कविताको डिक्सनभित्र समाजको डिस्कोर्स
राष्ट्रको विडम्बनालाई उजागर गरिएको कविता ‘मेरो देश’मा पनि नेपाली वीरता र बहादुरीको इतिहास रटाएर मात्र हामी बाँच्न सक्दैनौं भन्ने आशय छ। आजका निम्ति वीरता र समृद्धिको नवीन र पृथक् ‘डिस्कोर्स’ चाहिन्छ भन्ने उनको भनाइ छ।
बहुविधागत स्रष्टा जगत् प्रेक्षितका दुई पछिल्ला कविताकृति ‘आरम्भ’ तथा ‘म, माटो र मुटु’माथि सर्वेक्षण गरिएको छ। २०७५ मा प्रकाशित यी दुवै कृतिमध्ये ‘आरम्भ’ २११ वटा हाइकुको संग्रह हो भने ‘म, माटो र मुटु’ ४० वटा छन्द कविताको संग्रह हो। नेपाल राज्यको अखण्डित भूगोल, लोकतान्त्रिक मान्यता र संस्कार परिमार्जनजस्ता विषयमा छन्दका विभिन्न स्वरूप प्रयोग गरी लेखिएका कवितामा कथ्य सरल र स्वाभाविक रूपले सांगीतिक छ।
संस्कृत शिक्षाको पृष्ठभूमिबाट उठेको उनको कवित्वले एकातिर हाम्रो समाजमा दिनानुदिन मर्दै गएको परम्परागत मूल्य संस्कारको पुनप्रवर्द्धन गर्न चाहेको देखिन्छ भने अर्कातिर नेपाली भूमिमाथि छिमेकी राष्ट्रबाट हुने बारम्बारको अतिक्रमणको बिरोध गरेको पाइन्छ। ‘सहिदहरूसँग अन्तरसंवाद’ कविताको अंश–
तिम्रा पौरखका किल्ला कहिल्यै ढल्न दिन्नँ म
तिमी झैं म स्वयं जल्छु देश यो जल्न दिन्नँ म
यी हाम्रा घरका कोठा चोटा टुक्रिन दिन्नँ म
बिरानो वनको साँढे यहाँ डुक्रिन दिन्नँ म।
धागोको विम्बलाई एकताको सूत्रका रूपमा प्रयोग गर्दै कवि प्रेक्षित जन्मभूमिको अखण्डता र सार्वभौमसत्ताप्रति अत्यन्तै सचेततापूर्वक खबरदारी गर्छन्। नेपाली वीरताको आद्यरूप पछिलो समयमा बिस्तारै स्खलित हुँदै गएको विडम्बनायुक्त आस्थाप्रति ‘मातृभूमिको आत्माभिव्यञ्जना’ शीर्षकको कवितामा कविको छन्दोबद्ध उद्गारको नमुना यस्तो छ—
बिस्र्यौ कसरी इतिहासलाई
कोरेर फाल्छौ किन त्यो सलाई
लाग्दा छिमेकी घरभित्र आगो
जल्नेछ तिम्रो पनि भित्र आगो।
राष्ट्रको विडम्बनालाई उजागर गरिएको कविता ‘मेरो देश’मा पनि नेपाली वीरता र बहादुरीको इतिहास रटाएर मात्र हामी बाँच्न सक्दैनौं भन्ने आशय छ। आजका निम्ति वीरता र समृद्धिको नवीन र पृथक ‘डिस्कोर्स’ चाहिन्छ भन्दै नेपाली समाजमा भइरहेको मूल्यमान्यता विनाशको विषयलाई उनले यसरी उल्लेख गरेका छन्—
पानी बग्दैन खोलामा जहाँ रुधिर बग्दछ
दिउँसै गृहिणीको त्यो सात्विक डग्दछ।
मातृभूमिको सम्मानजनक अस्तित्वका लागि कवि यस्तो प्रार्थना गर्छन्—
अग्लो सगरमाथा झैं अग्लै देश होओस् सधैं
अग्लै हुन् अगुवा सारा अग्लै हुन् जनता सबै।
मान्छेबीच हुने भेदभाव तथा शोषक र शोषितबीचको भिन्नतालाई पनि कविले विभिन्न प्रसंगमा उजागर गरेको पाइन्छ। प्रेक्षितका कविता मानव कल्याण र वर्गविभेदको समाधानका निम्ति प्रयत्नस्वरूप लेखिएका लोककल्याणमुखी भाव भएका कारण ‘संसार यो जित्नु छ’ शीर्षकको कवितामा उनी यसो भन्छन्—
कामै क्यै नगरेर मालिक हुने गर्ने सदा दास नै
हिँड्दै क्यै नहिँडेर पर्वत छुने हिँड्ने सधैं भासमै।
माथि दाबी गरिएजस्तै राष्ट्रियता र महिलामाथि हुने अनेक प्रकारका हिंसालाई ‘यक्ष प्रश्न’ भन्ने कवितामा पनि कविले उजागर गरेका छन्—
बेंसी औ लेकका सारा खेतबारीहरू लुकी
खान खोज्दैछ यी मेरा पँधेरा, घर औ कुटी
धर्ती रोइरहेको छ शीत झैं आँसु झर्दछन्
बलात्कृत भई कन्याहरू अकाल मर्दछन्।
कवि प्रेक्षितका प्रारम्भ कालदेखिका कविताहरूको अन्वेषण गर्ने क्रममा राष्ट्रियता र श्रमजीवी मान्छेका पक्षमा अडिगतापूर्वक सिर्जना गर्ने शब्दकर्मी हुन्। संस्कृत वाङ्मयको प्राज्ञिक पृष्ठभूमिबाट उठेर माक्र्सवादी दर्शनलाई जीवनको दृष्टिकोण बनाएका कवि हुन् उनी। दार्शनिक चेतयुक्त समालोचकीय व्यक्तित्व प्रेक्षित प्राचीन न्याय दर्शन र नेपाली साहित्यमा विशेष रुचि राख्छन्। सांगीतिक लालित्यले भरिएको भाषामा छन्दको प्रयोग उनका कवितामा छ। स्रष्टासँग पूर्ण रूपले जीवन र जगत्लाई हेर्ने स्पष्ट दृष्टिकोण र सोहीअनुरूपको व्यावहारिक इमानदारिता चाहिन्छ। तर राजनीतिक नेतृत्वका विकृत कार्यशैली र प्रवृत्तिलाई सधंैभरि दुत्कार्ने स्रष्टासर्जक आफैंभित्र चाहिं कस्ता छन् भनेर सबैले प्रश्न गरेको पाइन्छ। ‘विपर्यासी स्रष्टा’ शीर्षकको कविता—
आफूसँग क्यै नहुँदा साधा जीवन घोक्छ
अलिकति भएपछि अहंकार बोक्छ।
...
