समाजमा उज्यालो बाल्ने पुस्तक
बत्तीमुनि अँध्यारो हुन्छ। सर्वव्यापी सर्वमान्य यो सत्य लगभग सबैलाई थाहा छ। तर यसभित्र यो सामान्य कुरो मात्र समेटिएको छैन, जीवन दर्शन नै छ। अश्विनकुमार पुडासैनीले पुस्तकाकारमा ‘बत्तीमुनि उज्यालो’ पाठकसामु ल्याएका छन्।
हो, अश्विनको पुस्तकले जीवनका लागि अपार ऊर्जा, साहस, गौरव र आशावादिता लिएर आएको छ। उनको कृति समाज विकास, सकारात्मक सोच, अर्थ र व्यवस्थापन अनि राजनीति र कूटनीतिक बहसको त्रिवेणी हो। ६२ शीर्षकलाई तीन खण्डमा बाँडेर सुव्यवस्थित प्रस्तुत गरिएकाले त्रिवेणी बनेको छ। हरेक प्रस्तुतिमा मिठास छ। साहित्यिक शब्द र भावको प्रशस्त लेपन छ। हरेक शीर्षक दुई शब्दको मात्र हुनु पनि यस पुस्तकको खास विशेषता हो। सबै शीर्षक आकर्षक छन्, कवितासमेत आफैंमा पूर्ण छन्।
विगतमा परराष्ट्रमन्त्रीका सल्लाहकार रहिसकेका अश्विन कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, साना तथा भूपरिवेष्टित राष्ट्रहरूको विदेश नीति र आर्थिक कूटनीतिमा दखल राख्छन्। नेपाल बैंक लिमिटेडमा तालिम तथा विकास डिभिजन प्रमुखका रूपमा कार्यरत उनी विभिन्न कलेजमा व्यवस्थापन विषय अध्यापन पनि गर्छन्। अर्थ, व्यवस्थापन, समाज, संस्कृति, राजनीति, शिक्षा, विकास, स्वास्थ्य र ज्येष्ठ नागरिकका सवालमा गहिरो चासो राख्छन्। पत्रकारितामा गहन अनुभव सँगालेका उनको सहभागीमूलक विकास पद्धति (पीआरए), सकारात्मक सोच पद्धति (एआई) र व्यवस्थापन तालिममा विशेष दक्षता छ। उनको अनुभव, दक्षता र सूक्ष्मदृष्टि ‘बत्तीमुनि उज्यालो’ मा राम्ररी प्रतिविम्बित भएको छ।
विकास, समाज र राजनीतिका कुरामाथि दृढ चिन्तन र मन्थन भएको यस पुस्तकको खास विशेषता भनेको प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय शैली र नेतृत्वमाथिको चर्चा पनि हो।
प्रधानमन्त्रीको सन्देश र ‘ओली डक्ट्रिन’
विकास, समाज र राजनीतिक विषयमाथि दृढ चिन्तन र मन्थन भएको यस पुस्तकको खास विशेषता भनेको प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय शैली र नेतृत्वमाथिको चर्चा पनि हो। ओलीको कूटनीति अर्थात् देशले हाल अपनाइरहेको छिमेकी देशहरूसँगको समदूरी सम्बन्ध, राष्ट्रियताको अडान, सार्वभौमिकताको स्वाभिमान, साना राष्ट्रको अधिकार आदि कुरालाई ‘ओली डक्ट्रिन’ भनेर चर्चा गरेका छन् अश्विनले। त्यसको खुलेर नै वकालत गरेका छन्। पुस्तकमा बारम्बार ‘ओली डक्ट्रिन’ को सन्दर्भ कोट्याई