प्रधानमन्त्रीको कदम अधिनायकवादतर्फ : डा. शेखर कोइराला
विराटनगर : नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन्। संविधानमा कुनै धारामा उल्लेख नभएका संसद विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस सर्वसत्तावाद हुँदै अधिनायकवादतर्फ उन्मुख भएको उनले बताए।
विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले भने, ‘संविधानको धारा ७६को १ देखि ७ सम्म कतै संसद विघटनको बारे उल्लेख भएको छैन। पार्टी भित्रको द्वन्द्वलाई थेग्न नसकेर प्रधानमन्त्रीले संविधानमाथि नै आक्रमण गरेको उनको आरोप लगाए। कोइरालाले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको बताए।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दल र कानुनविद्सँग छलफल गरेर संसद् विघटनको सिफारिस फिर्ता गर्नुपर्ने बताए। उनले भने, ‘राष्ट्रपतिले विपक्षी दल र कानुनविद्सँग छलफल गरेर संसद् विघटनको सिफारिस फिर्ता गर्नुपर्छ।’उनले यो कदम असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेसले यसको विरोध गर्नेसमेत बताए।
संसद विघटनको कदमले प्रतिगामीलाई सहयोग पुग्ने उनको भनाइ रहेको थियो। यो देशको निम्ति खतरा भएको बताउँदै उनले भने,‘काग्रेसले कुनै हालतमा स्वीकार गर्देन। राष्ट्रपतिले यसलाई तत्काल फिर्ता गरेर गुटको नभई देशको हितमा काम गर्नु पर्ने छ।' काग्रेसले त्यसको विरुद्ध आन्दोलन गर्ने बताउँदै उनले भने, ‘राष्ट्रपतिले पनि गुटकै अनुसार काम गरे भने त्यसको विरोधमा काग्रेस जाने छ।'
प्रधानमन्त्रीको अलोकतान्त्रिक कदमको विरोधमा आन्दोलन गर्ने बताउदै भने,‘कांग्रेस निर्वाचनमा जाने छ। निर्वाचनबाट भाग्दैन। अब ६ महिनाभित्र निर्वाचन गर्नु पर्ने छ।'