उद्योगी पक्राउ परेलगत्तै लुम्बिनी चिनी मिलले किसानलाई भुक्तानी दिन थाल्यो
परासी : पश्चिम नवलरपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ परे लगत्तै उखु किसानहरुलाई भुक्तानी दिन सुरु गरिएको छ । अग्रवालले बैंक खातामा २ करोड रुपैयाँ जम्मा गरेको जनाए पनि किसानहरुलाई भने भुक्तानी दिइएको थिएन ।
बिहीबार विरगञ्जबाट अग्रवाल पक्राउ गरे लगत्तै उद्योगले जिल्लाका किसानहरुलाई भुक्तानी दिन सुरु गरेको हो । प्रहरीले पक्राउ गरेका अग्रवाललाई विरगञ्जबाट नवलपरासी पुर्याउँदै छ । अग्रवाल नवलपरासी नपुग्दै उद्योगका प्रबन्धक बिजय कुमार गुप्ता बिहीबार दिउँसो जिल्ला प्रशासन पुगेर किसानको रकम भुक्तानी प्रकृया सुरु गरिएको र पुस मसान्तभित्र सबै रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए ।
गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने अन्य रकम बैंक मार्फत प्रक्रिया सुरु गरिएको जिल्ला प्रशासनमा जानकारी गराएका थिए । बिहीबार साँझसम्म उद्योगले किसानहरुको खातामा १ करोड ९ लाख रुपैयाँ जम्मा गरी सकेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
‘उद्योगका प्रबन्धकले पुस २४ गतेभित्र पुन : २ करोड रुपैयाँ जम्मा गर्ने र बाँकी रकमको बैंक ग्यारेण्टी पत्र ल्याउने प्रतिबद्धता जनाएका छन्,’ प्रजिअ पाठकले भने । उद्योगका सञ्चालकलाई भुक्तानीको अवस्था र सुनिश्चितता बारे सोधपुछ गर्न विरगञ्जबाट नवलपरासी बोलाइएको पाठकले बताए ।
उद्योगले कुल ८ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी छ । उद्योगका प्रबन्धक गुप्ताले अहिले २ करोड जम्मा गरेर भुक्तानी दिन सुरु गरेको बताए । हप्ता दिनभित्र अरु २ करोड जम्मा गरेर फेरि भुक्तानी दिन्छौं । शुक्रबारसम्म बैंक ग्यारेण्टी हुन्छ । त्यसपछि किसानहरुका रसिद जम्मा गरेर पुस मसान्तभित्र सम्पूर्ण रकम भुक्तानी दिन्छौं,’ गुप्ताले भने । भुक्तानीपछि माघ १ बाट उद्योग नियमित सञ्चालन गर्ने उनले बताए ।
उद्योगका सञ्चालक मनिष अग्रवालको निधन भएपछि अंशवण्डामा उक्त उद्योगको स्वामित्व मृतकका भाई मनोजले लिएका हुन् । त्यसैगरी इन्दिरा चिनी उद्योगका सञ्चालक राकेश अग्रवाल काठमाण्डौं रहेको र प्रहरीले निगरानी बढाइ रहेको प्रजिअ पाठकले बताए । इन्दिराले ५ करोड भुक्तानी दिन बाँकी रहेको पाठकले जानकारी दिए ।‘उद्योगले ८० लाख रुपैयाँ खातामा जम्मा गरेको भए पनि किसानलाई दिएको छैन । ठगी मुद्दा दर्ता भएकाले उनी पक्राउ परे लगत्तै कारबाही प्रकृया अघि बढाएर किसानको रकम तिर्न लगाउँछौं । ’प्रजिअ पाठकले भने । जिल्लामा ३ चिनी उद्योग छन् । हाल बागमती चिनी उद्योग मात्र सञ्चालनमा छ ।