जनगणनाको तयारी

जनगणनाको तयारी

काठमाडौं : देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदैछ। ६ महिनापछि घरघरै पुगेर विवरण संकलन गरिँदैछ। केन्द्रीय तथ्यांक विभागले जनगणनाको तयारी तीव्र रूपमा अघि बढाएको छ। 

यसअघि २०५८ र २०६८ मा पूर्णगणना विधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो। यसपटक भने पूर्णगणना विधिबाट जनगणना हुनेछ। पूर्णगणना विधि सबै घरमा पुगेर गरिने तथ्यांक संकलन गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए। ‘विगतमा बहुविधिबाट जनगणना  हुन्थ्यो। यसपटक एकल विधिबाट जनगणना गर्दैछौं’, उनले भने, ‘आठ घरमध्ये एक घरलाई छनोट गरेर गरिन्थ्यो भने यसपटक सबै घरमा पुगेर जनगणना गरिनेछ।’ १९६८ सालदेखि  प्रत्येक १०/१० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना २०७८ मा छुट्टै महŒवको हुनेछ। ७ वटै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहको जनगणना गरिनेछ। आगामी जेठ २५ देखि असार ८ गतेसम्म १५ दिन राष्ट्रिय जनगणनाको मिति तय गरिएको छ। ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ कोही नछुटोस् कोही नदोहरियोस् भन्ने उद्देश्य राखिएको छ।

संघीयतासँगै प्रविधि र विधि, नियम कानुन तथा संरचनागत रूपमा नयाँ शैली अपनाएर जनगणना गरिने निर्देशक लामिछानेले बताए।  विगतमा कागजी प्रविधिको मात्रै प्रयोग हुने गरेकोमा अब कागजीका साथै विद्युतीय र इन्टरनेट प्रविधिबाट समेत जनगणना हुने उनले जानकारी दिए। काठमाडौं उपत्यकामा ट्याब्लेट विवरण संकलन गरिने योजना बनाइएको छ। अन्य स्थानमा कागजमा नै विवरण भरिनेछ। विदेशस्थित राजदूतावास, कूटनैतिक नियोगमा इन्टरनेटमार्फत ई–सेन्सस प्रविधिबाट तथ्यांक संकलन गरिनेछ। विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले कोभिड—१९ का कारण जनगणनाको काम प्रभावित नभएको बताए। प्रचार, प्रशिक्षणलगायत अन्य आवश्यक जनगणना सामग्रीको छपाइ तथा खरिद प्रक्रिया भइरहेको उनले जानकारी दिए। चौलागाईंका अनुसार जनगणनामा करिब ६० हजार कर्मचारी परिचालन हुनेछन्। जसमा ४२ हजार गणक र १० हजार सुपरिवेक्षक खटिनेछन्। 

विभागको केन्द्रीय टोली तथा संघ प्रदेश, जिल्ला र स्थानीयमा छुट्टै संयन्त्र पनि हुनेछन्। माघमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने विभागको कार्यतालिका छ। ती प्रशिक्षकले प्रदेश र स्थानीय तहमा तालिम दिन्छन्। गणकलाई वैशाखमा तालिम दिने तयारी रहेको चौलागाईंले बताए। ‘हामीलाई सबैभन्दा ठूलो चटारो नै तालिममा छ’, उनले भने, ‘यति धेरैलाई तालिम दिनुपर्छ।’

अहिले प्रश्नावली छाप्ने काम भइरहेको छ। सात प्रदेश र ७ सय ५३ वटै स्थानीय तहका फरकफरक विवरण राख्न करिब ८० प्रश्नावली बनाइएको छ। यस पटक तीन किसिमका प्रश्नावली छन्। विगतमा दुई किसिमका प्रश्नावली मात्रै थिए। वडास्तरसम्मै संकलन गर्नु भएको भएको सामुदायिक प्रश्नावली थप गरिएको छ।  पारिवारिक विवरण तथा घरपरिवारको सूचीकरण सुपरिवेक्षकले स्थानीय तहमा पुगेर संकलन गर्नेछन्। यो काम २०७८ वैशाख २६ देखि जेठ १८ गतेसम्म हुनेछ। 

