विपद् न्यूनीकरणका लागि कार्ययोजना
परासी: विपद् न्यूनीकरणका लागि कार्ययोजना बनाएर अघि बढ्न जिल्ला विपद् व्यवस्थापन समिति पश्चिम नवलपरासीले स्थानीय तह र सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
शितलहर प्रभावितमध्ये नवलपरासी ११ औं जिल्लामा छ । हालसम्म जिल्लामा चिसोबाट कोही पनि प्रभावित भएका छैनन् । विगतका वर्षहरुमा पुस र माघ महिनामा अत्याधिक चिसो बढ्ने भएकाले यस वर्ष पनि बढ्न सक्ने सम्भावनालाई मध्य नजगर गर्दै विपद् व्यवस्थापन समितिले आपतकालिन कार्य योजना बनाएर तयारी अवस्थामा रहन आग्रह गरेको हो ।
त्यसका विपन्न परिवारको पहिचान गरी न्यानो कपडा, दाउरालगायतका सामाग्रीहरु तयारी अवस्थामा राख्न अनुरोध गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।
यसैबीच विपद् न्यूनिकरणका लागि सहयोग पुर्याउने उद्देश्यले शुक्रबार नमुना एकीकृत विकास परिषद् भैरहवाले सञ्चार सामाग्री उपलब्ध गराएको छ । बाढीको समयमा पूर्व सूचना दिन प्रयोग हुने उक्त सामाग्री परिषद्की अध्यक्ष ज्ञानु पौड्यालले प्रमुख जिल्ला अधिकारी पाठकलाई हस्तान्तरण गरेकी हुन् ।
जिल्लाको आपतकालीन सूचना केन्द्रका लागि उपलब्ध गराएको सामाग्रीमा २ थान माइक, सञ्चार सेट र १० थान स्वच्छता सामाग्री रहेको छ ।