फोहोर जलाउनेलाई हुँदैन कारबाही
काठमाडौं : खुला स्थानमा जथाभावी फोहोरमैला र कृषि अवशेष जलाउँदा प्रदूषण बढ्ने गरेको पाइएको छ। सवारीसाधन, इँटाभट्टालगायत अन्य उद्योग, कलकारखाना र पूर्वाधार विकासले वायुको गुणस्तर खस्काइरहेको छ।
जथाभावी फोहरमैला जलाउनेलाई कानुनी कारबाहीको व्यवस्था भए पनि कार्यान्वयन भएको छैन। वायु प्रदूषणविज्ञ भूपेन्द्र दास भन्छन्, ‘फोहोरमैला जलाएमा गहन सजायको व्यवस्था छ। तर यो कार्यान्वयनमा आउन सकेको छैन। फोहोर जलाउनेलाई ६ महिनासम्मको सजाय र ५ हजारदेखि १ लाखसम्म जरिवानाको व्यवस्था छ।’ उनका अनुसार इँटाभट्टामा प्रयोग हुने कोइलाले पनि वायु प्रदूषण बढाउने गरेको छ।
कोइलामा हानिकारक ग्याँस सल्फरडाई अक्साइड र नाइट्रस अक्साइड हुन्छ। स्पष्ट मापदण्डबिना नेपालमा कोइलाको प्रयोग भइरहेको दास बताउँछन्। जलाइएको कोइलाबाट निस्कने धुवाँ, धुलो मानव स्वास्थ्यका लागि निकै हानिकारक हुने उनले बताए। सवारी साधनले फाल्ने धुवाँले प्रदूषण बढाइरहेको प्रस्ट हुँदाहुँदै राज्यले प्रभावकारी कदम नचालेको दाससहितका विज्ञ बताउँछन्।
जाडो मौसममा सार्वजनिक स्थलमा धुनी ताप्ने कार्यले तराईमा प्रदूषण बढ्ने गरेको उनीहरूको ठहर छ। काठमाडौंमा तराईदेखिको प्रदूषण भित्रिने गरेको दासले बताए। तराईमा ‘कम्बाइन हार्भेस्टर’को प्रयोग गरेर धान, गहुँ काट्ने अभ्यासले प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा वायु गुणस्तर बढाइरहेको दासको भनाइ छ। भारतलगायत छिमेकी मुलुकबाट भित्रिने वायु पनि उत्तिकै चुनौतीपूर्ण बन्ने गरेकाले एक अर्को मुलुकबीच नीति निर्माण गर्नुपर्ने उनको सुझाव छ।
गत सोमबार बेलुका विश्वकै सबैभन्दा बढी प्रदूषित सहरमा काठमाडौं उपत्यका देखिएको थियो। अहिले सो अवस्थामा सुधार भए पनि ढुक्क हुने अवस्था भने नरहेको विज्ञहरू बताउँछन्। स्वच्छ वातावरणका लागि काठमाडौं उपत्यकाको वायु गुणस्तर गुरुयोजना तत्काल कार्यान्वयनमा ल्याउन विज्ञहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।