जग्गा किर्तेमा ५० विरुद्ध मुद्दा

जग्गा किर्तेमा ५० विरुद्ध मुद्दा

काठमाडौं : सार्वजनिक जग्गा किर्ते आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्चपदस्थ कर्मचारीसहित ५० जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ। १७ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा चलाइएको छ भने ३३ लाई जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ। 

जग्गा माफियाले नापी र मालपोतका कर्मचारीको मिलेमतोमा ललितपुरका  साविक हरिसिद्धि गाविस–१ क, धापाखेल गाविस–१ क तथा हाल ललितपुर महानगरपालिका–२८ र २३ स्थित ८ रोपनी १२ आना ३ पैसा २ दाम सरकारी/सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अख्तियारको अनुसन्धानले देखाएको छ। उक्त कार्यमा नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख बुद्धिमान जैसी र मालपोत प्रमुख उपसचिव बाबुराम खनालको मिलेमतो देखिएको आयोगले जनाएको छ। 

त्यस्तै, युरो ल्यान्ड डेभलपर्स प्रालि, युरो हाउजिङ डेभलपर्स प्रालि र काठमाडौं अस्पताल प्रालिका सञ्चालकको संलग्नता देखिएको छ। 

उनीहरूले ०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई सार्वजनिक/सरकारी जग्गासमेत प्लटिङ गरी बिक्रीवितरण गरेको पाइएको छ। तत्कालीन नापी प्रमुख जैसी र मालपोत प्रमुख खनालसहित १७ जनाविरुद्ध २ करोड २ लाख ३३ हजार रुपैयाँबराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले बताए। उनीहरूविरुद्ध तीन वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुलउपरको माग गरिएको छ। जग्गा किन्ने ३३ विरुद्ध जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

साविक हरिसिद्धी गाविस–१ क हाल ललितपुर महानगरपालिका–२८ र साविक धापाखेल गाविस–१ घ (२) हाल ललितपुर महानगरपालिका–२३ स्थित सिलौटेमा पर्ने कर्मनासा (कोड्कु) नामको सार्वजनिक खोला एवं सो खोला आसपासको सरकारी/सार्वजनिक जग्गा युरो हाउजिङ डेभलपर्सले मालपोत र नापीका केही कर्मचारीसँगको मिलेमतोमा ०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई प्लटिङ गरी व्यक्ति विशेषलाई बिक्री वितरण गर्न लागेकाले आवश्यक कारबाही गरिपाऊँ भन्ने व्यहोराको उजुरी परेको थियो। अख्तियारले नापी प्रमुख जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्वेक्षक केशव थापा मगरविरुद्ध मुद्दा दायर गरेको छ। त्यस्तै, तत्कालीन मालपोत प्रमुख उपसचिव खनाल, नायबसुब्बा ख्यामनारायण पौडेल, दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेललाई प्रतिवादी बनाइएको छ।

युरो हाउजिङ डेभलपर्स प्रालि, युरो ल्यान्ड डेभलपर्स प्रालिका सञ्चालक गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बबिन मानन्धर र उज्ज्वल मानन्धरविरुद्ध मुद्दा हालिएको छ। काठमाडौं अस्पताल प्रालिका सञ्चालक डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोशी र श्रीमती दुर्गेस नन्दिनी भट्टचनविरुद्ध अख्तियारले मुद्दा हालेको छ।   अनुसन्धानमा युरो हाउजिङ डेभलपर्स, युरो ल्यान्ड डेभलपर्स, काठमाडौं अस्पतालका सञ्चालक र सरकारी कर्मचारीको एकापसको मिलेमतो र साँठगाँठ तथा बदनियतबाट सार्वजनिक जग्गा कम्पनीको जग्गामा घुसाइएको पाइएको छ।

कम्पनीको जग्गा बढाई नियमविपरीत प्लटिङ गरी सर्वसाधारण व्यक्तिविशेष बेचविखन गरेको पाइएको अख्तियारका प्रवक्ता अधिकारीले बताए। जग्गा किन्ने थप ३३ जनाविरुद्ध जफत प्रयोजनका लागि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.