मिस रौनियार र थारूको तयारी
काठमाडौं : कोरोनाको कहरबाट समाज विस्तारै तंग्रन थालेपछि मनोरञ्जनका कार्यक्रमहरूले गति लिन थालेका छन्। विभिन्न अवार्ड तथा ब्युटी पेजेन्टको चहलपहल बढेको छ। यसै क्रममा मिस्टर एन्ड मिस रौनियार–२०२१ तथा मिस थारू २०२१ को तयारी सुरु गर्दै आवेदन खुला गरिएको छ।
रौनियार र गुप्ता समुदायका युवक–युवतीले यो प्रतियोगितामा भाग लिन पाउने र उनीहरूको उमेर १६ देखि २८ वर्षको हुनुपर्ने आयोजकले जनाएको छ। यो प्रतियोगितामा काठमाडौंबाट भाग लिन चाहनेले १७ माघसम्म फारम भरिसक्नु पर्नेछ। काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै आयोजक संस्था एमी इन्टरटेनमेन्टले प्रतियोगिताको तयारीमा जुटेको जनाएको छ।
संस्थाका अध्यक्ष एमी (राजन) रौनियारका अनुसार यो दोस्रो संस्करण हो। रौनियार समुदायको मौलिक कला संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन तथा रौनियार युवक–युवतीको प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धिसँगै उनीहरूको सामाजिक दायरा विस्तार गर्न मिस्टर एन्ड मिस रौनियार–२०२१ आयोजना गर्न लागिएको राजनले बताए।
यो प्रतियोगिताका लागि ३ माघमा जनकपुर, १० माघमा वीरगन्ज र १७ माघमा काठमाडौंमा अडिसन राखिएको पनि कार्यक्रम व्यवस्थापक एनी रौनियारले पत्रकार भेटघाटका क्रममा जानकारी गराइन्। यसैगरी मिस्टर एन्ड मिस थारू–२०२१ का लागि पनि आवेदन खुला गरिएको छ। वाईएसी इभेन्टस्को सहकार्यमा जह इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको तेस्रो संस्करणको मिस्टर एन्ड मिस थारूको आवेदन खुला गरिएको हो।
आयोजकका अनुसार अडिसनको मितिसमेत तय गरिएको छ। माघ २४ गते चितवनसँगै विराटनगर र नेपालगन्जमा एकसाथ अडिसन हुँदै छ। यस्तै माघ २८ गते झुम्का, लहान, वीरगन्ज र धनगढीमा एकसाथ अडिसन हुँदै छ।
त्यस्तै फागुन १ गते काठमाडौं, बुटवल र दाङमा अडिसनको मिति तय गरिएको जह इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश चौधरीले जानकारी दिए। आयोजकका अनुसार कोरोनाका कारण ढिला गरी प्रतियोगिता आयोजना भएको हो। अडिसनबाट छनोट भएका सहभागीलाई फागुन ९ देखि चैत ४ सम्म प्रशिक्षण दिइनेछ। लगातार दुई संस्करणको ग्रान्ड फिनाले काठमाडौंमा भए पनि यसपटक भने चितवनमा हुने भएको छ। चैत ७ गते प्रतियोगिताको ग्रान्ड फिनाले गरिनेछ।