पहिरोले थुनियो खोला
![पहिरोले थुनियो खोला](https://annapurnapost.prixacdn.net/media/albums/chitwn_20201227021423_YEfcWJcAGJ.jpg)
चितवन : माडी नगरपालिका–७ स्थित परुई खोलाको मुहान सेतो माटे डाँडामा सुक्खा पहिरो खसेको छ। पहिरोले पानीको बहाव थुनिएर ताल बनेपछि स्थानीय त्रसित बनेका छन्।
\सुवेदीलगायत स्थानीय दैनिक बढ्दै गएको ताल हेरेर बस्न बाध्य छन्। बाँध फुटेर बस्तीमा क्षति गर्छ कि भन्ने पिरलोले सताएको छ। ‘सोच्दै नसोचेको पहिरो जाँदा सपनाजस्तै भएको छ’, सुवेदीले भने, ‘बाँध भत्किन्छ कि भन्दै दिनहँु आएर हेरेर बस्छौं।’
बस्तीबाट तीन किमि परको डाँडामा पुस १ गते राति पहिरो खसेको हो। खोलामा पानी नआएपछि पहिरो गएको थाहा पाएको स्थानीयको भनाइ छ। माडीको सोमेश्वर पर्वत शृंखलाको डाँडा भत्किएको हो। खोला थुनिएर ५ सय मिटर लम्बाइ र ३ सय मिटर चौडाइको ताल बनेको छ। ताल फुटे गाउँ नै जोखिममा पर्ने हुँदा स्थानीय त्रसित बनेका हुन्।
स्थानीय गोमा तिमिल्सिनाले पहिरोको कारण गाउँ नै असुरक्षित भएको बताइन्। ‘बाँध फुट्यो भने हामी त सकिन्छौं। देख्दै डरलाग्दो भएको छ’, उनले भनिन्, ‘गहुँ तोरीमा सिँचाइ गर्न पाएका छैनौं।’ पहिरो खसेपछि देवेन्द्रपुरमा खानेपानीको अभाव भएको छ। स्थानीयले खेती बालीमा पानी हाल्न पाएका छैनन्। स्थानीयवासी नजिकको गाउँबाट पानी ओसार्न बाध्य छन्। पहिरो अझै जान्छ कि भन्ने चिन्ता उनीहरूको छ।
परुई खोला किनारमा केही तल चेपाङ बस्ती छ। उनीहरू चितवन राष्ट्रिय निकुञ्जभित्रको कुशुमखोलामा बसोबास गर्छन्। पहिरोले पुरिएको खोलाको बाँध फुटे घर बगाउने खतरा भएको स्थानीय छविलाल चेपाङले बताए। ‘बिहान कहिले हुन्छ भनेर डराएर सुत्नुपर्छ’, उनले भने, ‘देखे त भागौला, राति बाढी आए कता जाने ?’ पहिरोले बनाएको बाँध फुटाएर निकास दिन स्थानीयले माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)