मुख्य प्रश्नावलीका लागि गणकहरू घरघरमा पुग्नेछन्। यो घर तथा पारिवारिक गणना जेठ २५ देखि असार ८ सम्म गर्ने तयारी गरिएको छ। जनगणनामा घरधनी बसोबास नगर्ने घर/भवन/मल पनि गणनामा समेटिँदैछ। अर्को सामुदायिक प्रश्नावली मुख्य जनगणनाको अवधिमा भरिनेछ। सुपरिवेक्षकले नै सामुदायिक प्रश्नावली भराउनेछन् ।  गाउँ, सहर छुट्ट्याउने गरी प्रश्नावली तयार गरिएको छ। ‘अहिलेसम्म नेपालमा कति गाउँ, कति सहर छन् भन्ने अलमल नै छ। यसकारण गाउँ, सहर छुट्ट्याउने किसिमका प्रश्नावली छन्’, चौलागाईंले भने । 

पुर्खाको भाषा थप 
यसपटक जनगणनामा पुख्र्यौली भाषाको प्रश्न थप गरिएको छ। मातृभाषा र दोस्रो भाषा समावेश गरिएको छ। वडास्तरसम्मै विवरण पठाउनुपर्ने भएको पूर्णगणना विधिबाट मात्रै विवरण संकलन गरिने विभागका निर्देशक लामिछानेले बताए। प्रशासनिक रूपमा ७ प्रदेश, जिल्लास्तरीय कार्यालय, ३ सय ४९ स्थानीय जनगणना कार्यालय स्थापना हुनेछन्। काठमाडौंमा ५, मोरङ, सुनसरी, रूपन्देही, कैलालीमा २/२ जिल्ला कार्यालय स्थापना हुनेछन्। चैत ७ मा जिल्ला र प्रदेश तथा वैशाख १ मा स्थानीय तहमा कार्यालय स्थापना हुनेछन्। कर्मचारी तहमा मात्रै हुँदै आएको २०७८ को गणनामा राजनीतिक नेतृत्वलाई सहभागिता गराउने तयारी गरिएको छ। वडास्तरमा वडाध्यक्षको संयोजकत्वमा वडा सहजीकरण समिति बन्नेछ।  

बेरोजगार युवा परिचालन 
विगतमा शिक्षकलाई गणक तथा सुपरिवेक्षकका रूपमा खटाउने गरिएकोमा यसपटक बेरोजागर युवा परिचालन गरिने भएको छ। केही समय भए पनि युवालाई रोजगार बनाउने उद्देश्य राखिएको निर्देशक लामिछानेले बताए। उनका अनुसार १८ वर्षदेखि ४५ वर्षसम्मका बेरोजगार युवा जनगणनाका लागि भर्ना गरिनेछ। अनलाइनबाटै विज्ञापन गरेर गणक तथा सुपरिवेक्षक भर्ना गरिनेछ।  शिक्षकलाई प्रशिक्षण, अनुगमन तथा प्रचारमा मात्रै परिचालन गर्ने तयारी गरिएको छ। 

२०६८ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो। पुरुषको जनसंख्या १ करोड २८ लाख ४९ हजार ४१ र महिलाको जनसंख्या १ करोड ३६  लाख ४५ हजार ४ सय ६३ थियो। घरपरिवार संख्या ५४ लाख ५३ हजार २ सय ९७ थियो। जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो। हालको जनसंख्या ३ करोड १ लाख ८० अनुमान गरिएको छ।

सुरक्षा पाए लिम्पियाधुरासम्मै गणना
सरकारले सुरक्षाको प्रत्याभूति गरे लिम्पियाधुरा क्षेत्रका कुटी, गुन्जी, नाभीको पनि गणना गरिने विभागले बताएको छ। ‘सबै ठाउँको जनगणना गर्ने हो। राज्यले सुरक्षा दिए अतिक्रमित क्षेत्रबाट तथ्यांक ल्याउनुपर्छ, ल्याउछौं’, विभागका सूचना अधिकारी चौलागाईंले भने। 

उक्त क्षेत्रमा २०१८ सालसम्म जनगणना भएको थियो। अग्रज पत्रकार भैरव रिसालले कुटी, गुन्जी, नाभीको जनगणना गरेको बताउँदै आएका छन्। उनले सुदूरपश्चिमका डोटी, बैतडी र डडेलधुरामा टोलीको नेतृत्व गरेका थिए। भारतले कब्जा गरेका लिम्पियाधुरा छेउका गब्र्याङ, नाभी र गुन्जी त्यो बेला नेपालमै थिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.