सिकाइ माध्यमबाट शिक्षालाई समृद्धिसँग जोडौं

सिकाइ माध्यमबाट शिक्षालाई समृद्धिसँग जोडौं

जैविक प्रविधि तथा सूचना प्रविधिको उच्चतम विकासपछि विश्वले जलवायु परिवर्तन, मानवको अमरत्व तथा अन्य ग्रहमा मानव बस्ती विस्तारतर्फ लगानी तथा शिक्षालाई उन्मुख गरिरहेको वर्तमान अवस्थामा अधिकांश हामी नेपाली दुई छाक भरपेट खाना, ओत लाग्ने सामान्य छाना तथा मौसमी प्रतिकूलताबाट सुरक्षित रहनका लागि नानाबारेमा सोच्दैमा अन्य विषयवस्तुतर्फ ध्यान दिन नसकेको अवस्थामा छौं।

सामान्य प्राकृतिक विपद्देखि कोभिड– १९ जस्ता महामारीसम्मका लागि विश्व समुदायको मुख ताक्नुपर्ने एकातिरको राष्ट्रिय अवस्था छ भने अर्कातिर केही उच्च कौशल प्राप्त तथा धनाढ्यहरूले यहाँको सम्पत्ति बसाइँसराइ गरी अन्य मुलुकमा समेत सारेको अवस्था छ। यिनै अवस्थाको वस्तुगत अनुवाद शिक्षा, स्वास्थ्य तथा रोजगारको वर्तमान उपलब्धता हो। यी तीनवटा तथ्यको समष्टिगत संयोजनलाई अन्तर्राष्ट्रिय संस्थाहरूले मानव विकास सूचकांक नाम दिएका छन्। मानव विकास सूचकांकका दृष्टिले हाम्रो स्थान विश्वको दाँजोमा मात्र होइन; छिमेकीका तुलनामा पनि उत्साहप्रद भएको मान्न सकिने अवस्था छैन। यस आलेखमा शिक्षा तथा रोजगारका क्षेत्रमा हामीले गरेका प्रयास तथा जोड दिनेपर्ने क्षेत्रका बारेमा चर्चा गरिनेछ।

सनातन धर्मले उपासनाका माध्यमबाट शक्ति हासिल गर्न सकिनेमा जोड दिएको पाइन्छ। मानवमा अन्तरनिहित शक्तिका आधार शिक्षा, स्वास्थ्य र रोजगारका माध्यमबाट प्रकट हुने भएकाले शिक्षालाई ज्ञानशक्ति, स्वास्थ्यलाई कर्मशील शक्ति तथा रोजगारलाई ऐश्वर्य शक्तिका रूपमा पनि बुझ्न सकिन्छ। ज्ञानशक्तिको उपासनाका लागि सरस्वती वन्दना, ऐश्वर्य शक्तिको उपासनाका लागि लक्ष्मी वन्दना तथा कर्मशक्तिको उपासनाका लागि भगवती वन्दना हाम्रो सनातनी परम्परा नै हो। उपासनालाई साधना, परिश्रम तथा मेहनतका रूपमा पनि बुझ्न सकिन्छ। यी तीनवटा शक्तिमध्ये सरस्वती तथा भगवती वन्दनालाई लगानीका रूपमा पनि अथ्र्याउन सकिन्छ भने लक्ष्मी वन्दना भने नतिजा नै मान्नुपर्ने हुन्छ।

यी तीनवटै शक्ति आपसमा अन्योन्याश्रित मात्र होइन कि विशेष क्रममा समेत रहेका हुन्छन्। एउटा शक्तिको उपार्जन नभई अर्को शक्तिको उपार्जन व्यक्तिका लागि उपयोगी भए पनि समाजका लागि उपयोगी नहुन सक्छ। पहिलो क्रममा ज्ञानशक्ति दोस्रो क्रममा कर्म शक्ति र अन्तिम क्रममा ऐश्वर्य शक्ति नै उपयुक्त क्रम मान्न सकिन्छ। ज्ञानशक्ति तथा कर्म शक्तिले संस्कार निर्माणमा सघाउ पुर्‍याउँछन् भने कर्म तथा धनशक्तिले आविष्कारमा मद्दत पुर्‍याउँछन्। यही आविष्कार नै उद्दमशीलता हो। यसका लागि कर्मस्थल अथवा कार्यस्थल उपयुक्त हुनुपर्छ। यही उद्देश्यबाट प्रेरित भएको क्रम नै तार्किक तथा वैज्ञानिक भएकाले यसलाई नै कार्यस्थलको शिक्षा अथवा व्यावसायिक शिक्षा मान्न सकिन्छ।

