१६ आयोजना अलपत्र
बेनी : २०७६ असारमा सक्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत ७६ किलोमिटरको बेनी–जोमसोम सडकको हालसम्मको भौतिक प्रगति ५० प्रतिशत छ।
चैतमा लकडाउन भएदेखि काम रोकेका निर्माण कम्पनी अझै लयमा फर्किएका छैनन्। बेनी–जोमसोम–कोरोला सडक आयोजनाले २०७४ असारमा युनाइडेट–शर्मा (जेभी), शर्मा गजुरमुखी (जेभी) र पप्पु–तामाङ–कोसी–न्यौपाने जेभीसँग दुई अर्ब ५० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
२०७६ मंसिरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ म्याग्दीले १८ किलोमिटर लामो पोखरेबगर–चित्रे सडक कालोपत्रे गर्न मोतीदान–जयमाता जेभीसँग २७ करोड ९१ लाख ३५ हजार रुपैयाँमा ठेक्का सम्झौता गर्यो। २०७७ जेठ २२ गतेसम्मको ठेक्का सम्झौताको म्याद भएको यो आयोजनाको भौतिक प्रगति ३८ प्रतिशत छ।
६ अर्ब रुपैयाँमा भारतीय जेपी एसोसिएट्सले २०७४ मंसिर ५ मा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोसँग सम्झौता गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको तीन वर्षको भौतिक प्रगति २८ प्रतिशत छ। बाँकी ९ महिनाको ठेक्का अवधिमा ७२ प्रतिशत काम सक्न चमत्कार नै हुनुपर्छ।
उल्लिखित आयोजनाको प्रगतिले म्याग्दीमा सञ्चालित विकास आयोजनाको कार्यान्वयन अवस्था दर्शाउँछ। सम्बद्ध सरकारी निकायको बेवास्ता, निर्माण व्यवसायीको लापरबाही र समुदाय स्तरमा सिर्जित विवादले अर्बांै बजेटका दर्जनौं आयोजना थलिएका छन्।
म्याग्दीमा सडक, जलविद्युत्, प्रसारण लाइन, सबस्टेसन, भवन र मोटरेबल निर्माणसम्बन्धी १६ वटा आयोजना रुग्णमा परिणत भएका छन्। निर्धारित समयभित्र सम्पन्न नभएका र अपेक्षाकृत भौतिक प्रगति नभएका ती आयोजनाको ठेक्का सम्झौता रकम १३ अर्ब १६ करोड रुपैयाँ छ।
सबैभन्दा बढी नागरिकको सुविधासँग प्रत्यक्ष जोडिएको सडक निर्माण र स्तरोन्नतिसम्बन्धी आयोजना अलपत्र परेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी बताउँछन्।
ठेक्का लिएर आयोजना अलपत्र पार्नेमा सांसद र निर्माण व्यवसायी महासंघका नेतृत्वमा रहेका सञ्चालक रहेका निर्माण कम्पनीसमेत छन्। सांसदसमेत रहेका कांग्रसका नेता जिपछिरिङ लामा सञ्चालक रहेको लामा र अच्युत खरेलको समानान्तर निर्माण कम्पनीले मिलेर ठेक्का लिएको बेनी–दरवाङ सडक आयोजनाको काम नौ महिनादेखि भएको छैन।
२०७६ माघमा सकिनुपर्ने १३ किलोमिटर सडक कालोपत्रे गर्ने यो आयोजना लामा–समानान्तर जेभीले २०७४ मा ४५ करोड ५३ लाख रुपैयाँमा ठेक्का लिएको थियो। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सञ्चालक रहेको महादेव खिम्ती–गल्वा–रफिना जेभीले ठेक्का लिएको बेनी अस्पतालको ५० शय्या क्षमताको भवन २०७६ मंसिरमा सकिनुपर्ने थियो।
१८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँमा २०७३ मंसिर २१ गते सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँग सम्झौता भएको यो भवनको ६० प्रतिशत मात्र निर्माण सकिएको छ। बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले ६ महिनादेखि ठेकेदारले झारा टार्ने शैलीमा काम गरेको बताए।
अलपत्र परेको बेनी अस्पतालको ५० शैय्या क्षमताको निर्माणाधीन भवन। तस्बिर : सन्तोष गौतम