त्यान्द्राको पनि भर हुन्छ
विश्वव्यापी कोरोना महामारीको असर सबै क्षेत्रमा परेको छ। कृषि तथा औद्योगिक उत्पादनमा परेको प्रत्यक्ष असरले निकट भविष्यमा आपूर्ति प्रणालीमा गम्भीर संकट देखापर्न सक्ने आकलन गरिएको छ। विश्वको आर्थिक वृद्धिदरमा नकारात्मक असर पर्नेदेखि दोस्रो विश्वयुद्धमा भएको क्षतिभन्दा बढी आर्थिक क्षति हुनेसम्मका आकलन पनि गरिएको छ। आर्थिक गतिविधि पूर्ण क्षमतामा सुचारु हुन सकेका छैनन्। कृषिदेखि उद्योगसम्म र व्यापारदखि सेवा क्षेत्रसम्म कोरोना महामारीबाट थलिएका छन्।
तुलनात्मकरूपमा हेर्दा कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन नै हो। कोरोना महामारीबाट पर्यटन क्षेत्रमा अल्पकालीन र दीर्घकालीन दुवै असर परेको देखिएको छ। कोरोनाकै कारण थला परेका अरू क्षेत्र क्रमशः बौरिँदै गर्दा पनि पर्यटन क्षेत्रमा भने त्यो संकेत अझै देखिएको छैन। कोरोनाको सन्त्रासले विश्वका मानवमा परेको मनोवैज्ञानिक असर अझै कम हुन सकेको छैन। त्यसैले मानिसहरू यात्रा र भ्रमणमा निस्कन अझै डराइरहेका छन्।
विश्वको जीडीपीमा पर्यटनको हिस्सा १०.३ प्रतिशत रहेको छ। रोजगार क्षेत्रमा पनि पर्यटन क्षेत्रले ३३ करोड जनशक्तिलाई रोजगार दिने गरेको वर्ल्ड ट्राभल एनड टुरिज्म काउन्सिलको तथ्यांक छ। काउन्सिलका अनुसार नेपालमा पनि कूल जीडीपीमा पर्यटनको हिस्सा ६.७ प्रतिशत रहेको छ भने कूल रोजगारमा पर्यटनको हिस्सा ६.९ प्रतिशत रहेको छ। कोरोना महामारीसँगै विश्व पर्यटन बजार ठप्पप्राय हुँदा त्यो हिस्सा पनि उल्लेखनीय रूपमा घटेको छ।
हप्तामा दुई दिन बिदा दिएर मात्रै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिन्न; आम्दानीको स्रोत बलियो बनाउनेतर्फ पनि सरकारको ध्यान जानुपर्छ।
नेपालको सन्दर्भमा भन्नुपर्दा कोरोना महामारीसँगै नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी गरिएको बन्दाबन्दीलगायतका कारणले पर्यटन क्षेत्र ठप्प भई ठूलो आर्थिक क्षति भएको विश्लेषण भइरहेका छन्। पर्यटनसँग सम्बद्ध व्यक्तिहरूले नेपालमा कोरोना महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी मारको परेको भन्दै आएका छन्। झन्डै चार महिनाअघि नै कोरोनाका कारण नेपालको पर्यटन क्षेत्रले झन्डै ५० अर्ब रुपैयाँको आर्थिक क्षति बेहोरेको जनाइएको थियो।
नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा बन्दाबन्दीको अवधिमा नेपालका ९०.९९ प्रतिशत होटल तथा रेस्टुरेन्ट सञ्चालन हुन सकेका थिएनन्। बन्दाबन्दीको अवधिमा उद्योगहरूले २२.५० प्रतिशत कर्मचारी कटौती गरेकामा होटल तथा रेस्टुरेन्टका ४०.०८ प्रतिशत परेका थिए। सो अध्ययनले होटल तथा रेस्टुरेन्टलाई सामान्य अवस्थामा फर्कन १३.२ महिना लाग्ने अनुमान गरेको छ।
