बढ्दैछ गर्भावस्थाको मधुमेह

बढ्दैछ गर्भावस्थाको मधुमेह

डायबेटिज (मधुमेह) एक किसिमको दीर्घरोग हो, यस अवस्थामा रगतमा चिनी (ग्लुकोज) को मात्रामा सन्तुलन कायम रहन सकेको हुँदैन र चिनीको मात्रा बढी हुन्छ। रगतमा चिनीको मात्रा कम गर्ने हर्मोन इन्सुलिनको उत्पादनमा कमी आएर वा प्रभावकारिता कम भएर वा दुवै कारणले मधुमेह हुन सक्छ। समान्यतयाः एकपटक मधुमेह देखिएपछि यसलाई नियन्त्रण गर्न सकिन्छ तर पूर्णरूपले निको बनाउन सकिँदैन। तर गर्भावस्थामा देखिने विशेष किसिमको मधुमेह बच्चाको जन्मसँगै निको हुने हुन्छ, जसलाई जेस्टेसनल डायबेटिज भनिन्छ। तर एकपटक जेस्टेसनल डायबेटिज भएका महिलामा पुनः मधुमेह हुने सम्भावना उच्च रहेको पाइन्छ।

गर्भावस्थामा मधुमेहको चर्चा–परिचर्चा कहिलेदेखि थालेको भन्नेबारेमा ठूलो मतान्तर देखिए पनि सन् १८२३ मा बेरलिन विश्वविद्यालयका एचजी बेनेविचले आफ्नो शोधपत्रमा उल्लेख गरेको एक २२ वर्षीया महिलाले गर्भावस्थामा मधुमेहको लक्षण देखाएकोलाई नै पहिलो मानिएको छ। सो महिलाले गर्भावस्थामा धेरै तिर्खा लाग्ने, पिसाब लाग्ने तथा धेरै भोक लाग्ने लक्षण देखाएको थियो र उनले १२ पाउन्डको मृत बच्चाको जन्म दिएकी थिइन्। त्यसबेला रगतमा ग्लुकोजको परीक्षण सम्भव नभए पनि पिसाबमा चिनी मापन गर्ने गरेर मधुमेह भएको ठहर गरिएको थियो। सन् १८२३ देखि सन् १९७९ सम्ममा विभिन्न अनुसन्धान, शोध–खोज भए पनि सन् १९७९ अक्टोबर, सिकागोको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा गर्भावस्थामा देखिने यो विशेष किसिमको मधुमेहलाई जेस्टेसनल डायबेटिजको नाम दिइयो। सो सम्मेलनमा डा. नोरर्बट भिरेन्कलले अमेरिकन डायबेटिक एसोसियनको र डा. जोन जोसिमोविचले अमेरिकन कलेज अफ अब्सट्रेटिसियन एन्ड गाइनोकोलोजिस्टको प्रतिनिधित्व गरेको थियो।

 गर्भावस्थामा गर्न मिल्ने र गर्भलाई असर नगर्ने हल्का किसिमका शारीरिक व्यायाम नियमित गर्नुपर्छ। व्यायामले इन्सुलिनको प्रभावकारिता बढाउनुका साथसाथै रगतमा ग्लुकोजको मात्रामा सन्तुलन ल्याउँछ।

विश्व स्वास्थ्य संघ (डब्लूएचओ) को तथ्यांकअनुसार सन् २००० मा विश्वमा १७ करोड जनसंख्या मधुमेहले प्रभावित थिए र सन् २०३० सम्ममा यो संख्या ३६ करोड पुग्ने अनुमान रहेको छ। सोही तथ्यांकअनुसार सन् २००० मा नेपालमा यसका रोगीको संख्या चार लाख ३६ हजार थियो भने २०३० सम्ममा यो संख्या १३ लाख २८ हजार पुग्ने अनुमान छ। मधुमेहका रोगीहरूको संख्या बढेजस्तै जेस्टेसनल डायबेटिज हुनेको संख्या पनि बढ्दो छ। अमेरिकामा मात्र १ देखि १४ प्रतिशत गर्भवतीमा जेस्टेसनल डायबेटिज देखिने गरेको छ। भारतका विभिन्न अस्पतालमा गरिएका अध्ययनले दुईदेखि १२.७ प्रतिशत गर्भवतीमा जेस्टेसनल डायबेटिज हुने गरेको देखाएको छ। सन् २००५ जुलाईदेखि २००७ जुनसम्म पाटन अस्पतालमा डा. पवनकुमार शर्मा र डा. आशिष श्रेष्ठले गरेको अध्ययनले सो अस्पतालमा १३ हजार ३ सय ८२ गर्भवतीमध्ये मात्र ५३ जना (०.४ प्रतिशत) गर्भवतीमा मात्र जेस्टेसनल डायबेटिज पाइएको थियो। तर २०१६–१७ मा नेपाल मेडिकल कलेज, अत्तरखेलमा डा. बिलोनी श्रेष्ठ र डा. ए. श्रेष्ठले ६ सय गर्भवतीमा २७ जना अर्थात् ४.५ प्रतिशतमा जेस्टेसनल डायबेटिज देखिएको पाइयो। यी दुवै अध्ययनमा ३५ वर्ष पार गरेको गर्भवतीमा जेस्टेसलन डायजेटिज हुने सम्भावना बढी रहने गरेको देखाएको छ।