तर छ ऊ आचारमा सामन्तको मूली
आफैंमात्र हुनुपर्छ भन्छ सधैं चुली।
दोहोरो चरित्रका कतिपय कवि लेखकका स्वभावको चर्चा गरिएको छ संग्रहमा। उनले ‘कवि’ शीर्षकको कवितामा आदर्श कविको परिकल्पना गर्दै कवि समय र समाजसँग जिम्मेवार बन्नुपर्ने तर्क गरेका छन्। राष्ट्रप्रेमी नेपाली जनताका निम्ति मुलुकको विकास र समृद्धि एउटा चुनौती हो भने राष्ट्रको सीमा, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षण अर्को चुनौती। देशभित्रै विदेशीका स्वदेशी बिचौलियाबाट राष्ट्रको अखण्डतामाथि प्रहारको छनक बारम्बार देखिने गरेको छ। ‘माटो र मटु’ शीर्षकको कविता—
साधु बनी पसेछ कि बिरालो नै यहाँ
माटोमाथि मुसे दाउ नत्र हुन्थ्यो कहाँ।
कविताको ‘डिक्सन’लाई आधार मानेर कुरो गर्ने हो भने कवि प्रेक्षितको भाषामा कतिपय अवस्थामा शास्त्रीय संस्कृत भाषाका शब्द तथा पश्चिम नेपालको पहाडी जीवनप्रणालीसँग जोडिएका शब्दहरू पनि पाइन्छन्। यसले उनको छन्द भाषालाई झनै बढी सक्रिय र गतिशील बनाएको छ।
यसैगरी कवि प्रेक्षित हाइकुकार बनेर कृति नै तयार पारेका छन्। शब्द संयोजनद्वारा मस्तिष्कमा चित्र निर्माण गर्न सक्नु नै हाइकुको विशेषता हो। एउटा सफल हाइकुकारले पाठकको दिमागमा विम्बात्मक झंकार प्रस्तुत गर्न सक्छ, यसको ज्वलन्त नमुना हो हाइकु संग्रह ‘आरम्भ’।
हाइकु पनि कविता विधाअन्तर्गत नै पर्छ। त्यसैले पनि प्रेक्षितले आरम्भमा मुख्यतः सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक क्षेत्रका असंगति र विरोधाभाषहरूलाई हाइकुमार्फत कटाक्ष गरेका छन्। बौद्धिक देखिने लोभमा अबौद्धिक कतिपय सर्जकको भने दुर्दशा देखिन्छ। तर बजारमा देखिएका समस्याको सापेक्षमा हाइकुकार प्रेक्षितका हाइकुमा विम्ब र यसले वहन गरेको भावमा स्पष्टता र संगति प्रस्ट रूपमा पाइन्छ। यो प्रस्टता र सामञ्जस्य उनले आर्जन गरेको बौद्धिक परिपक्वताको परिणाम हो। केही हाइकु—
मेरो संस्कृति
युरोपमा फैलियो
नेपाल बुच्चै।
...
झम्के पानीले
झुम्म छ बिहानमै
मेरो लेखक।
...
बिताइदिएँ
शिशु प्रजातन्त्रमै
सत्तरी वर्ष।
छन्दको कुशल प्रयोगमार्फत प्रेक्षितले लेखनको केन्द्रस्थलमा राष्ट्रलाई राखेका छन्। नेपालको स्वाभिमानविरुद्ध भइरहेका देशीविदेशी आक्रमण र षड्यन्त्रबाट पुर्खाको बलिदानीपूर्ण संघर्षले निर्मित राष्ट्रलाई अक्षुण्ण राख्ने क्रममा उनका हाइकुको सान्दर्भिकता अहिले झनै वृद्धि भइरहेको छ। समाज परिवर्तनको निम्ति प्रगतिशील चेतलाई आफूभित्र आन्तरिकीकरण गरेका हाइकुकारले अन्धविश्वास र प्रतिगामी चिन्तन प्रणालीको विस्थापनमा वैज्ञानिक र तार्किक चिन्तन प्रणालीलाई अवलम्बन गरेका छन्।