नेकपा विभाजनको बाछिटा : भक्तपुरमा दुवै समूहले गरे बहुमतमा भएको दाबी

नेकपा विभाजनको बाछिटा : भक्तपुरमा दुवै समूहले गरे बहुमतमा भएको दाबी

भक्तपुर : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजन भक्तपुर जिल्लामा पनि सतहमा आएको छ। प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल गरी दुवै समूहले भक्तपुरमा आफूहरु बहुमतमा रहेको दाबी गरेका छन्।

यहाँ साविक नेकपाका ३ केन्द्रीय सदस्य छन्। जसमध्ये केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले ओली समूहको नेतृत्व गरेका छन् भने प्रचण्ड-नेपाल समूहको नेतृत्व अर्का केन्द्रीय सदस्य दिलीप प्रजापतिले गरेका छन्।

तेस्रा केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र भने खुलेका छैनन्। साविक एमाले छँदा माधव नेपाल पक्षीय नेता मिश्र अहिले मौन छन्। 

प्रचण्ड-नेपाल समूहले उनी आफूहरुतिर आउने विश्वास व्यक्त गरेको छ। भक्तपुरमा नेकपाका चार प्रदेश सांसद रहेका छन्। जसमा दुइटै समूहमा आधाआधा बाँडिएका छन्। प्रदेश सांसद रहेका शशिजंग थापा र सरस्वती बाटीलाई ओली समूहले केन्द्रीय सदस्यमा समेत मनोनीत गरिसकेको छ।

त्यस्तै थप दुई प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठ प्रचण्ड-नेपाल समूहमा खुलेका छन्। श्रेष्ठद्वयले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा समेत हस्ताक्षर गरिसकेका छन्।

साविक नेकपाले भक्तपुरको जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य दिलीप प्रजापति र सहइन्चार्जमा अर्का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रलाई जिम्मेवारी दिइएको थियो।

त्यस्तै साविक एमाले र माओवादी केन्द्रबीच पार्टी समायोजन हुँदा भक्तपुरमा एकसय ४५ जनाको जिल्ला समिति गठन गरिएको थियो। भागबन्डाको आधारमा गठन गरिएको जिल्ला समितिमा पूर्वएमालेका ८२ जना र पूर्वमाओवादीका ६३ जना सदस्य थिए। जुन समितिको अध्यक्षमा एमालेका बचन देउजा र सचिवमा माओवादीका देवीप्रसाद ढकाललाई छानिएको थियो। 

अहिले पार्टी विभाजित हुँदा जिल्ला अध्यक्ष देउजा ओली र सचिव ढकाल प्रचण्ड-नेपाल समूहमा लागेका छन्।

जिल्ला इन्चार्ज प्रजापतिले साविक एमालेका सबै नखुले पनि प्रचण्ड-नेपाल पक्षमा बहुमत रहेको दाबी गरे।

उनले एकसय ४५ सदस्यीय जिल्ला समितिमा आफूहरुको पक्षमा ७७ जना भएको जिकिर गरे।

‘साविक एमालेका अधिकांश ओली समूहमै लागेका छन् तर एमालेको मूलधार र पुरानो नेतृत्व हामीसँगै छौं’, इन्चार्ज प्रजापतिले भने, ‘साविक माओवादी सबै हामी नै छौं। हाम्रो स्थिति राम्रो छ।’

उनले अर्का केन्द्रीय सदस्य सोमप्रसाद मिश्र आफूहरुसँगै आउने विश्वास व्यक्त गरे। अहिलेसम्म दुई समूहकै बैठकमा सहभागी नभएका मिश्रले एकदुई दिनपछि निर्णय दिने भनेर जानकारी दिएको इन्चार्ज प्रजापतिले जानकारी दिए।

त्यस्तै जिल्ला अध्यक्ष देउजाले पनि भक्तपुरमा ओली समूह नै बहुमतमा रहेको दाबी गरे। उनले एकसय ४५ सदस्यीय जिल्ला समितिमा आफूहरुको पक्षमा ८० जनासम्म पुग्ने जिकिर गरे।

‘हामी बहुमतमा छौं तर ८० को हाराहारीमा पुग्छौं’, अध्यक्ष देउजाले भने।

उनले भक्तपुरका ३ जना मेयर र २ जना उपमेयरमध्ये केन्द्रीय सदस्य एवं चाँगुनारायण नपाका मेयर मिश्रबाहेक सबै आफ्नो पक्षमा रहेको दाबी गरे। जसअनुसार मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नपाका मेयर वासुदेव थापा र उपमेयर जूना बस्नेत तथा चाँगुनारायण नपाकी उपमेयर वीणा बाँस्तोला ओली समूहमा रहेको अध्यक्ष देउजाको भनाइ छ।