पर्यटनको अवस्था सामान्य हुँदा पर्यटन व्यवसायीले नेपाली पर्यटकलाई त्यान्द्राजति पनि गन्दैनन्। डुब्न लागेकालाई त्यान्द्राको पनि भर लाग्छ भनेजस्तै अहिले आन्तरिक पर्यटककै भर लागेको छ नेपाली पर्यटन क्षेत्रलाई। त्यसैले आन्तरिक पर्यटन प्रवद्र्धनको विषयले चर्चा पाएको छ। पर्यटन व्यवसायीहरू आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने हेतु विभिन्न कार्यक्रम ल्याउन लागिपरेका छन्। नजिकको तीर्थ हेलाँ भनेजस्तो आन्तरिक पर्यटकलाई त्यान्द्राजति पनि नगन्ने पर्यटन व्यवसायीको चेत खुल्नु सकारात्मक पक्ष हो। यसले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी विदेशी पर्यटकमाथिको निर्भरता घटाउन सघाउने विश्वास गर्न सकिन्छ। यसले नेपाली पर्यटन क्षेत्रको स्थायित्व, दिगोपना र आत्मनिर्भरतामा पनि वृद्धि गर्नेछ।
पछिल्लो समय आन्तरिक पर्यटकलाई नै जोड दिएर अर्थतन्त्र चलायमान बनाई पर्यटन उद्योगलाई चलायमान बनाउनुपर्ने बताउँदै आएको सरकारले देश दर्शन कार्यक्रम पनि सार्वजनिक गरेको छ। गत असोज १० गते सरकारले देशदर्शन कार्यक्रम सार्वजनिक गरेको हो। आन्तरिक पर्यटकलाई आकर्षित गर्न एयरलाइन्स, होटल र नेपाल पर्यटन बोर्डले विभिन्न कार्यक्रम पनि ल्याएका छन्। आन्तरिक पर्यटक पनि नेपालको पर्यटन बजारका लागि भरपर्दो स्रोत हो। यस्तो स्रोतको दिगो पहिचान गर्नुपर्छ भन्ने अवधारणाले पनि प्रश्रय पाएको छ। देशदर्शन कार्यक्रम यही अवधारणाको परिणाम हो। यो कार्यक्रमलाई देशभरिबाट नै सहभागी गराउनका लागि सातै प्रदेशमा डोमेस्टिक टुरिजम रिभाइबल कमिटी गठन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बजेटमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गरी शिथिल पर्यटन क्षेत्रलाई पुनर्जागृत गर्न कोरोनाको जोखिम न्यूनीकरण भएसँगै राष्ट्रसेवक, संगठित संस्था र निजी क्षेत्रका कर्मचारीलाई देशदर्शन गर्न प्रोत्साहित गर्ने उद्देश्यले देशदर्शन कार्यक्रम अघि सारिएको छ। देशदर्शन कार्यक्रमअन्तर्गत कोरोना महामारीको कारण थलिएको नेपालको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटनले बचाइराख्न देशदर्शन कार्यक्रमबाट यथेष्ट मद्दत पुग्ने विश्वास गरिएको छ।
नेपालमा करिब ७० लाख नेपाली पेसा–व्यवसायमा रहेका छन्। त्यसमध्ये १७ लाख मानिस देशदर्शनअन्तर्गत घुम्नका लागि निस्किने आकलन गरिएको छ। पाँचदेखि सात दिनको प्याकेज बनाउँदा सोबाट ५३ अर्ब रुपैयाँको कारोबार हुने अनुमान नेपाल पर्यटन बोर्डले गरेको छ।
कोरोना महामारीका कारण बाह्य पर्यटकको आगमन ठप्प हुँदा काठमाडौं, पोखरा, लुम्बिनी, सगरमाथा, लाङटाङसहितका पर्यटकीय क्षेत्र बढी प्रभावित छन्। यो अवस्थामा निजी क्षेत्रसँगको समन्वयमा आन्तरिक पर्यटन प्रवद्र्धनमा सरकार प्रतिबद्ध हुनुपर्ने देखिन्छ। खासगरी केही हदसम्म महामारीबाट मुक्त नेपालका दुर्गम गन्तव्यहरू मनाङ, मुस्ताङ, रसुवा, लाङटाङ, मुगु, हुम्ला आदि क्षेत्रको पर्यटकीय आकर्षण बढाउने पहल हुनुपर्छ।
