाइन्छ। ललितकला, मूर्तिकला तथा वास्तुकलाजस्ता विषयले समुदायको चासोलाई सम्बोधन गर्न सक्ने देखिन्छ।
माथि उल्लिखित जलवायु तथा बृहत् जैविक विविधताका कारण नेपालीको खाद्य परिकारमा पनि त्यस्तै विविधता पाइन्छ। नेवारी, मैथिली, थारू, मगर, गुरुङ तथा अन्य जातजातिका विविध खाद्य परिकार यहाँ लोकप्रिय छन्। यी सबै परिकारको समग्र परिमाण १३० भन्दा माथि रहेको बताइन्छ। स्वादिष्ट परिकारका लागि होटल तथा रेस्टुरेन्ट पेसाको अध्ययन–अध्यापनले यही स्वादिष्ट परिकार विविधता तथा यसको व्यवसायीकरणमा सहयोग पुग्छ। विविध जलवायु, मनोरम प्राकृतिक सुन्दरता, बृहत् जैविक विविधता, उत्कृष्ट विश्व सम्पदा, सामन्जस्यमा उनिएको विविध संस्कृति र अनुपम खाद्य विविधता तथा संस्कृति नै नेपालको आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण रहेको छ। यसमा पनि हिन्दु तथा बौद्ध संस्कृतिको आतिथ्य प्रेम तथा आतिथ्य सत्कार बिछट्टै अनुकरणीय रहेको पाइन्छ।
यी माथि उल्लिखित क्षेत्रहरूको नेपालका लागि विशिष्टीकरण नै प्राकृतिक अवयव मात्र होइन; बृहत् जनसमुदायलाई आकर्षित गर्न सक्ने पेसा तथा व्यवसाय हुन सक्छन्। यिनै विषयलाई नागरिक तथा व्यवसायीहरूको बृहत्तर हितका लागि मानकमा आधारित पाठ्यक्रममा रूपान्तरण गरी व्यावसायिक शिक्षालाई मूल प्रवाहीकरण तथा नवीनतम् बनाउन सकिन्छ। यो प्रक्रिया संस्कृति तथा भूगोलअनुसार फरक पर्न सक्छ। यसैलाई पाठ्यक्रममा स्थानीय विषयवस्तु समावेश गर्ने मान्यताको व्यावहारिक प्रयोगका रूपमा पनि लिन सकिन्छ। यिनै विषय नै हाम्रा लागि प्राकृतिक मात्र नभई वैज्ञानिक पनि छन् र त्योभन्दा माथि व्यावसायिक पनि छन्।
अहिलेको खुला विश्व प्रतिस्पर्धी परिवेशमा उपभोग्य वस्तुको गुणस्तर तथा यससँग गाँसिएको मूल्य नै यसको खपतको मुख्य आधार हो। त्यसैले स्थानीय बजारमै उत्पादित सामग्रीहरूको गुणस्तर छिमेकी उत्पादनसँग समान भए पनि यसको बजार मूल्य भीमकाय अर्थतन्त्र भएका दक्षिणी मित्र भारत तथा उत्तरी मित्र चीनसँग प्रतिस्पर्धी बनाउनु पनि उत्तिकै चुनौती रहेको छ। त्यसैले अर्थतन्त्रको यथास्थितिका लागि तथा स्थानीय बजारको खपतका लागि यिनै स्थानीय प्राकृतिक स्रोतमाथि भर पर्नुपर्ने हुन्छ। यसरी नेपालको सांस्कृतिक तथा भौगोलिक विविधताका आधारमा समेत निर्धारण गरिएका पाठ्यक्रम र सामाजिक जीवनयापनमा उत्पादन स्थलमै पठनपाठन गर्ने व्यवस्था कार्यस्थलको व्यावसायिक शिक्षा मात्र नभई बृहत् समुदायसम्मिलित उच्च खुसी दिन सक्ने लगानी प्रमाणित भइसकेको छ। यो शिक्षा के ? कहाँ ? पछि अब कसरी ? भन्ने प्रश्न मुखरित हुन्छ। उत्पादन स्थलमै स्थानीय कच्चा उत्पादन सामग्रीहरूको प्रयोगबाट गरिने शिक्षामा के हाम्रा परम्परागत शिक्षकहरू निपुण छन् ? के उनीहरूमा उत्पादनस्थलको समन्वय तथा उत्पादनमा प्रभावकारिता ल्याउन सक्ने कौशल छ ? उनीहरू व्यक्तिगत खुसीका लागि मात्र पात्र हुन् कि ? उत्पादनमार्फत समुदायसम्मिलित खुसीका लागि पनि ? खुसीको स्तर वृद्धि गर्न हामीले शिक्षकलाई उत्पादनस्थलका लागि तयार गर्ने कि उत्पादनस्थलमा कार्यरत परम्परागत कालिगढलाई शिक्षणका लागिसमेत तयार गर्ने ? यो शिक्षाको विकास तथा विस्तारका लागि नेता र प्रशासकसमेत पात्र भए पनि प्रवाहका लागि उद्योग व्यवसायी तथा रोजगारदाता नै मुख्य प्रवर्धक हुन सक्छन्।
माथि उल्लेख गरिएका स्थानीय जीविकोपार्जन तथा ज्ञान र कौशलसँग प्रत्यक्ष जोडिएका विषयअन्तर्गतका पेसागत विधामा पाठ्यक्रमको विकास तथा सञ्चालन र तिनीहरूको भौगोलिक विस्तार नै वास्तविक विस्तार हुन जान्छ भने रोजगारदाता तथा उद्योग व्यवसायीको कार्यस्थलमा आधारित शिक्षामा संस्थागत सहभागिता समावेशिता हुन जान्छ। देशको धरातलीय यथार्थका आधारमा यही नै समयसापेक्ष तथा जीवनोपयोगी शिक्षा हुन सक्छ। यही सन्देश सर्वसाधारणको पहुँचमा पु¥याउन सकेमा यसका लागि नागरिक रूपान्तरणको एक पाइला चालेको मान्न सकिन्छ भने सोहीअनुरूपको शिक्षालय तथा व्यवसायस्थलको पारस्परिक समन्वयात्मक विकास तथा स्रोत परिचालनलाई संगठनात्मक रूपान्तरण। यी दुवै पक्ष सुनिश्चित हुने गरी स्वायत्त प्राज्ञिक संस्थाको अवधारणाबमोजिम ऐन, नियम तथा तत्सम्बन्धी आवश्यक कानुन तर्जुमालाई संस्थागत रूपान्तरण। यही शिक्षा तथा शिक्षण स्थलको समग्र रूपान्तरण नै व्यक्ति तथा समूदायको चैतन्य पुरुष प्राप्ति अथवा अलौकिक खुसी प्राप्ति हुनेछ। अन्यथा वर्तमान अवस्थाको यथास्थितिको भौतिक विस्तारचाहिँ व्यक्तिले समुदायबाट अलग्गै रहेर एक्लै गरेको अत्यधिक खर्चबाट प्राप्त सीमित खुसी मात्र। समुदायबाट अलग्गिएको व्यक्तिको एक्लो अव्यावहारिक प्रगति।