कक्षाकोठाको सिकाइ ज्ञान तथा कार्यस्थलको सिकाइ कर्मका रूपमा अर्थ लगाउने हो भने उपयुक्त ज्ञान तथा उपयुक्त कर्मले मात्र वास्तविक ऐश्वर्य प्रदान गर्न सक्छ। यही ऐश्वर्य नै सम्मानित रोजगार अथवा मर्यादित काम पनि हो। के हाम्रा शिक्षालय तथा शिक्षा प्रणाली यसका लागि तयार गरिएका छन् त ? शिक्षा नीतिमै उल्लेख गरिएको ‘शिक्षालाई सीपसँग जोड्ने, सीपलाई श्रमसँग जोड्ने, श्रमलाई उत्पादनसँग जोड्ने, उत्पादनलाई रोजगारसँग जोड्ने, रोजगारलाई विकाससँग जोड्ने र विकासलाई समृद्धिसँग जोड्ने’ वाक्यांशको आशय पनि ज्ञानशक्ति, कर्मशक्ति तथा ऐश्वर्य शक्तिको सबल बन्धनमा समुचित लगानी तथा व्यवस्थापनमा प्राथमिकता दिने भन्ने नै हुन आउँछ। यो भनाइको आशय पनि शिक्षा र रोजगारको अन्तरसम्बन्धलाई स्विकारी यही सम्बन्धलाई प्राथमिकतामा राखेको भन्ने लगाउनुपर्ने हुन्छ। के हाम्रो शिक्षा प्रणाली त्यसैअनुरूपको छ त ?

शिक्षा प्रदान गर्न शिक्षक, शिक्षालय तथा शिक्षण सामग्रीहरूको आवश्यकता पर्छ। यिनीहरूको समन्वयात्मक तथा समुचित प्रयोग नै सफल शिक्षण हुन आउँछ। औपचारिक शैक्षिक योग्यता हासिल गरेर शिक्षण संस्था तथा कार्यस्थलमा हुने कार्यबारेमा यथेष्ट अनुभव अथवा अवलोकन गरेको व्यक्ति नै शिक्षकका लागि उपयुक्त पात्र हुन सक्छ।

त्यसैगरी शिक्षक हुनका लागि आवश्यक अनुमति प्राप्त गरी सेवामा प्रतिस्पर्धाका आधारमा सफल ठहरिएको तथा आवधिक मूल्यांकनका माध्यमबाट क्षमता परीक्षण तथा विकासका लागि तत्पर शिक्षक नै उपयुक्त ठानिन्छ। पाठ्यक्रम तथा राष्ट्रिय पेसागत सीप प्रणालीका उत्पादन तथा उत्पादन प्रक्रियासँग जोड्ने गरी बनाइएको हुनुपर्छ। सिकाइ उद्देश्य तथा उपलब्धि र सिकाइ विधि तथा सिकाइस्थल निर्धारण गरिएको पाठ्यक्रम उत्पादन तथा उत्पादन प्रक्रियाका लागि सहयोगी पुस्तिका वा कार्यविधि सावित हुन जान्छ।

