अग्रज संगीतकर्मी राम धामीको निधन
इटहरी : निमोनियाको उपचार गराइरहेका अग्रज संगीतकर्मी राम धामीको निधन भएको छ । आइतबार साँझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको निधन भएको हो ।
कोभिड–१९ को उपचारको लागि उनी दुई साता अघि नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए । पछि निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।
धामी इटहरीस्थित संगीत साधना प्रतिष्ठानका अध्यक्ष थिए । साथै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्यसमेत थिए ।
विगत लामो समयदेखि इटहरीमा संगीत प्रशिक्षणमा सक्रिय उनको शवलाई सोमबार बिहान संगीत साधना प्रतिष्ठानको भवनमा श्रद्धान्जली दिएर अन्तिम संस्कार गरिने प्रतिष्ठानका महाचिव राजु केसीले जानकारी दिएका छन् ।