मन्त्रीलाई आलुको श्रीपेच
![मन्त्रीलाई आलुको श्रीपेच](https://annapurnapost.prixacdn.net/media/albums/photo1_20210112111158_AkjIcbIfMW.jpg)
गुलरिया : लुम्बिनी प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीलाई आलुको श्रीपेच लाएर स्वागत गरिएको छ । बर्दियाको गेरुवा गाउँपालिका जनकनगरस्थित संचालित होमस्टेमा पहिलो पटक पुगेकी मन्त्री आरती पौडेललाई होमस्टे संचालक युवतीले रैथाने आलु र काउलीबाट बनेको श्रीपेच लगाएर स्वागत गरेका हुन् ।
जनकनगर होमस्टेमा पाहुनालाई स्वागत गर्ने स्थानीय शैली निकै रमाइलो रहेको मन्त्री आरती पौडेलले बताएकी छिन् । होमस्टेलाई कृषिको माध्यमबाट उकास्न आफ्नो तर्फबाट सहयोग गर्ने उनले प्रतिवद्धता जनाएकी छन् ।
स्थानीय कृषि उत्पादनलाई बढाउँदै होमस्टेमा आउने पाहुनालाई स्थानीय उत्पादनका परिकार बनाएर सन्तुष्टि पार्न सक्नुपर्ने उनको भनाइ छ ।
‘युवाहरु रोजगार छैन भनेर विदेशीनुको साटो स्वदेशमै कृषि उद्यमका लागि तत्पर भए प्रदेश तथा स्थानीय सरकारले दरिलो सहयोग उपलब्ध गराउन तयार छन्’, उनले भनिन् ।
बर्दिया जिल्ला लुम्बिनी प्रदेशकै कृषिको राजधानी भएकाले यहाँको कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन प्रदेश सरकारले काम गरिरहेको उनको भनाइ छ ।
परिश्रम अभावमा कृषि कार्यका लागि लिइने अनुदानले उत्पादकत्व वृद्धि गराउन खासै नसकेको उनको भनाइ छ । प्रदेशका विभिन्न जिल्लामा अनुगमनका क्रममा कृषिमा अनुदान प्रथाले किसानलाई आशामुखी बनाएको अनुभव उनले सुनाइन् । कृषि क्षेत्रमा किसानको अथक परिश्रमले नै लक्ष्य हासिल गर्ने भएकाले सशक्त भएर उद्यमका रुपमा कृषि व्यवसाय गर्न युवालाई आग्रह गरिन् ।
गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले गेरुवा गाउँपालिका अन्नको भण्डार रहेकाले यहाँका किसानलाई खेतीतर्फ आर्कषण गर्ने कार्यक्रम पालिकाले अघि सारेको बताएका छन् ।
प्रदेश सरकारसँग सहकार्य गर्दै आगामी दिनमा थप कृषिका योजना अघि बढाउने गाउँपालिकाको लक्ष्य रहेको छ । हामीले किसानसँग हातेमालो गर्दै अनुदान पनि बाँडेका छौं । प्रर्याप्त अनुदान नभए पनि कृषि पेशामा लाग्ने किसानलाई हौसलाको काम भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)