नेपाल प्रकृति र संस्कृति दुवैमा धनी छ। यही धनको सही उपयोग सक्यो भने नेपाल आर्थिक दृष्टिकोणले समृद्धि बन्न सक्ने प्रचुर सम्भावना छ। यो वर्षौं अघिदेखि भनिँदै आएको हो। तर तदनुरूप नीति, योजना तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने सरकारी इच्छाशक्तिको कमीले गर्दा पर्यटनमार्फत देशलाई समृद्ध बनाउने सपना पूरा हुन सकेको छैन। विभिन्न कारणले बाह्य पर्यटकको आगमन अपेक्षित वृद्धि गर्न नसकिएको अवस्थामा आन्तरिक पर्यटनलाई बढावा दिने कार्यक्रम मात्रैले पनि यसमार्फत अर्थतन्त्रमा टेवा पुग्नुका साथै नेपाली–नेपालीबीच सम्बन्ध र सामाजिक सद्भावको वृद्धि हुने अपेक्षा गर्न सकिन्छ। विविध जातजाति, भाषा, धर्म, संस्कृति आदिलाई पर्यटनसँग जोड्ने हो भने यसले तत्तत् जातजाति, भाषा, धर्म र संस्कृतिको संरक्षण र संवद्र्धनमा पनि टेवा पुग्नेछ।
एउटा उल्लेखनीय तथ्य के हो भने विश्वले नेपाललाई चिने पनि नेपाली स्वयंले नेपाललाई चिन्न बाँकी नै छ। पूर्वका नेपालीले पश्चिमको नेपाल चिन्न बाँकी छ। पश्चिमका नेपालीले पूर्वको नेपाल चिन्न बाँकी छ। त्यस्तै उत्तरका नेपालीले दक्षिणको नेपाल चिन्न बाँकी छ भने दक्षिणका नेपालीले उत्तरको नेपाल चिन्न बाँकी छ। यो अवस्थामा नेपालीले नेपाल चिन्न र बुझ्नका लागि बजेटमार्फत घोषणा गरिएको देशदर्शन कार्यक्रम सहायकसिद्ध हुन सक्छ। देशदर्शन भन्नु नै आन्तरिक पर्यटन हो। आन्तरिक पर्यटन सम्पूर्ण नेपालीबीच राष्ट्रियताको भावना जगाउने महत्त्वपूर्ण माध्यम पनि हो।
बीसौं अथवा तीसौं वर्षअघिदेखि आन्तरिक पर्यटनको चर्चा हुँदै आएको छ। तर पर्यटन व्यवसायीले नै आन्तरिक पर्यटकलाई पर्यटक नै नठान्ने प्रवृत्तिले आन्तरिक पर्यटन ओझेलमा परेको हो। कोरोना महामारीका कारण बाह्य पर्यटन सुस्ताएकाले मात्रै पर्यटन व्यवसायीले आन्तरिक पर्यटनमाथि भर गर्न थालेका हुन्। आन्तरिक पर्यटकलाई पनि विदेशी पर्यटकलाई जस्तै सत्कार गर्ने, अतिथिको सम्मान दिने र आन्तरिक पर्यटकबाट पनि देशको अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुग्न सक्छ भन्ने भावनाले काम गर्ने हो भने आन्तरिक पर्यटनले प्रवद्र्धनको अवसर पाउने निश्चित छ। यसका लागि पर्यटन व्यवसायीका मनमा गढेर बसेको डलर खर्च गर्ने विदेशी मात्रै पर्यटक हुन् भन्ने संकीर्ण भावनामा परिवर्तन आउनु जरुरी छ।
बजेटमार्फत घोषित देशदर्शन कार्यक्रम अर्थात् आन्तरिक पर्यटन प्रवद्र्धन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा गठित अध्ययन समितिले शनिबारबाहेक आइतबार पनि सार्वजनिक बिदा दिने प्रस्ताव गरेको छ। समितिले निजी क्षेत्रलाई पनि यस्तै बिदासम्बन्धी व्यवस्था अपनाउन प्रोत्साहित गर्न सुझाव पनि दिएको छ। यद्यपि बिदा धेरै भएर मात्रै आन्तरिक पर्यटन प्रवद्र्धन हुनेचाहिँ होइन। पर्याप्त आम्दानीका कारण खर्च गर्ने क्षमता भए मात्रै घुमघाम र आमोदप्रमोदतिर मानिसको मन जान्छ। त्यसैले हप्तामा दुई दिन बिदा दिएर मात्रै आन्तरिक पर्यटन प्रवद्र्धन हुने अपेक्षा गर्न सकिन्न। आम्दानीको स्रोत बलियो बनाएर खर्च गर्ने क्षमता अभिवृद्धि गर्नेतर्फ पनि सरकारको ध्यान जानुपर्छ।