कसरी थेग्नु शीतलहर ?

कसरी थेग्नु शीतलहर ?

विराटनगर : विराटनगर–११ का विजयेन्द्र मेहता ठेलामा सामान ओसारपसार गर्छन्। दिनभर ठेला चलाएर आएको आम्दानीबाट मेहताले तीन बच्चासहित पाँच जनाको परिवार पाल्नुपर्छ। गर्मीमा त लुगाफाटो नभए पनि हुन्छ। अहिले चिसोसँगै बढेको शीतलहरले ज्यान जोगाउन हम्मेहम्मे परेको छ। पञ्चमुखी चोक पश्चिम सानु झुप्रोमा बस्ने मेहता भन्छन्, ‘यो तीन महिना (पुस, माघ र फागुन) कसरी कटाउने हो ?’

अघिल्लो वर्षसम्म त वैशाखदेखि असोज–कात्तिकसम्म गरेको कामले जाडोलाई न्यानो कपडा र तातो सुप खाने सामान जोडेर गुजारा चलाए। यो वर्ष लकडाउनले गर्दा काम गर्ने समयमा भोकै र नांगै बस्नुपरेकाले अहिले झनै समस्या भएको उनी बताउँछन्। ‘काम गर्ने समयमा काम पाइएन। बाँच्नै मुस्किल भयो’, उनी भन्छन्, ‘अहिले परालको आगो र सुकेको झाडी तापेर रात काट्छौं। सामान्य कामले आएको रकमले खाइरहेका छौं।’

मेहताजस्तै पीडामा छ मोरङ ग्रामथान–२ का राजवीर चौधरीको परिवार। बालबच्चा र आफूलाई न्यानो लुगा र पेटभरि खानाको जोहो गर्न चौधरीले सकेका छैनन्। अकस्मात् बढेको चिसोले बालबच्चासँगै आफूलाई रोग लागे कसरी उपचार गर्ने भनेर सोच्न सक्ने अवस्थामा नरहेको उनी सुनाउँछन्। 

‘कतैबाट राहत छैन। मजदुरी गरेर बिहान–बेलुका खान पनि राम्रो पुग्दैन। चिसोमा साह्रै समस्या हुन्छ ज्यान जोगाउन’, उनी भन्छन्, ‘यो वर्ष अझै चिसो बढेकाले पीडा थपियो।’ मेहता र चौधरीजस्ता मजदुरी गरेर जीविका चलाउने प्रदेश १ का सयौं परिवार केही दिनदेखिको बाक्लो हुस्सु र चिसो हावासँगै सुरु भएको शीतलहरका कारण समस्यामा परेका छन्। मौसम एक्कासि चिसिएर शीतलहर सुरु भएपछि जनजीवन थप कष्टकर बन्दो छ।

चिसो बढेपछि सबैभन्दा बढी सर्वसाधारण मारमा परेका छन्। सामान्य बनिबुतो गरेर जीवनयापन गर्दै आएका, आर्थिक अवस्था कमजोर भएकाहरू, बस्ने घरको उचित व्यवस्थापन हुन नसकेका, सुकुम्बासी, गर्भवती, वृद्धवृद्धा र बालबालिका बढी कष्ट झेल्न बाध्य छन्। जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका प्रमुख विकास देउजा पछिल्लो समय न्यूनतम तापक्रम १० डिग्रीसम्म मापन गरिएको र चिसो बढेको बताउँछन्। मौसम परिवर्तनसँगै केही दिनदेखि घाम नदेखिँदा चिसो बढेर तापक्रम ओरालो झर्ने क्रममा रहेको उनको भनाइ छ।

कतिपय ठाउँमा सर्वसाधारण आगो तापेर चिसो भगाउने प्रयास गरिरहेका भेटिन्छन्। चिसोका कारण घरबारविहीन भएका र जाडोमा न्यानो कपडा किनेर लगाउन नसक्नेहरूको कन्तबिजोग भएको छ। चिसोसँगै केही दिनयता रुघाखोकी, निमोनिया, कोल्ड डायरिया तथा श्वासप्रश्वासका बिरामीको संख्या अस्पताल र स्वास्थ्य संस्थामा बढेको विराटनगरको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासको भनाइ छ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला चिसोबाट सर्वसाधारणलाई बचाउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर आवश्यक निर्णय लिने तयारी भइरहेको बताउँछन्। 

चिसोबाट प्रभावितका लागि जिल्लामा गृह मन्त्रालयबाट १० लाख रुपैयाँ प्राप्त भएको उनको भनाइ छ। उनका अनुसार स्थानीय तह, प्रहरी एवं विभिन्न संघसंस्थालाई आ–आफ्नो तर्फबाट चिसो प्रभावितलाई सहयोग गर्न आग्रह गरिएको छ। शीतलहरका कारण हुन सक्ने सम्भावित क्षति रोक्न मोरङका सरकारी तथा गैरसरकारी निकायलाई सक्रिय गराउने तयारी भइरहेको निरौलाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.