बहुधा लाभदायक संगीत पर्यटन
विश्वमा पर्यटन उद्योगको उदय भएसँगै भ्रमण कर्मको सूचीमा अनेकन् नयाँ विधा थपिँदै गएका छन्। संगीत पर्यटन एउटा यस्तै विधा हो; जुन पर्यटन उद्योगको एउटा महŒवपूर्ण आयामका रूपमा स्थापित भइसकेको छ। सांगीतिक आकांक्षा र तिर्सना मेट्न गरिने यात्रा नै संगीत पर्यटनको सीधा, सरल र संक्षिप्त परिभाषा हो।
विश्व सांगीतिक परिदृश्यमा अस्ट्रियाको भियाना, अस्ट्रेलियाको मेलबर्न, इटालीको मिलन, क्यानडाको मन्ट्रियल, स्विडेनको स्टकहोम, जर्मनीको बर्लिन, फिलिपिन्सको मनिला, ब्राजिलको रियो द जेनेरियो, बेलायतको लिभरपुल, क्युबाको हवानाजस्ता सहर संगीत पर्यटन कर्मका लागि चुम्बकीय आकर्षकयुक्त गन्तव्य मानिन्छन्।
नेपाली समाजका लागि बहुधा लाभदायक संगीत पर्यटनले भावनात्मक एकता बढाउँछ; सामाजिक जीवनलाई जीवन्त तुल्याउँछ र स्थानीयको समृद्घिमा योगदान गर्छ।
अमेरिकाको अस्टिन, न्यु अर्लियन्स, न्युयोर्क, सिकागो, डेट्रोइट, सियाटल आदि सहर संगीतप्रेमीका लागि लोभलाग्दो गन्तव्यका रूपमा लिइन्छ। हाम्रै छिमेकी मुलुक भारतका गोबा, ग्लालियर, जिरो (अरुणाचल), जोधपुर, जैसलमेयर, पुने, ब्याङ्लोर, बनारस आदि सहरले पनि संगीतप्रेमीलाई लोभ्याएको देखिन्छ।
नेपालका सन्दर्भमा कुरा गर्दा प्रत्येक सहर वा गाउँ सांगीतिक गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना छ। समयले कोल्टो फेर्दै गएको परिवर्तनशील घडीमा पनि हाम्रा प्रत्येक सहर वा गाउँले परम्परागत संगीतधाराको विरासत थामिरहेको छ; जुन हाम्रो अमूल्य अभौतिक सम्पत्ति हो।
गाउँ–सहरका यस्ता रैथाने संगीतधारालाई सही किसिमले व्यवस्थापन गर्न सकेमा नेपालमा संगीत पारखीहरू ओइरिन सक्छन्। हामीले आफ्ना व्यवस्थापकीय सीपलाई ढंगले उपयोग गर्न सक्ने हो भने हाम्रा दुर्गम कुनाकन्दरा सांगीतिक दृष्टिले पनि आकर्षक गन्तव्य बन्न सक्छन्।
दृश्यावलोकनका लागि नेपालका माछीकाँडे पहाडी भूस्वरूप जति मनमोहक छन्; त्यहाँका ठेट लोकभाका त्यति नै मुग्धकारी छन्। आयायीत गीत–संगीतको चमकधमकपूर्ण वातावरणमा पनि बेग्लै उचाइ कायम गर्न सफल यी तिलस्मी रैथाने लोकभाकाले स्वदेशी र विदेशी संगीत पर्यटक लोभ्याउन सक्ने विराट् सम्भवना छ।
दिनप्रतिदिन लोप हुने क्रममा यस्ता मोहिनी लोकभाकालाई उपयुक्त किसिमले अभिलेखीकरण, पुनर्जीवीकरण एवम् बजारीकरण गर्न आवश्यक छ। उपयुक्त कार्ययोजनासहित अघि बढेमा यसले स्थानीय समुदायलाई आर्थिक तथा सांस्कृतिक दृष्टिले समृद्ध बनाउन सक्छ।
एउटा सम्झनलायक पक्ष के छ भने गाउँठाउँका लोकभाकालाई वस्तुकरण गरेर संगीत उद्योगले प्रशस्त फाइदा उठाएका छन्। तर जुन ठाउँमा लोकभाका उत्पन्न भयो, त्यहींका स्थानीय समुदायले यसबाट आर्थिक लाभ लिन पाएका छैनन्। संगीत पर्यटनले यस्ता गुमेका अवसरलाई लयमा फर्काउने काम गर्छ। यसले स्थानीय समुदायका लागि अर्थोपार्जनको नयाँ ढोका खोल्न सक्छ।