उनले अबको नेपाली कूटनीति यस्तो हुनुपर्छ भनेरसमेत सल्लाह र खाका दिएका छन्। यही कुराको वकालती यात्रालाई प्रधानमन्त्री ओलीले पनि राम्रो साथ दिएका छन्। पुस्तकमा ओलीको तीन पृष्ठ लामो भूमिका (सन्देश) छ। ‘वैदेशिक सम्बन्धको आधार’ शीर्षकमा सन्देश केन्द्रित छ। ‘मित्रतामा, कूटनीतिको नाममा दब्बु नीति, चाप्लुसी नीति केही पनि हुनुहुँदैन’, ओलीको भनाइ छ। यी सबै भनाइ र आग्रहलाई लेखक पुडासैनीले आफ्ना आलेखमार्फत आत्मसात् गरेका छन्। पुस्तकको खण्ड ३ मा रहेका २३ वटा आलेख यसै परिवेश र पृष्ठभूमिमा फनफनी घुमेका छन्।
नयाँ नेपालभित्रको ओली नेतृत्वले लिएको विकास, सुशासन र विदेश सम्बन्धको अडान नै ‘ओली डक्ट्रिन’ हो भनेर लेखकले बुझाउन खोजेका छन्। नयाँ नेपालको शासकीय स्वरूप कस्तो हुनुपर्छ, विकास कसरी अगाडि बढाइनुपर्छ, जनताका सपना के के छन्, बढ्दो जनचाहनाबीच सरकारले दिने ‘डेलिभरी’लाई कसरी प्रभावकारी पार्ने भन्नेजस्ता सवालमा पनि उनी खुलेर प्रस्तुत भएका छन्। नयाँ युग, समृद्धिका सारथि, मध्यपुस्ताको हुटहुटी, भूस्वर्गको सपना, आफैं शासक, प्याराडाइम सिफ्ट, सम्बन्धको उचाइ, नयाँ सभ्यता, कूटनीतिक कौशल, समाजवादको राजनीति, आर्थिक कूटनीति आदि शीर्षकका आलेखमा समेटिएका विचारले देशको वर्तमान अवस्थाको चर्चा गर्दै भविष्यको मार्गचित्रसमेत कोरेका छन्। पुस्तकका यी बहुमूल्य मणि हुन्।
‘उज्यालो भविष्य’ ज्यादै महत्वपूर्ण छ। कोरोनापछिको विश्व एवं नेपाल कस्तो हुनेछ भन्ने विषयमा सकारात्मक भावका साथ आशा जगाउने उत्कृष्ट लेख हो यो। जुन समग्र पुस्तकको सार पनि हो। वैदेशिक सम्बन्धहरूलाई फरक तरिकाले परिभाषित गरौं, भविष्य उज्यालो छ धेरै नतर्सौं, आर्थिक मन्दीले विश्व गाँजिएको छ, तर पनि सहजै उठ्न सक्नेछौं; देशले अब नयाँ योजना बनाउनै पर्छ, युवाहरू ज्ञान सीप र अनुभव लिएर स्वदेश आउनुपर्छ, डिजिटल तथा ई–बैंकिङतर्फ आकर्षण बढाऔं, स्वास्थ्यसेवाप्रति सरकार गम्भीर बन्नुपर्छ, शैक्षिक प्रणालीबारे नयाँ ढंगले सोच्नुपर्छ, भविष्य उज्ज्वल छजस्ता उपशीर्षकअन्तर्गत लेखिएका विचारले बत्तीमुनि उज्यालोको भाव र अन्तर्य सार्थक तुल्याएका छन्। सामान्य बुझाइमा ‘बत्तीमुनि अँध्यारो’ भन्ने बुझिन्छ, तर जहाँ अँध्यारो छ त्यहाँ उज्यालो बाल्न जरुरी छ भनेर लेखकले पुष्टि गर्न खोजेका छन्।
विकास, अर्थ र व्यवस्थापन
