ओलीद्वारा मनोनित केन्द्रीय सदस्य पद अस्वीकार
परासी : पश्चिम नवलपरासीका एक नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले मनोनित गरेको केन्द्रीय सदस्य पद अस्विकार गरेका छन्। पार्टीको संघीय निर्वाचन क्षेत्र नं १ का जिल्ला इन्चार्ज एंव लुम्बिनी प्रदेश सचिवालय सदस्य वृहस्पति अधिकारीले उक्त पद अस्वीकार गरेको जनाएका हुन्।
'आधिकारीक रूपमा पार्टीको टुंगो नलागेसम्म म कुनै गुट उपगुटमा लाग्दिनँ। त्यसैले कुनै गुटको सदस्यमा रहेर बस्न नचाहेको हुं', उनले भने।
प्रधानमन्त्री ओलीले पश्चिम नवलपरासीबाट ३ महिलासहित ८ जना केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। मनोनितपछि जिल्लाबाट ६ जना नेता काठमाडौं गइसकेका छन्। मनोनित मध्येकी लुम्बिनी प्रदेश सभाकी समानुपातिक प्रदेश सदस्य भगवती भण्डारीले पनि केन्द्रीय सदस्य पद अस्विकार गरेको भन्दै स्थानीय केही सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन्। तर भण्डारीले भने घरायसी कारण देखाउँदै काठमाडौं जान नपाएको प्रतिक्रिया दिएकी छन्।