चाँगुनारायण नपाका मेयर मिश्र पहिलेदेखि नै नेपाल पक्षीय भएकाले ओली समूहले उपमेयर बाँस्तोलालाई केन्द्रीय सदस्यसमेत बनाइसकेको छ।

‘ओली समूह ९० प्रतिशतमा छौं’
जिल्ला इन्चार्ज प्रजापति र अध्यक्ष देउजाको भनाइलाई माथ दिँदै ओली समूहका प्रदेश सांसद शशिजंग थापा र नेता निर्मल भट्टराईले भने भक्तपुरमा आफूहरु ९० प्रतिशत रहेको दाबी गरेका छन्।

उनीहरुले भक्तपुरमा प्रचण्ड-नेपाल समूह धेरै नै कमजोर रहेको जिकिर गरे।
गरिबी निवारण आयोगका अध्यक्षसमेत रहेका नेता भट्टराईले साविक पूर्वएमालेका ७ जना जिल्ला सदस्यमात्रै प्रचण्ड-नेपाल समूहमा खुलेको बताए।

पार्टी बेठीक ढंगमा गयो : श्रेष्ठ
यता साविक एमालेका पुराना नेता एवं प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठले नेताहरुको विवादले पार्टी बेठीक ढंगमा गएको बताए।

उनले सुरुदेखि नै पार्टी एकीकरणमा हतार नगर्न भन्दै आए पनि केही नेताको स्वार्थपूर्ति गर्न हठात पार्टी एकीकरण गर्दाको परिणाम देश र जनताले समेत भोग्नुपरेको सुनाए।

शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर प्रचण्ड-नेपाल समूहमा खुलेका नेता श्रेष्ठले भने, ‘त्यसबेलै पार्टी एकीकरण होइन क्षयीकरणतर्फ जाने भयो भनेको थिएँ, अहिले सही साबित भयो।’

उनले अहिले पार्टीको आधिकारिकतामा संख्याभन्दा सैद्धान्तिक, वैचारिक र नीति मुख्य हुनेमा जोड दिए। भक्तपुरमा पूर्वएमालेको मूलधार आफूहरुसँगै रहेको संकेत गर्दै सांसद श्रेष्ठले पार्टीको शक्ति र एकता मापन गर्ने आधार जनमत भए पनि अहिले त्यो सम्भव नभएकाले अब सैद्धान्तिक, वैचारिक र नीतिमा बहस गरेर जानुपर्ने आवश्यकता औंल्याए।

वि.सं. २०४७ देखि २०६० सालसम्म एमाले जिल्ला सचिव रहिसकेका उनले २०७५ जेठ ३ गते एमाले र माओवादी एकीकरण गर्दादेखि नै केपी ओलीले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) त्यागेको पुष्टि भएको स्पष्ट पारे।

त्यसैले अहिले प्रधानमन्त्री ओलीले जबजको प्रतिनिधित्व गर्छ भन्नु हास्यास्पद भएको नेता श्रेष्ठको टिप्पणी थियो।

‘नेता-कार्यकर्ताको अवमूल्यन भयो’
त्यस्तै भक्तपुरका पूर्वएमालेका पुराना नेताहरुले जनाधार नभएका जसलाई पनि केन्द्रीय सदस्य बनाएर ओली समूहले नेता कार्यकर्ताहरुकै अवमूल्यन गरेको गुनासो गरे।

भक्तपुर जस्तो सानो जिल्लामा साविक ३ जना केन्द्रीय सदस्य नै बढी भएको उनीहरुको भनाइ थियो।

‘तीनजना नै बढी भयो भनिरहेका थियौं फेरि पार्टी विभाजनबीच नै ओली समूहले आधा दर्जन केन्द्रीय सदस्य थप्नु जनता, पार्टी नेता तथा कार्यकर्ताहरुको अवमूल्यन हो’, उनीहरुले भने, ‘ भक्तपुरको लागि महेश बस्नेत नै काफी थियो तर फेरि ५ जना थपेर नेता कार्यकर्ताकै अवमूल्यन भयो।’

उनीहरुले कम्युनिष्ट पार्टीमा संख्याभन्दा गुण र सिद्धान्त महत्वपूर्ण हुनुपर्नेमा जोड दिए।

‘सिद्धान्त, विचार र नीतिलाई भन्दा संख्यालाई बढी महत्व दिनु कम्युनिष्ट पार्टीको लागि विडम्बना हो’, उनीहरुले भने, ‘संख्याले राजनीति होइन, कूटनीति र अराजकतामात्रै निम्त्याउँछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.