उत्पादनस्थल प्रयोगशाला नभई कार्यशालामा समेत रूपान्तरण भएको हुनुपर्छ। यो रूपान्तरणमा उद्योग तथा व्यवसायी सहभागी मात्र होइन; व्यक्तिगत, समूहगत तथा संस्थागत तवरले समेत साझेदार हुने वातावरण निर्माण गर्नुपर्छ। यो अवस्था निर्माण गर्नका लागि आवश्यक पर्ने आर्थिक लगानी उत्पादन अभिवृद्धिका लागि जनशक्ति निर्माण र जनशक्ति निर्माणका लागि शिक्षण–प्रशिक्षणका क्रममा हुनु नै एक आयामिक परिवर्तन हुन जान्छ। त्यसैले हालसम्म परम्परागत सोचमा रहेको रोजगारका लागि शिक्षाबाट माथि उठेर शिक्षाका लागि रोजगारको अवधारणा नै उपयुक्त हुन्छ।

पाठ्यक्रम निर्माणमा अपनाइएका विधिहरूको हालको प्रक्रिया हेर्दा निर्णयकर्ताले व्यवस्थापकीय अथवा प्राज्ञिक आधारमा पेसा आकलन गरी यसका लागि द्रूत बजार लेखाजोखा तथा तालिम आवश्यकता पहिचानका माध्यमबाट प्रमाणित गर्ने गरिँदै आएको देखिन्छ। यसबाट बजारमा प्रचलित पेसा, व्यवसाय तथा यसमा हुन सक्ने सम्भावित रूपान्तरणको आकलनमा पेसा व्यवसायी सक्रिय सहभागिता भएको देखिँदैन। उसले आफ्नो लगानीको परिमाण तथा लगानीको आकांक्षा गोप्य नै राखेको पाइन्छ। यो गोप्यता उजागर गर्ने वातावरण निर्माण गर्न सकेमा माथिको अन्योन्याश्रित अन्तरसम्बन्ध स्थापित गर्न सकिन्छ।्

शिक्षालाई समृद्धिसम्म जोड्नका लागि आफैंमा विश्वस्त भएको, औपचारिक विषयविज्ञबाट सल्लाह लिनमा हीनताबोध नगर्ने र आफूले गरेका कामको दीर्घकालीन प्रभावका बारेमा आश्वस्त राजनीतिक नेतृत्व अपरिहार्य भएको छ।

पेसा व्यवसायी तथा लगानीकर्ताको सञ्चालित व्यवसाय विकास तथा विस्तारका लागि प्रक्षेपित मानव संसाधन विकास योजना नै शिक्षा र उत्पादन चक्रलाई जोड्ने एक कडी हुन सक्छ। यसका लागि उद्योग व्यवसायीलाई सहुलियती कर्जा, आन्तरिक कर तथा राजस्वका दरहरूमा सहुलियत, संलग्न जनशक्तिको क्षमता विकासमा सहयोग र यी सम्पूर्ण प्रक्रिया सुलभ तथा सहज देखिने गरी संस्थागत कानुनी संरचना विकास नै एक सबल आधार हुन जान्छ।

माथि भनिएको कामको कार्यान्वयनका लागि संलग्न नेता तथा व्यवस्थापकमा योग्यता, नेतृत्व क्षमता तथा सामाजिक विश्वसनीयता अत्यन्तै आवश्यक पर्छ। योग्यता भनेको बाह्य औपचारिक प्रमाणपत्र मात्र नभई नेतृत्वको आन्तरिक कौशल तथा आत्मविश्वास पनि हो। निर्धारित कामका लागि आफैंलाई उपयुक्त ठान्न नसक्ने नेतृत्व तथा व्यवस्थापकले कार्य सम्पादन गर्न कठिन हुन्छ। अध्ययन तथा अनुभव दुवैबाट क्षमता प्राप्त हँुदै जान्छ। आफूले पाएको जिम्मेवारी निर्वाह गर्ने क्षमता तथा अठोट महŒवपूर्ण हुन्छ। नेतृत्व विकास अथवा छनोट प्रक्रिया पनि मानकमा आधारित, विश्वसनीय तथा स्वार्थरहित सम्यक् अभिप्राय उत्प्रेरित हुनुपर्छ।