संगीत पर्यटनलाई प्रवद्र्धन अभिप्रायले विश्वका विभिन्न भागमा संगीत महोत्सव भइरहन्छन्। यस दिशामा नेदरल्यान्ड्सले ख्याति कमाएको छ। यसका अतिरिक्त अमेरिका, अस्ट्रेलिया, क्यानडा, क्युबा, बेलायत, ब्राजिलजस्ता मुलुकले पनि संगीत महोत्सवमार्पmत स्थानीय अर्थतन्त्रलाई गति दिएकै छन्। नेपालले पनि यी मुलुकबाट पर्याप्त पाठ सिक्न सक्छ। अब नेपालको पर्यटन उद्योगमा संगीत पर्यटनलाई ठाउँ दिन सकिन्छ। यसका लागि भइरहेको पर्यटकीय गन्तव्यहरूमा सांगीतिक आयाम थपे पुग्छ। यस क्रममा स्थानीय सांगीतिक समूह वा ब्यान्डलाई संगठित तुल्याउने, आवश्यकतानुसार संगीत महोत्सव आयोजना गर्ने, गाउँठाउँमा संगीत संग्रहालय स्थापना गर्नेजस्ता रचनात्मक काम गर्नुपर्ने हुन्छ।
स्थानीय सांगीतिक समूहलाई संगठित र सबल तुल्याउने र संगीत महोत्सव आयोजना गर्ने क्रममा स्थानीयपन बोकेका मौलिक सांगीतिक स्वाद (जान्र) लाई विशेष प्राथमिकता दिनुपर्ने हुन्छ। यसबाट पर्यटकले नयाँपनको रसास्वादन गर्न त पाउँछन् नै; सम्बन्धित ठाउँको पृथक् पहिचान र मौलिक संस्कृति पनि जोगिन्छ।
संगीत पर्यटकलाई लोभ्याउने अर्को मन्त्र हो– संगीत संग्रहालय। विदेशतिर यस्ता संग्रहालयले पर्याप्त मात्रामा पर्यटक तान्ने गर्छन्। संग्रहालयमा पुराना तथा प्रचलित बाजागाजा राख्न सकिन्छ। चर्चित कलाकारका आफ्नो जीवनकालमा प्रयोग गरेका वस्तु संग्रहालयमा सजाउन सकिन्छ।
यसैगरी, संग्रहालयमा स्थानीय रूपमा ख्यातिप्राप्त कलाकारहरूको इतिवृत्त समेटिएको वृत्तचित्र राख्न सकिन्छ। पुराना भाका तथा ‘जान्र’ लाई श्रव्यदृश्य माध्यममा अभिलेखीकरण गर्न सकिन्छ। समयसमयमा वृत्तचित्र प्रदर्शन गर्ने तथा विज्ञहरू निम्त्याएर संगीतको ‘ट्रेन्ड’ बारे ‘लेक्चर सिरिज’ आयोजना गर्न सकिन्छ।
झट्ट हेर्दा संगीत पर्यटनले यात्रा उद्योगको एउटा मात्र पाटो (संगीत) सँग मात्र नाता गाँसेजस्तो देखिए पनि यसले पर्यटन उद्योगका लगभग सबै संयन्त्रसँग सुसम्बन्ध कायम गरेको हुन्छ। यसबाट टुर अपरेटर, होटल व्यवसायी, दोभाषे, साना व्यापारी, हस्तकला उत्पादक, पथ प्रदर्शक जस्ता सेवाप्रदायकहरूले लाभ लिन सक्छन्। संगीत पर्यटन प्रवद्र्धन गर्न आयोजना गरिने संगीत महोत्सवसँग अन्य धेरै ‘साइड बिजनेस’ हरू जोडिन पुग्छन्। संगीत महोत्सवले ‘फुड फेस्टिबल’, दृश्यावलोकन, सांस्कृतिक भ्रमण आदिका लागि मार्गप्रशस्त गरिदिन्छ। यति मात्र होइन; यसबाट स्थानीय संगीतकर्मी तथा संस्कृतिकर्मीले पनि भरपूर फाइदा लिन सक्छन्।
सांस्कृतिक दृष्टिले हेर्ने हो भने संगीत पर्यटन बहुधा अर्थपूर्ण मानिन्छ। यसले मूर्त र अमूर्त दुवै प्रकृतिका सांस्कृतिक सम्पदासँग साइनो गाँस्छ। संगीत पर्यटनले प्रत्यक्ष वा परोक्षरूपमा स्थानीय इतिहास तथा जीवनशैलीका विविध पक्षलाई अन्वेषण र उजागर गर्न सहयोग गर्छ। समग्रमा यसले स्थानीय जीवनशैली र अर्थतन्त्रको श्रीवृद्धिमा पु¥याउँछ।
सांगीतिक पक्षको गहनतम् अध्ययन गर्न चाहने अनुसन्धाताका लागि संगीत पर्यटनले स्वर्णिम अवसर प्रदान गर्छ। संगीतका अध्येताहरूले एथ्नोम्युजिकोलोजी, संगीतको सांस्कृतिक समाजशास्त्र, सांस्कृतिक संगीतशास्त्र, पपुलर म्युजिक, संगीत, भूगोल आदिबारे अध्ययन गर्न सक्छन्।
संगीत पर्यटनका अरू पनि सुन्दर पक्ष छन्। यसले छिन्नभिन्न अवस्थामा रहेका मन जोड्नका लागि सूत्रधारका रूपमा काम गर्छ। अर्को अर्थमा संगीत पर्यटनले राजनीतिक वा अन्य कारणले तितरबितर भएका मनलाई एउटै सूत्रमा बाँध्नका लागि समन्वयात्मक भूमिका खेल्छ।
प्रतिक्रिया दिनुहोस !