गर्भवती महिलाका उमेर ३० वर्षभन्दा बढी हुनु, शरीरको तौल बढी हुनु वा गर्भावस्थामा धेरै मोटाउनु, धेरै चिल्लो वा बोसो सेवन गर्नु, धेरै बच्चा पाउनु, पहिलेको बच्चाको तौल बढी हुनुजस्ता साना कुराले पनि जेस्टेसनल डायबेटिजको कारण हुन सक्छ। आमाबाउमा मधुमेह हुनु तथा गर्भवती महिलामा ‘पोलिसिस्टिक ओभरियन सिन्ड्रोम’ देखिनेहरूमा जेस्टेसनल डायबेटिजको सम्भावना बढिरहेको हुन्छ।

धेरै तिर्खा लाग्ने तथा पानी पिउने भोक लाग्ने, तौल घट्दै जाने, कमजोरी महसुस गर्ने, निद्रा नलाग्ने, हातखुट्टा झमझम गर्ने, घाउ निको नहुने, पिसाब तथा अन्य संक्रमण भइरहनेजस्ता मधुमेहका लक्षण जेस्टेसनल डायबेटिजमा नदेखिन पनि सक्छ। यस्ता गर्भवती तौल आवश्यकभन्दा बढी बढ्ने, पेट बढी ठूलो हुने, अल्ट्रासाउन्ड गर्दा पानीको मात्रा बढी देखिन सक्छ। तर यसैका आधारमा जेस्टेसनल डायबेटिज भएको ठहर गर्न सकिँदैन। त्यसैले यसको सम्भावना रहेको गर्भवतीलाई रगतमा चिनीको मात्रा परीक्षण गर्नुपर्छ। यस्ता गर्भवतीलाई सामान्य ग्लुकोजको परीक्षण मात्र नगरेर ८–१४ घन्टासम्म केही नखाएर (खाली पेट भएको अवस्थामा) अनि सय ग्राम ग्लुकोज खाएर एक घन्टा, दुई घन्टा र तीन घन्टामा गरी चारपटक रगतमा चिनीको मात्राको परीक्षण पनि गर्नुपर्ने हुन्छ। रगतको यस किसिमको परीक्षणलाई ओरल ग्लुकोज टोलरेन्स टेस्ट (ओजीटीटी) भनिन्छ। यो ७५ ग्राम ग्लुकोज खाएर पनि गर्न सकिन्छ। यसै परीक्षण (ओजीटीटी) का आधारमा जेस्टेसनल डायबेटिज भएको प्रमाणित गरिन्छ र उपचार सुरु गर्नुपर्ने हुन्छ।

जेस्टेसनल डायबेटिज भएका गर्भवतीमा गर्भको बच्चाको तौल बढी (चार किलोग्रामभन्दा बढी) हुने र त्यसैले गर्दा जन्माउन समस्या हुने, जन्मिनेबित्तिकै चिनी र महŒवपूर्ण तत्वको कमी हुने जस्ता खतरा हुन्छन्। यस्ता बच्चा खेर जाने सम्भावना पनि बढी रहेको हुन्छ। त्यस्तै गर्भवती महिलाको पनि रक्तचाप बढ्ने, शल्यक्रिया गर्नुपर्ने तथा अन्य मधुमेहका असर हुने भएकाले जेस्टेसनल डायबेटिज् भएको पत्ता लाग्नेबित्तिकै उपचार सुरु गर्नुपर्छ।

जेस्टेसनल डायबेटिज उपचारका लागि खानेकुरा तथा दैनिक गतिविधिमा अन्य अवस्था जस्तो धेरै नियन्त्रण गर्न मिल्दैन। धेरै ग्लुकोज भएका खानेकुरा जस्तै चिनी हालेका परिकार, अन्न (भात, रोटी, आलु तथा तरुल र अन्य गुलियो खानेकुरा) मा कम सेवन गर्न सकिन्छ। यस्ता व्यक्तिले हरिया सागपात धेरै खानुपर्छ। यसले भिटामिन र मिनरलको कमी हुन नदिनुका साथै ग्लुकोजको शोषणमा पनि ल्याउँछ। त्यस्तै गर्भावस्थामा गर्न मिल्ने र गर्भलाई असर नगर्ने हल्का किसिमका शारीरिक व्यायाम नियमित गर्नुपर्छ। व्यायामले इन्सुलिनको प्रभावकारिता बढाउनुका साथसाथै रगतमा ग्लुकोजको मात्रामा सन्तुलन ल्याउँछ।

मधुमेहका रोगीका लागि विभन्न किसिमका खाने औषधि भए पनि जेस्टेसनल डायबेटिजका लागि खाने औषधिहरू प्रयोग गर्न नमिल्ने तथा कम प्रभावकारी भएको देखिन्छ। यस अवस्थामा रगतमा चिनीका मात्रा निकै चाँडो र प्रभावकारी रूपमा नियन्त्रण गर्नुपर्ने भएकाले इन्सुलिन नै लिनुपर्ने आवश्यकता देखिन सक्छ। रगतमा चिनीको मात्राको मापन गरेर सोहीअनुसार इन्सुलिनको इन्जेक्सन आफैंले लिन सिक्नुपर्छ। गर्भको बच्चा जन्मिनासाथ इन्सुलिन लिनु नपर्ने हुन सक्छ। जेस्टेसनल डायबेटिज भएकामध्ये ३५ देखि ५० प्रतिशत महिलालाई कालान्तरमा मधुमेह हुन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण, स्वस्थ्य खानपान र नियमित व्यायाममा ध्यान पुर्‍याउनुपर्छ।
—साह प्रसूति तथा स्त्रीरोग विशेषज्फ् हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.