ओली नेतृत्वमा समाजवाद आउँदैन : माधव नेपाल
सिरहा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीका कारण आफूहरुले शिर झुकाउनुपरेको बताएका छन्। शनिबार सिरहाको कर्जन्हा नगरपालिकामा जयगोविन्द साहको ३१ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सम्बोधनका क्रममा उनले केपी ओलीले संविधान विपरित संसद विघटन गरेको आरोप लगाए । ‘ओली नेतृत्वमा समाजवाद आउँदैन। उनी पूँजीवादको बाटोमा लागेका छन्। कम्युनिस्ट पार्टीको बाटो बिराएको छ,’नेता नेपालले भने,‘प्रधानमन्त्री ओलीमा व्यक्तिवाद, अहंकार पलाएको छ। आफ्ना वरिपरिका भजनमण्डली राखेका छन्।’
प्रधानमन्त्री ओलीलाई गणतन्त्रसँग मतलब नरहेको उनले आरोप लगाए। ‘संसद भंग भएपछि पनि प्रधानमन्त्री दाबी गरेका छन्। जबकी अहिले काम चलाउ सरकार हो,’उनले भने,‘व्यवस्था सिध्याउन ओली लागेका छन्। जनताको भावना अनुसार काम गर्न सरकारले सकेको छैन्।’ दुर्योधन र भष्मासुर प्रवृति ओलीमा रहेको उनको भनाइ थियो।
ओलीले संविधान, कानुन, नीतिको विरुद्धमा गएर जे मन लाग्छ त्यही गर्न खोजेको उनको आरोप छ। ओली प्रवृत्तिको विरोधमा नेता-कार्यकर्तालाई उत्रिन आह्वान गर्दै अध्यक्ष नेपालले न्याय, सत्य, संविधान, विधान, विचार, नीति, विधि, मापदण्ड जोगाउन सडकमा ओर्लिनुपर्ने बताए। पार्टीको विधान, निर्णय नमान्ने पार्टीलाई नै खतम गर्न लागेकाले ओलीलाई अध्यक्ष पदबाट हटाएको भन्दै नेपालले सडकबाट टिपेर केन्द्रीय सदस्य बनाएर काम नलाग्ने दाबी गरे।
स्मृतिसभामा नेकपाका नेता एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री ओलीले चालेको कमदको पर्दाफास र सत्य–तथ्य जनतालाई बुझाउनुपर्ने बताए। ‘केपी प्रवृत्तिको विरोध गर्दै जानुपर्छ,’ पोखरेलले भने, ‘सानातिना केपी प्रवृत्ति तपाईं हाम्रोबीचमा हुन सक्छ। त्यसको विरोध गर्नुपर्छ।’
‘अदालत र निर्वाचनतिर गइरहेको आँखालाई जनताको आन्दोलनतिर पनि फर्किन आग्रह गर्न चाहन्छु,’उनले भने,‘ओलीले न पार्टी चलायो न त देशलाई अगाडी बढाउन सकेको छ।’ प्रधानमन्त्रीको प्रतिगामी कदमलाई विफल बनाउनुपर्ने उनले बताए।
कार्यक्रममा प्रचण्ड–नेपाल समुहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।