बागमती प्रदेश सभाको सातौं अधिवेशन माघ ७ गते
हेटौंडा : मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव आउने डरले लामो समयदेखि अनिश्चित बनेको बागमती प्रदेशको प्रदेशसभा बैठक आगामी माघ ७ गते बस्ने निश्चित भएको छ। शुक्रबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको सातौं अधिवेशन माघ ७ गते दिउँसो ३ बजे बोलाउने निर्णय गरेको हो।
शुक्रबार बसेको बैठकले सातौं अधिवेशन बोलाउने निर्णय गरी प्रदेश प्रमुख विष्णु प्रसाईंलाई पत्राचार गरिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए।
बजेट अधिवेशन सकिएसँगै साउन ८ गते प्रदेशसभाको छैटौं अधिवेशन स्थगित भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको दाहाल-नेपाल समूहबाट प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश सभाको सातौं अधिवेशनको विषय अन्योलमा परेको थियो।
ओली समूहका मुख्यमन्त्री पौडेल विरुद्ध पुस १० गते दाहाल-नेपाल समूहका ४५ जना सांसदहरुले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
एउटा अधिवेशन सकिएको ६ महिनाभित्र अर्को अधिवेशन सुरु गर्नुपर्ने कानूनी प्रावधान छ। सोही बाध्यताका कारण प्रदेश सरकारले राजनीतिक दृष्टिले संवेदनशील अवस्थामा समेत अधिवेशन तय गरेको देखिन्छ।