पुस्तकको खण्ड १ र २ मा ३९ आलेख छन्। हरेक आलेख आचरण, लगन र व्यावहारिक पक्षमा केन्द्रित छन्। पहिलो लेख नै बत्तीमुनि उज्यालो शीर्षकमा छ। अश्विन हजुरआमा र हजुरबाबाट निकै प्रभावित छन्। हजुरआमाको सन्दर्भ कोट्याउँदै भन्छन्, ‘बत्तीमुनि उज्यालो खोज्ने यो शृंखलाको मूल प्रेरणा हुन्, हजुरआमा। समाजमा उज्यालो खोजे उज्यालो पाइन्छ, अँध्यारो खोजे अँध्यारो पाइन्छ भन्ने व्यक्ति हुन् मेरी हजुरआमा।’
हजुरबाको सीसीटीभीले पनि पुरानो पुस्ताबाट लिन सकिने प्रेरणा र सिक्न सकिने चर्चा गरेको छ। ज्येष्ठ नागरिक अनुभवका भण्डार हुन्, ज्ञानका खानी हुन् भन्ने भनाइलाई यस खण्डका यी दुई विशेष लेख र अन्य लेखमा परेका सन्दर्भ एवं वकालती आवाजहरूले पुष्टि गरेका छन्। चार शौचालय, समृद्धि सूत्र, चम्कन्छन् बच्चाबच्ची, ज्येष्ठ नागरिक, सक्रिय बुढ्यौली, धर्तीकी अप्सरा आदि आलेख पहिलो खण्डका विशेष पठनीय छन्, उपयोगी छन्। धर्तीकी अप्सरा शीर्षक आलेखमा रारा क्षेत्रमा पर्यटन विकासका लागि गर्नुपर्ने कर्मका सूची र परामर्श पनि छन्। सूत्र–सूत्रमा पोखिएका छन् उनी। स्वदेश तथा दुई दर्जनभन्दा बढी देश घुमाइका अनुभव, अनुभूति, सिकाइहरू पनि पुस्तकमा बिस्कुनझैं पोखिएका छन्।
व्यक्ति र देश–चित्रबाट गतिला पाठ
‘सदृश्य’मा साप्ताहिक स्तम्भलाई निरन्तरता दिने सिलसिलामा अश्विनले विभिन्न समयमा विभिन्न प्रेरक तथा प्रतिष्ठित व्यक्तिसँग अन्तर्वार्ता लिए। आलेखहरू तयार पारे। अन्तरंग कुराकानी गरेर व्यक्ति–चित्र उतारे। तिनका हरेक सफलताका कथाबाट धेरै सिक्न सकिन्छ, उत्प्रेरणा लिन सकिन्छ।
जापानी व्यवस्थापन शैलीका बारेमा पनि लेखकले खण्ड २ मा विस्तृतमा चर्चा गरेका छन्। यसमा सुझाइएका १२ उपाय निकै मर्मस्पर्शी छन्। उत्कृष्ट नतिजाप्राप्ति र सुसफलताका लागि व्यवस्थापन शैली चुस्त र प्रभावकारी हुनुपर्नेमा दुईमत रहँदैन। यस खण्डमा अर्थ र व्यवस्थापनसँग गाँसिएका १९ वटा विषय सवालमध्ये यो ‘जापानी खुराक’ लाई विशेष मान्नुपर्छ। त्यसो त पर्यटन विकास, ऊर्जा प्रवद्र्धन, ई–बैंकिङ सवालमा कोरिएका आलेख पनि कम्ती उपयोगी छैनन्।
समग्रमा अश्विनले ‘बत्तीमुनि उज्यालो’ (नयाँ नेपालको डक्ट्रिन) पुस्तकमा सहभागिता, सकारात्मकता, संस्कारगत मूल्यमान्यता, व्यवस्थापकीय कुशलता, दिगो विकास र अर्थतन्त्र तथा मजबुत कूटनीतिका लागि विविध आयामिक दृष्टिकोणहरू प्रस्तुत गरेर नेपाली पाठकलाई ठूलो गुन लगाएका छन्। काठमाडौंको दिव्य देउराली प्रकाशन गृहले प्रकाशन गरेको यो पुस्तक साढे तीन सय पृष्ठको छ।