नेकपाको निर्क्योल निर्वाचन आयोगबाट
काठमाडौं : नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले मंगलबार केन्द्रीय समिति पुनर्गठन गरी निर्वाचन आयोगमा निवेदन दियो। केही घण्टामै अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गर्यो। दुई चिरामा विभाजित नेकपाका दुवै समूहले संस्थापन र वैधानिक भएको दाबी गरेका छन्। संस्थापनको मान्यता पाउने पक्षले चुनाव चिह्न सूर्य पनि पाउने भएकाले दुवै पक्षले आधिकारिताका लागि जोडबल गरेका छन्।
अब आयोगले नै कसलाई नेकपाको आधिकारिकता दिने भन्ने विवादको निरूपण गर्नुपर्ने भएको छ। निर्वाचन आयुक्त नरेन्द्र दाहालले सम्बन्धित पार्टीको विधान, दल दर्ता ऐन र अन्य कानुन हेरेर आयोगले पार्टी आधिकारिताको निर्णय गर्ने गरिएको जानकारी दिए। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ओली पक्षको निवेदन मंगलबार प्राप्त भएको जानकारी दिए।
ओली समूहले मंगलबार केन्द्रीय समिति पुनर्गठन गरी नामावलीसहितको निवेदन आयोगमा पेस गरेको हो। उक्त समूहको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्रीका पे्रेस सल्लाहकार सूर्य थापाले मौजुदा ४ सय ४७ सदस्यीय केन्द्रीय समितिमा ५ सय ५६ जना थप गरिएको जानकारी दिए। १ सय ९६ जना थप्न बाँकी रहेको थापाले जनाए। पार्टी अध्यक्ष, महासचिव र माइन्युटसहित आफ्नो पक्षको केन्द्रीय समिति पुनर्गठन गरिएको पत्र निर्वाचन आयोगमा पठाइएको ओली पक्षका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ४ सय ४७ सदस्यीय केन्द्रीय समितिमा ३ सय १५ सदस्य आफ्नो पक्षको बैठकमा उपस्थित भएको दाबी गरेको छ।
बहुमतभन्दा बढी सदस्यको उपस्थितिको बैठक नै आधिकारिक हुने भन्दै उक्त समूहले नेकपाको संस्थापन पक्ष आफू भएको दाबी गरेको छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको दाहाल–नेपाल समूहको बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ। उक्त समूहले पुस ५ गतेको स्थायीसमिति बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय भएको माइन्युटसहितको पत्र सोमबारै निर्वाचन आयोगमा बुझाइएको दाबी गरेको छ।
केन्द्रीय सदस्य लीलामणि पोखरेलले सोमबारै ओलीलाई कारबाहीको निर्णयको माइन्युट आयोगमा पठाइएको जानकारी दिए। दाहालले ६५ प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको उल्लेख गर्दै ओली समूहको बैठक आधिकारिक नभएको दाबी गरेका छन्। एक तिहाइ केन्द्रीय सदस्यको बैठक बसी तीन तिहाइ सदस्य थप गर्ने भन्ने ओली समूहको निर्णय अवैध भएको दाहाल पक्षको दाबी छ। ओली समूूहले आफ्नो पक्षको केन्द्रीय समितिमा कति सदस्य उपस्थित थिए भन्ने बताएको छैन। दाहाल–नेपाल समूहले ओलीलाई कारबाही गर्ने निर्णय गरे पनि ओली समूहले भने कसैमाथि कारबाही नगरेको दाबी गरेको छ।
यी नेता भए अदलबदल
नेकपा दुई पक्षमा विभाजित हुँदा कतिपय नेताको कित्ता पनि फेरिएको छ। उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा (बादल)ले अझै कित्ता स्पष्ट नपारी अलमल गरिरहेका बेला वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायत नेताहरू अध्यक्ष दाहालतिर लागेका छन्।
पूर्वमाओवादी समूहका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र ज्वाला साह ओली पक्षको बालुवाटारमा भएको केन्द्रीय समिति बैठकमा सहभागी भए। विगतमा माधव नेपाल समूहलाई साथ दिँदै आएका सिन्धुपाल्चोकका शेरबहादुर तामाङ बालुवाटारमा ओली समूहको बैठकमा सहभागी भएका छन्। उनकी पत्नी उषाकला राई पनि ओली समूहमा सहभागी भइन्।
ओली पक्षमा खुलिरहेका स्थायी समिति सदस्य रघुवीर महासेठ दाहाल–नेपाल पक्षको बबरमहलमा आयोजित केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्। उनकी श्रीमती जुलीकुमारी महतो बालुवाटार भेलामा गएकी थिइन्।
ओली पक्षका बझाङका भैरबहादुर सिंह दाहाल–नेपाल खेमाको बैठकमा पुगेका थिए। रामबहादुर थापा (बादल) सहभागी नभए पनि उनको पक्षमा रहेका तीन नेताबाहेक अन्य सबै नेता दाहाल–नेपाल खेमाको बैठकमा पुगेका थिए। बादल समूहका सूर्य सुवेदी, कुलप्रसाद केसी र दावा तामाङ कतैको बैठकमा पुगेनन्। दावा र कुलप्रसाद कतैको बैठकमा नगए पनि दुवैका श्रीमती क्रमशः कुमारी मोक्तान र तारा घर्ती भने दाहाल–नेपाल समूहको बैठकमा सहभागी थिए। वामदेवसँग निकट रहेका बलराम बाँस्कोटा दाहाल–नेपाल समूहको बैठकमा पुगे। नेपाल पक्षका प्रेम आले बालुवाटारको बैठकमा पुगे। लक्ष्मण ज्ञवाली, शारदा सुवेदी, केशवलाल श्रेष्ठ कतै पनि गएनन्। उनीहरू वामदेवसँग नजिक मानिन्छन्।