भक्तपुरका सीडीओलाई बुझाइयो राप्रपाका दुइटा ज्ञापनपत्र
भक्तपुर : भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीको एउटै व्यहोराको दुइटा ज्ञापनपत्र बुझाइएको छ।
राप्रपाले आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित जिल्ला पार्टीले ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको थियो। सोही कार्यक्रमअनुसार भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई एउटै व्यहोराको दुइटा ज्ञापनपत्र बुझाइएको हो।
केन्द्रीय तहमा कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा लोकतान्त्रिकबीच पार्टी एकीकरण भइसकेको छ। केन्द्रले जिल्लामा पार्टी एकीकरण गर्ने तोकेको म्याद गुज्रिए पनि भक्तपुरमा राप्रपा र राप्रपा लोकतान्त्रिकबीच एकीकरण हुन सकेको छैन।
त्यसैको असर आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने क्रममा पनि देखियो। जसअनुसार कमल थापा नेतृत्वको राप्रपा भक्तपुर अध्यक्ष माधव खत्रीले सुरुमा प्रमुख जिल्ला अधिकारीलाई पार्टीको ज्ञापनपत्र बुझाए। त्यसको १५ मिनेटपछि राप्रपा लोकतान्त्रिकका जिल्ला अध्यक्ष रामशरण लामिछानेले केन्द्रले नै तयार गरेको अर्को ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाए।
खत्री नेतृत्वको राप्रपाले पार्टीको लेटरपाय्डमा लेखिएको ज्ञापनपत्र बुझाएको थियो भने लामिछाने नेतृत्वको राप्रपाले बझुाएको ज्ञापनपत्र पार्टीको लेटरपाय्डविनाको।
पार्टी लेटरपायड्सहितको ज्ञापनपत्रमा राप्रपा भक्तपुरका दुई अध्यक्ष खत्री र लामिछानेको नाम उल्लेख गरिएको थियो तर खत्रीको मात्रै हस्ताक्षर गरिएको छ। संयुक्त नाममा हस्ताक्षर नगरेका अर्का अध्यक्ष लामिछानेले आफ्नो एक्लो हस्ताक्षर भएको छुट्टै ज्ञापनपत्र बुझाएका थिए।
खत्री चारजना केन्द्रीय नेता लिएर गएका थिए पनि लामिछाने ८ जना केन्द्रीय नेताको दलबलसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए।
खत्री नेतृत्वको राप्रपाले भक्तपुर नगरपालिका कार्यालयअघिबाट सामान्य प्रदर्शन गरी ज्ञापनपत्र बुझाएको थियो। खत्रीसँगै राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिकी सदस्य यवती कार्की र केन्द्रीय सदस्यहरु रामसुन्दर विष्ट, नरगोविन्द शंखदेव र जमुना कार्की सहभागी थिए।
त्यस्तै लामिछाने नेतृत्वको राप्रपाले भक्तपुर नपा १० कमलविनायकस्थित पार्टी कार्यालयबाट जुलुस प्रदर्शन गरेर दलबल भक्तपुर दरबार क्षेत्रस्थित जिल्ला प्रशासन कार्यालय पुगेको थियो। लामिछानेसँगै राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्हरु रवीन्द्रप्रताप शाह, दिनेश श्रेष्ठ, रामहरि थापा, किशोरबहादुर कार्की र प्रेम बलायर तथा केन्द्रीय सदस्यहरु रामेश्वर थापा, राजेन्द्र लाखा र उत्ता गिरी सहभागी भएका थिए।
भक्तपुरमा दुइटै राप्रपाले आफू शक्तिशाली भएको दावी गर्दै आएका छन्। जसअनुसार साविक दुइटै जिल्ला अध्यक्षले एकीकृत पार्टीको जिल्ला अध्यक्षमा दावी गर्दै आएका छन्। दुवै अध्यक्षले आआफ्नो अडान नछाडेपछि भक्तपुरमा पार्टी एकीकरण हुन सकेको छैन।
राप्रपा भक्तपुर अध्यक्ष खत्रीले पार्टी केन्द्रले दुई जिल्ला अध्यक्षलाई हस्ताक्षर गरेर संयुक्त ज्ञापनपत्र बुझाउन भने पनि राप्रपा लोकतान्त्रिक पक्ष नमानेको गुनासो गरे। पार्टीको लेटरपाय्डमा दुवै अध्यक्षको नाम राखेर हस्ताक्षर गर्न अर्का अध्यक्ष लामिछानेलाई आग्रह गर्दासमेत आनाकानी गरेर हस्ताक्षरसमेत नगरेको भनाइ थियो।
‘पार्टी केन्द्रले दुई अध्यक्षलाई हस्ताक्षर गरेर संयुक्त ज्ञापनपत्र बुझाउन भनेको थियो’, अध्यक्ष खत्रीले भने, ‘तर अर्का अध्यक्ष (रामशरण लामिछाने) लाई मैले सम्पर्क गरेर हस्ताक्षर गर्न धेरै प्रयास गरे तर आनाकानी गर्नुभयो।’
अर्का जिल्ला अध्यक्ष लामिछानेले भने केन्द्रले जिल्लामा के कसरी ज्ञापनपत्र दिने केही नभनेको स्पष्टीकरण दिए। उनले जिल्लामा पार्टी एकीकरण नभइसकेकाले अर्को पक्षले के भनेकै कुरा मान्नुपर्छ भन्ने नभएको बताए।
‘पार्टी केन्द्र र केन्द्रीय नेता कसैले पनि जिल्लामा संयुक्त भएर जान भनेको छैन’, अध्यक्ष लामिछाने भने, ‘बरु जिल्लामा भएका सबै केन्द्रीय नेताहरुको समेत ज्ञापनपत्रमा हस्ताक्षर गराउने हो कि भन्ने प्रस्ताव आएको तर त्यो पनि ढिलो आएको थियो।’
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनुअघि भक्तपुरको कमलविनायकबाट अघि बढेको राप्रपा विरोध प्रदर्शनका सहभागी। तस्बिर : अन्नपूर्ण