नेतृत्वले विषयवस्तुको बोध, संगठन तथा समुदायको मनोविज्ञान र दिगोपनका लागि आर्थिक प्रभावबारेमा समेत हेक्का राख्नुपर्छ। काम तथा जीवनबीचको सन्तुलन नै अत्यधिक परिणामका लागि उत्प्रेरक मान्ने प्रचलन छ। विधिपूर्वक निर्धारण गरिएको काम अथवा नेतृत्व अवकाशपश्चात् पनि उत्तिकै स्मरणीय तथा सम्मानित हुन्छ। यही नै लौकिक तथा परलौकिक विश्वसनीयता हो। शिक्षा क्षेत्रमा मात्र होइन; अन्य क्षेत्रमा समेत नेतृत्व गरिरहेका पदाधिकारीहरूमा के पर्याप्त योग्यता, नेतृत्व क्षमता तथा सामाजिक विश्वसनीयता छ ?

नेतृत्व छनोटपछि कार्यान्वयनका बारेमा समेत चर्चा गरौं। कार्यान्वयन परिणाममुखी तथा मुनाफामुखी हुन्छ नै। यसमा तीनवटा अवधारणाका बारेमा समेत चर्चा गर्न सकिन्छ। पहिलो महान् तथा विश्वसनीय कार्यान्वयन। दोस्रो कार्यसूची तथा तथ्यमा आधारित कार्यान्वयन र तेस्रो महŒवाकांक्षा तथा लगानीमा आधारित कार्यान्वयन। पहिलोमा नयाँ सोच नै प्रधान हुन्छ। यसको कार्यान्वयनमा धेरै समय लाग्ने हुँदा तथा सर्वसाधारणले यसलाई ग्रहण गर्न अभ्यस्त नभइसकेकाले यो मुनाफाका हिसाबले त्यति प्रभावकारी देखिँदैन।

दोस्रो अवधारणाअनुसार प्रमाणित तथ्यका आधारमा कार्य सम्पादन हुने हुँदा यो प्रभावकारी तथा नतिजामुखी हुन्छ। पहिलोको तुलनामा यसको मुनाफा धेरै हुन्छ। तेस्रो अवधारणा बृहत् स्रोत परिलक्षित तथा उत्कट महत्वाकांक्षामा समेत आधारित भएकाले यसको प्रभावकारिता सिद्ध हुन सकेमा मुनाफा असाध्यै धेरै हुन्छ। शिक्षा क्षेत्रमा प्रमाणित तथ्य तथा दृष्टिकोणका आधारमै लगानी गरिने हुँदा तेस्रो खालको अवधारणा कारगर नै हुन्छ प्रभावकारिता तथा उच्च मुनाफाका हिसाबले। लगानीकर्ता नै विकासका उपक्रममा उत्प्रेरित हुने यो अवधारणा सार्वजनिक तथा निजी साझेदारीको उत्कृष्ट नमुना पनि हुन्छ।

 त्यसैले शिक्षालाई समृद्धिसम्म जोड्नका लागि आफैंमा विश्वस्त भएको, औपचारिक विषयविज्ञबाट सल्लाह लिनमा हीनताबोध नगर्ने र आफूले गरेका कामको दीर्घकालीन प्रभावका बारेमा आश्वस्त राजनीतिक नेतृत्व अपरिहार्य भएको छ। त्यसै आफूलाई योग्य महसुस गर्ने, अध्ययन तथा अनुभवका माध्यमबाट प्रशिक्षित तथा दीक्षित भएको अवकाशपछि पनि सम्पादित काममा संशय नआओस् भनेर सचेत प्रशासनिक नेतृत्वसमेत अपरिहार्य छ। यही नै आन्तरिक तथा बाह्य क्षमता विकास हो। छिटो तथा व्यापक नतिजाका लागि लगानीको दृष्टिकोण धेरै प्रभावकारी देखिएकाले र यो निजी क्षेत्र नै भएकाले सरकारले अंगीकार गरेको सार्वजनिक निजी साझेदारी नीतिअनुरूप नै कार्यस्थलमा आधारित सिकाइ माध्यमबाट शिक्षालाई समृद्धिसम्म जोड्ने अवधारणाको अनुसरण नै व्यावसायिक शिक्षाको पहिलो नीतिगत खुट्किलो हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.