योमरी : परिकारसँगै संस्कृति

योमरी : परिकारसँगै संस्कृति

भक्तपुर : बुधबार मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमा। चन्द्रमासअनुसार नेपाल संवत्को तिथिमा थिल्ला पुन्ही। तर नेपालभाषी समुदाय यो दिन ‘योमरी पुन्ही’ मनाउँछन्।

यस दिन योमरी पकाएर खाने गरिन्छ। त्यसैले धान्य वा थिल्लाभन्दा योमरी पूर्णिमाले यो दिन बढी प्रख्यात हुँदै आएको छ। नेपालभाषी हरेक पूजा वा पर्वमा कुनै पनि परिकार पहिले देवीदेवतालाई चढाउने अनि मात्रै प्रसादका रूपमा आफूले ग्रहण गर्छन्। पुन्हीको दिन पकाउन सुरु गरिएको योमरी अरू बेला पनि पकाएर खान हुन्छ। फेरि योमरी पुन्ही एक दिन मात्र मनाइँदैन। योमरी पुन्हीको अर्को बिहान नेपालभाषी आफ्ना नातागोता, छोरी, ज्वाइँलाई घर बोलाएर योमरीसहितको भोज खुवाउने गर्छन्। यसरी अरू पुन्हीमा विशेष प्रकारको भोज खुवाउने गरिँदैन। 

के हो योमरी ? ‘यो’ भन्नाले मन पर्ने र ‘मरी’ भन्नाले रोटी हो। संस्कृतिकर्मी ओमप्रसाद धौभडेल योमरीलाई तत्कालीन समयको रोटी कम मिठाई बढी भएको जोड दिन्छन्। 

अधिकांश रोटी ताउ वा तेलमा पकाएर खाने गरिन्छ भने योमरी बफ्याएर पकाइन्छ। योमरी पुन्हीको दिन खानका लागि योमरी पकाउनुअघि नेवारहरू ठूलो आकारमा दुइटा योमरी बनाउँछन्। यी दुई योमरीमध्ये एउटालाई ‘मायो’ अर्थात् माता र अर्कोलाई ‘बायो’ अर्थात् पिता भनिन्छ। मायो त्रिकोणाकार हुन्छ र यो पकाउँदा यसमा चाकु तथा तिल नराखी दाल (मास, मुंग आदि) राखिन्छ। बायो भने गोलाकार हुन्छ। यसमा चाकु र तिलको मिश्रण राखेर पकाइन्छ। आम रूपमा खानका लागि पनि बायोजस्तै सानो आकारको योमरी बनाइन्छ।

घरलाई आवश्यक योमरी बनाइसकेपछि त्यसलाई ढुकुटीमा लगेर पूजा गरिन्छ। त्यस्तै कुमार, गणेश र आफ्नो घरअगाडि रहेका अन्य देवदेवीलाई योमरी चढाएर पूजा गरिन्छ। यी सबै विधि पूरा भएपछि मात्र भगवान्को प्रसादका रूपमा पुन्हीको दिन योमरी ग्रहण गर्छ नेपालभाषी समुदाय।

योमरी पुन्हीको दिन मात्रै योमरी पकाइँदैन। नेपालभाषी समुदायमा योमरी संस्कृति पनि हो। छोरी दुई जीउकी भएको खुसियालीमा माइती पक्षले गर्भवतीको मुख हेर्ने दिन योमरीलगायतका मीठो र पोसिलो परिकार पकाएर कोसेली लिएर जाने गर्छन्। हाल यसलाई ‘बेबी सोअर’ नाम दिएर होटल, रेस्टुराँ तथा पार्टी प्यालेसमा विविध कार्यक्रम गर्ने प्रचलन बढेको छ।

त्यस्तै बच्चाको जन्मदिन मनाउने बेला पनि योमरी प्रयोग गरिने संस्कृतिकर्मी धौभडेल बताउँछन्। उनका अनुसार जोर जन्मदिन मनाउने क्रममा चार वर्षदेखि वालिग नभएसम्म योमरीको माला लगाइदिएर जन्म दिन मनाइन्छ। त्यस्तै ज्येष्ठ नागरिकको जन्मको (भीमरथारोहण)का क्रममा पनि योमरी प्रयोग हुन्छ।

मौसमको हिसाबले योमरी पुन्ही पर्ने समय चिसो हुन्छ। त्यसमाथि योमरी पुन्हीको अघिल्लो दिन वर्षभरिकै लामो रात हुने मानिन्छ। त्यसैले योमरी बनाउँदा त्यसको चुच्चो जति तीखो बनाउन सकिन्छ, त्यति नै दिन लामो भएर आउने कथन छ।

योमरी पुन्हीको अघिल्लो दिन मध्यरातमै उठेर नेपालभाषी योमरी पकाउने काममा जुट्छन्। मध्यरातमा मंसिरमा भिœयाएको नयाँ धानको चामल कुटेर उक्त चामलको पनि पीठो पिनेर योमरी बनाएर बिहान हुनेबित्तिकै देवदेवीलाई चढाएर प्रसादका रूपमा योमरी खाने गरिन्छ। लामो रातमा पनि योमरी नबनाएर सुतिराख्ने अर्थात् उक्त रात सुत्न नपुग्नेलाई उसको जीवनभर कहिल्यै सुख नमिल्ने जनश्रुति रहेको संस्कृतिकर्मी धौभडेल बताउँछन्।

ऊर्जावान् योमरी
सकिमना पुन्हीमा पिँडालु र भुटेको गेडागुडी खाएर शरीरलाई चाहिने ऊर्जा र ताप दिएका नेवारहरू पुसमा बढ्ने जाडोबाट बच्न तथा शरीरलाई आवश्यक पर्ने ताप र ऊर्जा प्राप्त गर्न योमरी खान्छन्।

‘नेवारी चाडपर्व विज्ञानका दृष्टिले पनि वैज्ञानिक छ’, संस्कृतिकर्मी धौभडेल भन्छन्, ‘चिसो समयमा चाकु र तिलजस्तो गर्मी हुने खानेकुरा तात्तातो रोटीमा राखेर खाने चलन कुनै पनि किसिमले चाड वा संस्कृति मात्र मान्न सकिन्न।’ त्यसैले योमरी खाने परिकार मात्रै नभई संस्कृति र सांस्कृतिक साधनसमेत रहेको उनी स्पष्ट पार्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.