जेठा बा !
जेठा बा !
अनुहार धुमिल पारेर
पिँढीमा बसिरहनु हुन्छ रे
सोचमग्न विचारशील
तर, विल्कुल एक्लै
मनमा कुराको जुलुस बोकेर
लाग्छ सिंगो पहाड उभिएको हो
जेठा बा !
पहाडको हरियाली मरेर फुस्रो फुंगो झैं
रुखहरू पातबिना खडेरीले झरे झैं
सुकेका हाँगाहरू गलेर हात फैलाए झैं
बर्षौंदेखि कसैलाई कुरिरहे झैं
उदास हतासको उत्तराद्र्धमा हुनुहुन्छ रे
जेठा बा !
पहिले पहिले यस्तो हुनुहुन्न थियो
गाउँको इमान्दार कर्तब्यनिष्ठ सिपाही
एउटा सिंगो खम्बा
सबैको दुःखमा दुःख बाँढ्ने
सबैको सुखमा सुख साट्ने
गाउँको मियो, उहाँको चाल
उहाँको मान, उहाँको शान
उहाँको बोलाइ, उहाँको हिँडाइ
मुस्कानसहितको हँसाइ
बिछट्टको भरिलो अनुहार बोकेर
सबैको प्यारो सबैको मायालु
आज बा’का थाकेका आँखाले
सोध्न खोजेको प्रश्न... !
चुपचाप लामो आख्यान हो
बाका मुजैमुजा परेको अनुहार
कुप्रिएको सिंगो जीवन
किताब हो, सिंगो ठूलो किताब
त्यही किताबमा धेरै अटाए
संयुक्त परिवारका सदस्य र आफन्तजन
जो घुमिरहेछन् देश–विदेश
आफ्नै बा बिर्सेर लगातार ।
पिठ्यूँमा बोकेको बिर्सन्नँ
हट घोडा हट भन्दै
आफ्नै इच्छाहरू मारेर
मेरा हरइच्छा पूरा गरेर
लक्का जवान बनाउनु भो
बदलामा दिने केही छैन मसँग
विदेशिनु सिवाय !
सभ्यताको बिजारोपण गर्न
जसै फेरिएको अनुहार हेर्न
मन छ त्यो बुढो अनुहार पढ्न
तिम्रो आँखाको डिलमा राज गर्न
भागेका खुसीहरू पर्गेल्न
ऐसेलुका स्वादहरू लिन
परदेशबाट फिर्ती हुँदैछ छोरो
जबर्जस्ती समयलाई जितेर
पर्ख है आउँदैछु म,
मेरा अनि सबैका जेठा बा !!!