अपर म्याग्दीको पहुँचमार्ग निर्माण सुरु
बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ। हाइड्रो इम्पायर प्रा.ली काठमाडौंले निर्माण गर्न लागेको आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण सुरु गरेको हो।
बिमको शिवरात्रीखोलादेखि भारबाङ, कल्लेनी, छहरी हुँदै बाँसबोटसम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्रयाक खोलिसकेको हाइड्रो इम्पायरका अध्यक्ष जितबहादुर घर्तिले जानकारी दिए। ‘सरकारले वन क्षेत्रमा काम गर्न अनुमति दिएपछि सार्वजनिक जग्गामा सडक र पूर्वाधार बनाउन सुरु हुन्छ’, उनले भने, ‘मनसुन अघिसम्म विद्युतगृह र आगामी मंसिरसम्म बाँधलाई पहुँचमार्गले जोडेर बाँध, सुरुङ र बिद्युतगृह निर्माण सुरु गर्ने तयारीमा छौं।'
यसअघि २० मेगावाटको अनुमति पाएको आयोजनाको क्षमता बढाएर ३७ मेगावाट बनाउन परिमार्जित वातावरणीय परीक्षण (इआइए) प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ। लगानी कर्ता खोज्ने काम पनि भइरहेको घर्तीले बताए।
आयोजनाले करिब १४ किलोमिटर दुरीको पहुँचमार्ग निर्माण गर्नुपर्नेछ। गाउँपालिकाले यस वर्ष पहुँचमार्गमा पर्ने खारादेखि खाम्ला जोड्ने सडक निर्माण गर्न ठेक्का लगाइसकेको छ। २०७५ मा पूर्वाधार विकास कार्यालयले कल्लेनीमा करिब डेढ किलोमिटर ट्रयाक खनेको थियो।
सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा १३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ। म्याग्दी खोलाको बाँया किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी, हेडरेस सुरुङ्ग बन्ने आयोजनाको विद्युतगृह म्याग्दी खोला र मुदी खोलाभन्दा १ किलोमिटर माथि प्रस्ताव गरिएको कम्पनीका सञ्चालक पूर्ण पुनले बताए।
तीन किलोमिटर ५५३.३३ मिटर लामो सुरुङ्गबाट ल्याइने पानी ३००.८८ मिटर अग्लो हेडबाट विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिने भएको छ। आउटलेटदेखि विद्युतगृहसम्म ७९७.९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ। उत्पादित विद्युत १० किलोमिटर लामो प्रशारण लाइनबाट डाँडाखेत सबस्टेशनबाट केन्द्रिय ग्रिडमा जोडिनेछ।
धवलागिरी गाउँपालिका–४ का वडा सदस्य केशरमान पुनले मालिका गाउँपालिका–७ बिममा १३२ केभी क्षमताको डाँडाखेत सबस्टेशन निर्माणको तयारी भएसँगै अपर म्याग्दी लगायत जलविद्युत आयोजनाले निर्माणको तयारी थालेका बताए।
‘वर्षौअघि पिपिए गरेर जेनेरेशन लाइसेन्स लिएर बसेका आयोजनाहरु सबस्टेशन र प्रशारण लाइन निर्माण सुरु हुन थालेपछि सक्रिय भएका छन’, उनले भने ‘जलविद्युत आयोजना भित्रिएसँगै दुर्गम क्षेत्रका बस्तीमा सडक यातायातको पहुँच बढ्ने, रोजगारी र आयआर्जनको अवसर सिर्जना हुने अपेक्षा छ।’
परामर्शदाता इनर्जी रिसोर्स एण्ड सोलुसुनका शंकर बस्यालले ७ अरब १० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको २०७८ पुषमा सुरुङ्ग निर्माण सुरु गरी तीन वर्षमा सक्ने लक्ष्य राखिएको जानकारी दिए। प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव न्युनीकरणका लागि आयोजनाको सामाजिक उत्तरदायित्व अन्तरगत छ करोड ३७ लाख लगानी हुने बस्यालले बताए।
धौलागिरी हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत उत्पादनका लागि विद्युत विकास विभागबाट थप चार वटा आयोजनाले निर्माणको अनुमति पाएका छन्। ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४.७० मेगावाट क्षमताको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजना निर्माणको अनुमति लिएका छन्।
धौलागिरी कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको दुई वर्षअघि शिलन्यास गरे पनि गति लिन सकेको छैन। धवलागिरी गाउँपालिकामा २३.७० मेगावाट क्षमताको म्याग्दीखोला ए, १५ मेगावाट क्षमताको धौलाखोला, ४.६ मेगावाट क्षमताको तिरिजा खोला, १२.७३ मेगावाट क्षमताको अपर मुदी, ३.४५ मेगावाट क्षमताको सिम्कोश र ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत आयोजना सर्वेक्षणको क्रममा छन्।
नेपाल विद्युत प्राधिकरणले डाँडाखेत र राहुघाटमा सबस्टेशन तथा प्रशारण लाइन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेपछि अनुमति लिएर बसेका आयोजनाले निर्माणको तयारी थालेको जनाएका छन्। सन २०२४ भित्र डाँडाखेत सबस्टेशन र प्रशारण लाइन निर्माण गर्ने विद्युत प्राधिकरणले जनाएको छ।