माघे सक्रान्तीको अवसरमा नयाँ फिल्म 'एउटा यस्तो प्रेम कहानी' रिलिज
काठमाडौँ: कोभिड संकटका कारण लामो समयदेखि फिल्म क्षेत्र बन्द भइरहँदा नयाँ फिल्म 'एउटा यस्तो प्रेम कहानी' रिलिज भएको छ ।
माघे सक्रान्तीको अवसरमा यही बिहीबार उक्त फिल्म रिलिज भएको हो । यससँगै फिल्म 'एउटा यस्तो प्रेम कहानी' कोभिडको संकटपछि रिलिज हुने पहिलो फिल्म बनेको छ।
फिल्मलाई हल संचालकको समेत राम्रो साथ मिलेको बताइएको छ। मल्टिप्लेक्स हलमा निर्माताले पहिलो हप्ता ५०, दोश्रो हप्ता ४५, तेश्रो हप्ता ४० र बाँकी रहेका हप्तामा ३५ प्रतिशत शेयर पाउने चलन छ । तर, फिल्म एउटा यस्तो प्रेम कहानीलाई भने सिंगल र मल्टिप्लेक्स हलले ५५ प्रतिशत शेयर दिने भएका छन् ।
अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोङ, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको फिल्मको निर्देशन दिपेस सापकोटाले गरेका छन्।
फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सहनिर्माता छन्।