प्रचण्ड र नेपाल पनि प्रधानमन्त्रीको साक्षी बस्दा अहिलेको अवस्था आयो : झाँक्री
विराटनगर : नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) नेतृ रामकुमारी झाँक्रीले तत्कालिन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधव नेपालको अकर्मण्यताका कारण नै अहिलेको राजनीतिक अवस्था उत्पन्न भएको आरोप लगाएकी छन्। विराटनगरमा आइतबार आयोजित अनेरास्ववियु मोरङको पदाधिकारी शपथग्रहणमा उनले यो अवस्था आउनुमा पार्टीका शीर्ष नेताहरूको अकर्मण्यता कारक रहेको बताएकी हुन्।
‘प्रधानमन्त्रीलाई मात्रै दोषी देखाएर हाम्रा कुनै पनि नेता उम्कन पाउँदैनन्,’ उनले भनिन्, ‘यसअघि ओलीका हरेक कदमको साक्षी पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि हुन्।’ आफूहरु बहुमतमा हुँदाहुँदै पनि ओलीको स्वेच्छाचारिता सहेर बस्नु नै दाहाल र नेपालको गल्ती भएको उनले दाबी गरिन्।
‘जुन बेला प्रधानमन्त्रीलाई तह लगाउनु पर्थ्यो, त्यतिबेला बहुमतको दम्भ प्रचण्ड र नेपालमा पनि हराएन। जे गरे पनि साक्षी बस्दाको परिणाम आज प्रतिनिधिसभा विघटन हुन पुग्यो,’ झाँक्रीले भनिन्, ‘विद्यार्थीहरूले नेताको खबरदारी गर्ने हो, गुलामी होइन।’
पार्टीको नाम, झन्डा वा चुनाव चिन्हको लडाईंमा अहिले सडकमा उत्रिएका नेताको ध्यान जानु आवश्यक भएको उनको भनाइ थियो। उनले अब पनि प्रचण्ड–नेपाल नसुध्रिए भविष्यमा अझै ठूलो भुक्तमान भोग्नुपर्ने चेतावनी पनि दिइन्।
अहिले प्रधानमन्त्री ओलीले हामी बहुमतमा छौं भन्नु, अनि सरकारमा रहँदा काम गर्न दिएनन् भन्नुको कुनै अर्थ नभएको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीको षड्यन्त्रको पर्दाफास सडकबाटै गर्नुपर्ने उनले बताइन्। ‘अहिले पूर्वएमाले एक हौं भन्नु ओलीले आफ्नो अनन्य मित्र, राष्ट्रपति र ४ जना धर्मछोराको मुख्यमन्त्री पद जोगाउने षड्यन्त्र मात्र हो,’ उनले भनिन् ‘अब एमाले छैन, नेकपा मात्रै छ।’ उनले अहिले पार्टी फुट्यो या जुट्यो यो विषयमा आफू केही नबोल्ने बताइन्।
आफ्नै समूहका नेताको कमजोरीमा धेरै समय खर्चिएकी झाँक्रीले अहिले प्रचण्ड–नेपालको सजाय भोग्नुपर्ने समय भएकाले विगतका गल्तीबाट पाठ सिक्दै सच्चिएर राजनीतिको नयाँ धार सिर्जना गर्नसमेत आग्रह गरिन्।
अहिले प्रधानमन्त्रीले संविधानमा उल्लेख नै नभएका कुरा गरेर प्रतिगमन गरिरहँदा पनि धुप बाल्ने र बत्ती बाल्नेहरूको संख्या ठूलै रहेको र प्रचण्ड–नेपाल समूहको आन्दोलन सशक्त नदेखिएको उनको भनाइ थियो। ‘हाम्रा नेताको ताल हेरौं न, अझै पनि चरम अवसरवादी चरित्र छ, राजनीतिक अपराध गर्नेलाई बहिस्कार गर्नुपर्नेमा, धुपबत्ती बाल्ने र बत्ती बाल्ने खालका आन्दोलन कार्यक्रम ल्याइरहेका छन्।’
प्रचण्ड–नेपाल समूहकै विरोध गर्दै नेतृ झाँक्रीले आन्दोलनमा पनि अवसरवाद देखिनु दुख:द भएको बताइन् । उनले मुद्दामा असहमति जनाउँदै प्रधानमन्त्री ओलीको विरोध गर्नुपर्नेमा त्यस्तो नदेखिएको बताइन्। उनले ओलीको विरोध गर्न र नेताहरूलाई सुधार्न विद्यार्थीले सशक्त भूमिका निर्वाह गर्नुपर्ने औंल्याइन्।