शून्य दुर्घटनाको पहल
ललितपुर : सडक दुर्घटनालाई शून्यमा झार्ने लक्ष्यका साथ ललितपुर महानगरले काम सुरु गरेको छ। दुर्घटनाबाट कसैको ज्यान नजाओस् भन्ने अभिप्रायले महानगरले महानगरीय ट्राफिक महाशाखा तथा नगर प्रहरीसँग सहकार्य गरेको छ।
सोमबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईलाई ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले रबर कोन, ह्विल लकलगायतका सामग्री हस्तान्तरण गरे। महानगरले दुई सय थान रबरका ट्राफिक कोन, एक सय थान डन्डी, ह्विल लकलगायतका सामान उपलब्ध गराएको हो। अँध्यारोमा चम्किलो देखिने, पार्किङ निषेध क्षेत्रमा राख्न मिल्ने र सवारी लेन चिन्न सजिलो हुने खालका भएकाले यस्ता सामग्रीले दुर्घटना रोक्न सहयोग गर्ने महर्जनको विश्वास छ।
सवारी ठोकिएको खण्डमा पनि चोटपटक नलाग्ने र नरम खालका सामग्री भएकाले चक्रपथको ब्लाकस्पट बनेका क्षेत्रमा राखिने बताइएको छ। ललितपुरको ७.९ किलोमिटर क्षेत्रमा चक्रपथ पर्छ। त्यहाँ बत्ती, सांकेतिक चिन्ह नहुँदा प्रायजसो दुर्घटना हुने गरेको छ। ‘त्यस्ता ठाउँमा तुरुन्तै यी सामग्री राख्छौं’, मेयर महर्जनले भने, ‘धोबीघाटबाट कीर्तिपुर जाने चोक, जाउलाखेल, एकान्तकुना, यातायात व्यवस्था विभागलगायतका ठाउँमा पनि राख्छौं।’
नगर प्रहरी प्रमुखका रूपमा पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथूको नियुक्तिपछि सडक सुधारका धेरै काम भएको महानगरको दाबी छ। महानगरले नगर प्रहरीलाई समेत ट्राफिक व्यवस्थापनको तालिम दिन थालेको छ। महाशाखाका प्रमुख भट्टराईले सडकमा साँझको समयमा फुटपाथ चल्दा दुर्घटना तथा जाम हुने बताए। ‘साँझ परेपछि व्यापार हटाउनुपर्छ, जहाँ समस्या छ। त्यहाँ तुरुन्तै प्रहरी पुग्नुपर्छ, उनले भने, ‘अन्यथा प्रचार मात्र हुनेछ।’ एकअर्को निकायसँग सहकार्य गर्दा सडक जाम र दुर्घटना न्यूनीकरण गर्न सकिने उनको विश्वास छ।