ब्रेक्जिटपछि नयाँ युगमा बेलायत

ब्रेक्जिटपछि नयाँ युगमा बेलायत

लण्डन : युरोपेली संघबाट बेलायतको बहुप्रतिक्षित बहिर्गमनको प्रक्रिया पूरा भएसँगै बेलायत नयाँ युगमा प्रवेश गरेको छ। बुधबार राती ११ बजेदेखि बेलायतले यसअघि संघको सदस्य राष्ट्रका रुपमा मान्दै आएको युरोपेली संघका नियम तथा कानूनहरुबाट मुक्ति पाएको छ। व्यापार, इमिग्रेसन, आवतजावत, सुरक्षा लगायतका क्षेत्रमा बेलायतले स्वतन्त्र रुपमा आफ्नै नीति-नियमको कार्यान्वयन सुरु गरेको छ। 

युरोपभित्रका २७ सदस्य राष्ट्रहरुबीचको राजनीतिक एवम् आर्थिक सम्बन्धको यो ‘नेटवर्क’सँग सन् १९७३ मा जोडिएको बेलायतको नाता ४७ वर्षपछि तोडिएको छ। सन् २०१६ मा सम्पन्न जनमत संग्रहमा बहुमत (५२%) बेलायती जनताले युरोपेली संघबाट बाहिरिने पक्षमा मत दिएका थिए। सोही म्यान्डेटअनुसार नै सन् २०२० को जनवरी ३१ तारिखमा बेलायत युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिएको थियो। तर त्यसयताका ११ महिनालाई संक्रमणकाल मानेर पुरानै कानूनहरु लागू गरिएको थियो। 

युरोपेली संघबाट अलग्गिएर बेलायतले अब स्वतन्त्र रुपमा आफ्नै कानूनहरुको कार्यान्वयन शुरु गरेको छ। नयाँ व्यवस्थाको कार्यान्वयनसंगै व्यापार, इमिग्रेसन, आवतजावत र सुरक्षाका सवालमा तत्काल नै प्रतक्ष्य र ठूला परिवर्तनहरु हुँदैछन्। 

बेलायत युरोपेली संघमा सदस्य रहँदासम्म बेलायत र युरोपबीच ‘फ्रि मुभमेन्ट’ सुविधा थियो। जसअनुसार युरोपेलीहरुलाई बेलायतमा र बेलायतीहरुलाई युरोपमा स्वतन्त्रतापूर्वक आवतजावत गर्न, बस्न वा काम गर्न छुट थियो। अब यो ‘फ्रि मुभमेन्ट’ अन्त्य भएको छ। जसको अर्थ बेलायत र युरोपबीच पनि अन्य मुलुकहरुको हकमा जस्तै आवतजावत गर्न, बस्न वा काम गर्न भिसा तथा आवश्यक अनुमति लिनुपर्ने हुन्छ। 

बेलायतले गत महिनादेखि लागू गरेको अंकमा आधारित इमिग्रेसन प्रणालीले यसअघि युरोपेली मुलुकका नागरिकहरुले पाउंदै आएको ’विशेषाधिकार’ लाई कटौती गरी सबै मुलुकका लागि समान नियम लागू गरेको छ। 

ब्रेक्जिटपछिका नयाँ कानूनहरुको कार्यान्वयन शुरु हुनु एक साताअघि मात्रै बेलायत र संघबीच भावी व्यापार सम्बन्धसम्बन्धी एक सम्झौता भएको छ। जसअनुसार दुई पक्षबीच कुनै ‘ट्यारिफ’ वा ‘कोटा’ बिना नै स्वतन्त्र व्यापार गर्ने सहमति भएको छ। तर अब बोर्डरहरुमा चेक-जाँच भने पहिलाभन्दा बढी हुनेछन्। 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतलाई थप स्वतन्त्रता र आफ्नो देशको पक्षमा अझ राम्रो गर्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिएका छन्। युरोपेली संघबाट बाहिरिएपनि बेलायत युरोप महादेशमै रहेको जनाउँदै उनले भविष्यमा पनि युरोपेली मुलुकसंगको सम्बन्ध आफ्नो प्राथमिकतामा पर्ने उल्लेख गरेका छन्। 

युरोपेली संघका नेताहरुले पनि बेलायत संघको एक निकट मित्रका रुपमा रहिरहने बताएका छन्। युरोपेली संघसंगको फेरिएको सम्बन्धपछि बेलायतमा गैरयुरोपेली मुलुकहरुका लागि भने थप अवसरहरु सिर्जना हुने आशा गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.